मन दुख्न कति बेर लाग्छ र महोदय !

मन दुख्न कति बेर लाग्छ र महोदय !

बन के सुहागन रही अभागन
रूठ गयी तकदीर मेरी, 
अपनी हि तकदीर के आगे
चल ना सकी तदबीर मेरी ।
आने को तो आयी बहारें
लेकिन मैं बर्बाद हुई, 
बसते बसते उजड गयी मैं
यह कैसी बेदाद मेरी, 

बनते बनते बिगड गयी है
सपनों की तस्वीर मेरी ।
मन्जिल तक पहुँचे, तो मन्जिल 
और भी मुझसे दूर हुई, 
हँसते हँसते मेरी किस्मत
रोने पे मजबुर हुई, 
आज जमाना हुवा बेगाना
कोई ना समझे पीर मेरी ।

८ तदबीर = यत्न ÷ बेदाद = अन्यायपूर्ण ब्यवहार ।
यो गीत चलचित्र ‘सहारा’ को हो । भरत ब्यासद्वारा लिपिबद्ध र लता मंगेशकरको स्वरले सजिएको यो कर्णप्रिय गीत चलचित्रमा भने नायिका मीनाकुमारीलाई गाउन लगाइएको थियो । हिन्दी चलचित्र जगतमै बेजोड अभिनयको धनी मानिएकी अभिनेत्री मीनाकुमारीको जीवनसित धेरै मेल खान्छ यो गीत । किनभने चलचित्रमा जति सफल भए पनि उनी निजी जीवनमा उति नै दुःखी अनि असफल थिइन् । भावुक र मार्मिक अभिनयले दर्शकको मन र मुटुमा अटुट छाप छाड्न सफल उनी अभिनित प्रायः चलचित्र दुखान्त हुने गरेकै कारण उनलाई फिल्म जगतकै ‘शोकाकूल महारानी’ को उपमा दिइन्छ । मीनाको निम्ति ‘दुःख’ पर्यायवाची शब्द बन्यो, किनभने जन्मेदेखि मृत्युसम्म यो शब्दले उनलाई कहिल्यै पिछा छाडेन । पुरुषको प्रेम पाउन सदा लालायित रहिन् तर सबैबाट धोका मात्र पाइन् ।

प्रेममा पागल मीनाले आफूभन्दा १५ वर्ष जेठा पुरुष कमाल अमरोहीसँग गोप्यतवरमा बिहे गरिन् र उनको तेस्रो पत्नी बनिन् । यो बिहेले दुवै परिवारमा कलहको बिजारोपण ग¥यो । मीनाका पिताले बिहे तोड्न दबाब दिए भने कमालकी दोस्री पत्नीले घर छाडेर केटाकेटीसहित गाउँतर्फ लाग्ने धम्की दिइन् । कमालले पत्नी र छोराछोरीको दबाब सहन नसकेर मीनामाथि दबाब दिन थाले । धन्न, यसबीच मीनाद्वारा अभिनीत चलचित्र बैजु बावराले अपार सफलता हासिल ग¥यो र उनलाई शुभकामना दिन कमाल पनि अघि सरे । चन्दन उर्फ कमालले उनको अभिनयको तारिफ गरे । हरेक दिन सम्झेको र उनैलाई लिएर फिल्म बनाउने तयारीमा जुटिरहेको बताए । कमालको उक्त वचनले सुकिसकेको मीनाको मनको पात फेरि हरियो बन्यो । १४ फेब्रुअरी १९५३ मीना र कमालको बिहेको पहिलो वर्ष हो । त्यो दिन मीना परिवारसँग खन्डालामा थिइन् । उनले कमाललाई फोन गरेर भनिन्– ‘मैले तपाईंको तलाकको पत्र च्यातेर फ्याँकिसकेँ, म बिना गुनासो बाँकी जीवन तपाईंसँगै बिताउन चाहन्छु ।’ 

‘बैजु बावरा’पछि मीनालाई धमाधम फिल्म मिल्न थालेको थियो । मीनाका बुबा अलि बख्स छोरीले कमाललाई बिर्सेको भनेर दंग थिए । यसबीच, कमालले मीनालाई नै लिएर फिल्म ‘दायरा’ बनाउन लागेको जानकारी दिए । मीनाले तुरुन्त हुन्छ भनिदिइन् । यही कुरा जब अलि बख्सलाई मीनाले सुनाइन्, उनी आगो भए । उनले तिम्रोलागि अमर चलचित्रलाई हुन्छ भनिसकें, जसमा तिम्रो नायक दिलिपकुमार जस्ता अग्रज कलाकार हुनेछन् भनेर सुनाए । साथै भनेको मानिनौ भने यो घरमा नबस भनी तर्साए । मीना बाबुको कडा आदेशका सामु झुकिन् र ‘अमर’ चलचित्रमा काम गर्न थालिन् । शरीर ‘अमर’ मा थियो तर मन ‘दायरा’ मा । ४ दिन छायांकन गरिसकेपछि पाँचौं दिन निर्देशक महबुब खाँलाई यसमा काम गर्न नसक्ने जानकारी दिइन् र गाडी चढेर सिधै कमाललाई भेट्न गई दायरामा काम गर्न थालिन् । पहिलो दिनको सुटिङ सकेर घर फर्किंदा ढोका बन्द भइसकेको थियो । बहिनी मधुले पनि बुबालाई सम्झाउने प्रयास गरिन् तर अलि बख्स टसको मस भएनन् । राति साढे ११ बजे मीना रुँदै पुनः बम्बे टाकिज पुगिन् जहाँ कमाल सुटिङ गर्दै थिए ।

मीनाले सम्पूर्ण कुरा बताइन् । आफूसँगै बस्न आएको सुनेर कमाल दंग परे र मीनालाई आफ्नो घर लगे । अब मीनाको सुटिङको सम्पूर्ण जिम्मेवारी कमाल र उनका सहायक बाकर अलीले उठाए । मीना रातदिन नभनी खटिइन् र महिनादिनभित्रै ५ वटा चलचित्रको सुटिङ पूरा गरिन् । उनी कमालको प्रेम पाएर दंग थिइन् । दुबै एकार्कालाई औधी माया गर्थे । मीनाले आफूले कमाएको पैसा पनि लिन्नथिन्, सबै बाकरले लिन्थे । मीनाको हृदय स्वच्छ थियो, उनको कमालकी पत्नी र छोराछोरीसित कहिल्यै मनमुटाव भएन । सबैले उनलाई माया गर्थे, उनी पनि सबैलाई आदर र प्रेम गर्थिन् । मीनाको लोकप्रियता झन् चुलिँदै थियो । फिल्महरू एकपछि अर्को मिल्दै थियो, उनी अभिनीत चलचित्र एकपछि अर्को हिट हुँदै थिए । लक्स साबुन, डाल्डा घिउजस्ता दर्जनौं उपभोग्य सामानको विज्ञापनमा पनि देखिन थालिन् । एउटा ब्रिटिस कम्पनीको विज्ञापनसमेत खेलिन् । पहिलो र दोश्रो फिल्म फेयर अवार्ड जितिन् ।

दोस्रो पटक पनि फिल्मफेयर अवार्ड हात परेकोमा मीना अधिक खुशी थिइन् । समारोहमा कमाल पनि थिए । जब उनको नाउँ बोलाइयो, अवार्ड लिन मञ्चतर्फ लागिन् आफूले भिरेको ब्याग कुर्सीमै छाडेर । कमालले मीनाको ब्याग देखेका थिए तर उठाएनन् । भोलिपल्ट प्रशंसकहरू ब्याग बोकेर मीनाको घर पुगे । मीनाले सँगै बसिरहेका कमाललाई सोधिन्, ‘तपाईं त सँगै बस्नु भा’थ्यो, मेरो ब्याग देख्नु भएन ?’

कमालले मीनाका सबै प्रशंसकको अगाडि भनिदिए, ‘हो देखेको थिएँ, मैले त्यो ब्याग उठाएको भए भोलि तिम्रो जुत्ता पनि उठाउनुपथ्र्यो, त्यसैले उठाइनँ ।’हो, मीनाको लोकप्रियताप्रति कमालले इष्र्या गर्न थालेका थिए । उनी ठूलो साहित्यकार थिए, लेखक थिए तर उनमा पुरुषत्व हाबी थियो । उनी चाहन्थे– मीना उनको सेवामा मात्र लागुन्, फिल्ममा काम नगरुन्, कामै गरे पनि उनैको निर्देशनमा बन्ने फिल्म मात्र गरुन्, कोही केटो उनलाई घरसम्म पु¥याउन नआओस्, साँझको ६ बजेभित्र घर आइपुगुन्, मेकअप रूममा कोही पुरुष नपसुन्, छोटो कपडा नलगाउन् । यसरी सम्बन्धमा कटुता आइसकेको थियो । कमालले आफ्ना शर्त पालना गर्न दबाब दिन थाले । कमालका यी शर्तले मनमा चोट त पुग्यो तर कमालसँग छुट्टिनुपर्ने डरले चुप हुन्थिन् । दिनभरको व्यस्ततापछि जब घर पुग्थिन्, कमालको कटु बचन सुन्न विवश हुन्थिन् । पहिला त फुर्सद मिल्यो कि सँगै बसेर तास खेल्थे तर कमाल पत्नीसँग बसेर तास खेल्नुपर्ला भनी भागिभागी हिँड्न थाले ।

मीना आफ्नै सन्तानको आमा बन्न चाहन्थिन् तर कमालले यो हुन सक्दैन भनेर सुनाइसकेका थिए । हुँदाहुँदा मीनाले लेख्ने गरेका सायरी र गजलमा कुनै गहिराइ नभएको भनेर आलोचना गर्न थाले । फिल्म ‘शारदा’ मा उनका हिरो थिए राजकपुर । एकदिन सुटिङ सकाएर दुवैजना एउटा रात्रिभोजमा सामेल हुन गए । यो कुरा मीनाले कमाललाई सुनाइनन् तर उक्त रात्रिभोजमा सहभागी अन्यले यो कुरा लगाइदिए । त्यस्तै अभिनेता प्रदीपकुमारले एउटा महँगो गाडी किने र मीनालाई घुमाउन लगे । प्रदीपसँग गएको कुरा मीना आफैले कमाललाई सुनाइन् तर दुवै घटनालाई लिएर कमालले मीनालाई सत्तोसराप गरे ।

अब उनीहरूबीच झगडा नै हुन थाल्यो । कमालले हातै उठाउन थाले । हुँदाहुँदा उनका सहायक बाकरले समेत हप्कीदप्की गर्ने क्रम बढ्यो, त्यो पनि कमालकै सामु । एकपटक सुटिङको दौरान मेकअप रूममा गुलजारको प्रवेशले ठूलै हंगामा मच्चियो । बाकरले सबैका सामु मीनाको गालामा चडकन हानिदिए । कमालको घरमै पनि बाकर उनीमाथि हातपात गर्थे । एकदिन बाकरले पिटेपछि थप पिटाइबाट जोगिन बगैंचामा भाग्दै गर्दा अर्की अभिनेत्री नर्गिसले फेला पारेकी थिइन् । त्यसैले मीनाको निधनपश्चात् नर्गिसले भनेकी थिइन्– ‘मीना, मृत्युका लागि तिमीलाई धन्यवाद छ !’ मीना र नर्गिस मिल्ने साथी थिए । मीनाले आफ्नो दाम्पत्य जीवनमा घटेका सबै कुरा नर्गिसलाई सुनाउँथिन् । त्यसैले नर्गिसले नारकीय जीवनभन्दा उत्तम मीनाका लागि मृत्यु हो भनेकी थिइन् । मीनाले बाकरले समेत पिट्ने कुरा सुनाउँथिन् तर कमाल त्यो बेला पनि चुपै बस्थे । एकदिन उनैको सामु बाकरले हात उठाउँदासमेत नबोलीकन बसेपछि भने मीनाको हृदय छियाछिया भयो । सन् १९६४ मा एकदिन ठूलै झगडा भयो । कमालले फेरि पनि हात उठाए र रिसको झोंकमा ३ पटक तलाक तलाक भनिदिए । मीनाले त्यसबेला लेखेकी थिइन् – तलाक दे रहे हो नजर–ए– कहरके साथ, जवानी भी लौटा दो मेरी मेहरके साथ ।

कमालले रिसको झोंकमा तलाक दिए र पछि फेरि मिल्न चाहे । मुस्लिम धर्ममा लोग्नेले फेरि पत्नीसित बिहे गर्न चाहेमा ‘हलाला’ प्रथा निभाउनुपर्ने हुन्छ । यसका लागि कमालले आफ्ना मित्र अमान उल्लाह (अभिनेत्री जीनत अमानका पिता) सित निकाह गर्न र दुई दिनपछि तलाक दिन लगाए । अनि फेरि मीनासित बिहे गरे । कमालको यो रवैयाबाट पनि मीनाको मन कुँडियो । आफूलाई मन नपर्ने मान्छेसित सुत्न बाध्य पारेको कुरोलाई लिएर उनले लेखिन्, ‘धर्मको नाउँमा मैले आफ्नो शरीर दोश्रो पुरुषलाई सुम्पनु परेपछि म र बेश्यामा के फरक रह्यो र ?’

कमालले फेरि बिहे त गरे तर शंका गर्न भने छाडेनन् । कहिले धर्मेन्द्र त कहिले गुलजारसितको सम्बन्धलाई लिएर सवाल उठाएको उठायै गरिरहे । एकातिर लोग्नेको तल्लोस्तरको रवैया, अर्कोतर्फ धर्मेन्द्र र गुलजारबाट पनि धोका खाएपछि उनी दिनरात मदिरामा डुब्न थालिन् । सन् १९६८ आइपुग्दा नपुग्दै उनको कलेजोले काम गर्न छाड्यो । तैपनि सुटिङमा व्यस्त हुन छाडिनन् । सन् १९७२ मा ३९ वर्षको कलिलो उमेरमा उनको निधन भयो । अन्तिम समयमा उनी अस्पतालमा थिइन् । कमाल उनलाई हेर्न अस्पताल पुग्थे तर उपचार खर्च भने उठाएनन् । मीनासित पैसा थिएन । बिहेअघि कमाएको सबै पैसा अलि बख्सले लिन्थे भने बिहेपछि कमाल र बाकरले । यस्तो परिस्थितिमा अन्तिम बेला सहायता गरे अभिनेता अशोककुमारले । उनैले अस्पतालको खर्च उठाए ।
    
 

टिप्पणीहरू