अध्यक्ष र हाकिमको ‘इगो’ले थबाङमा तमासा

अध्यक्ष र हाकिमको ‘इगो’ले थबाङमा तमासा

रोल्पाको थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगरले हिजो एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीसहित सात कर्मचारी बेपत्ता भएको जानकारी गराएपछि सामाजिक सञ्जाल एकाएक तातेको थियो । यद्यपि, बेपत्ता भनिएका सबै कर्मचारी अहिले सम्पर्कमै रहेको र सदरमुकाम लिवाङ फर्किंदै गरेको बुझिएको छ । 

एउटा स्थानीय सरकार प्रमुखले सूचना नै निकालेर आफ्ना कर्मचारी खोज्नुपर्ने स्थिति भने किन आयो होला ? नागरिकमा जिज्ञासा पैदा भइरहँदा जानकार स्रोत भन्छ, ‘इगो हो, अध्यक्षज्यू  र हाकिम दुवै जना घमण्डी छन् ।’ 

बताइएअनुसार प्रमखु प्रशासकीय अधिकृत घर्तीको टोली चालु आर्थिक वर्षमा गर्नुपर्ने भुक्तानीको लागि ओटिपी कोड चाहिने र त्यसको लागि इन्टरनेट खोज्दै पूर्वी रुकुम हिँडेका थिए । तर रोल्पाको प्रशासनिक केन्द्र लिवाङ (सदरमुकाम) हो । इन्टरनेटकै अभावमा गाउँपालिकाको कामकाज रोकिएको अवस्थामा लिवाङ पुग्न सकिन्छ, जसले गाउँपालिकाको पुरक कामहरु सम्पन्न गर्न सजिलो समेत हुन्छ । तर घर्तीसहितको टोली भने इन्टरनेट खोज्दै पूर्वी रुकुम हानिए र बागलुङको ढोरपाटनसम्म पुगेर घुमे ।

एउटा स्थानीय सरकारको काम गर्न सम्बन्धित जिल्लाको प्रशासनिक केन्द्र जानुको सट्टा फरक जिल्ला पुग्नुले प्रथम दृष्टिमै कर्मचारीको लापरबाही देखिन्छ । तर, उनीहरु किन गए होलान् ? कारण थप रोचक छ । 

प्रमुख प्रशासकीय अधिकृत घर्तीको घर रोल्पाकै रोल्पा नगरपालिका–६ स्थित कोटगाउँमा पर्छ । केही समय अघिसम्म उनी गाउँपालिका अध्यक्ष बुढाको प्रिय कर्मचारी थिए । स्रोत भन्छ, ‘हाकिम ३४/३५ वर्षको मात्र भए । अध्यक्षज्यूले नै टाउकोमा चढाएर राख्नुभएको थियो । तर पछिल्लो समय हाइ डेनसिटी स्याउ परियोजना र केही पूर्वाधारको परियोजनाले फाटो ल्याएको हो ।’

पछिल्लो समय अध्यक्ष बुढाले केही परियोजनाको भुक्तानी निकासा गर्न घर्तीलाई दबाब दिँदै आएको बताइन्छ । र, घर्तीले पनि अध्यक्ष बुढालाई ‘देखाइदिन’ छ कर्मचारी लिएर भुक्तानी दिनुपर्ने आर्थिक वर्षको अन्तिम समयमा गायब भएको अर्को स्रोतको दावी छ । परियोजनाको नाम नखुलाउने शर्तमा स्रोतले थप्यो, ‘उहाँ (घर्ती) पनि दबाब भएपछि जिल्ला नै छाडेर गायब हुने होइन, प्रतिवादका माध्यम थुप्रै छन्, लिवाङ गएर सिडिओसापसँग कुरा राख्न सकिन्थ्यो, तर उहाँले पनि अध्यक्षज्यूलाई हल्का रुपमा लिनुभयो ।’

टिप्पणीहरू