सहकारी सञ्चालक धमाधम सुइँकुच्चा
असार मसान्त पुग्नै लाग्दा सबै क्षेत्रमा खाताबन्दीको चाप छ । सरकारी ढुकुटीदेखि सहकारी र वित्तीय संस्था अनि निजी क्षेत्रमा पनि आफ्नो अवस्थाअनुसार खातावन्दीको चाप छ । तर, सहकारी संस्थालाई लगातार केही वर्षयता देखिएको चापले यस वर्ष झन् दुःख दिएको छ ।
सहकारी नियमन प्राधिकरणले ल्याएको नयाँ कानुनी व्यवस्था र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र आर्थिक सरोकारवालालाई लगाएको नयाँ व्यवस्थाले कर्जा असुलीमा झन् समस्या देखिएको छ । सहकारी संस्थाहरूले गत वर्षकै खाताबन्दीमा भाखा नाघेको ऋण घटाउन ब्याजलाई साँवामा पुँजीकृत गरेको अनुगमनका दौरान भेटिएको छ । यसरी साँवामा पुँजीकृत गरिएकाहरूको कागजात नभेटिएपछि सहकारीहरू थप समस्यामा पर्ने अवस्था छ । काठमाडौं र ललितपुर महानगरपालिकाले गरेको अनुगमन र सहकारी जोखिम विश्लेषण अध्ययनमा यस्तो देखिएको हो ।
धेरै सहकारीको लगानी क्षेत्र शेयर र घरजग्गा कारोवार लगातार ओरालो लागेकाले सहकारी सञ्चालक धमाधम हराउन थालेसँगै स्थानीय तहका सहकारी शाखामा लगातार नयाँ समस्याग्रस्त संस्था थपिएका छन् । अझ असार मसान्तमा सहकारीका सञ्चालक समितिले ऋणी शेयर सदस्यलाई ताकेता बढाउन लिलामी तथा ३५ दिने म्यादका सूचना निकालिरहेका छन् ।
यसैबीच, राष्ट्रिय सहकारी बैंक र नेफ्स्कुनले सञ्चालकहरू र नजिकका मान्छेलाई दिलाएका ऋण असुली नभएपछि नेताहरूबीच बोलचाल बन्द र एकअर्काको पोल खोलाखोल हुन थालेको छ । पछिल्लो समय कर्णाली विकास बैंक संकटग्रस्त भई त्यसका मुख्य सञ्चालक पक्राउ परेपछि नेफ्स्कुनका पूर्वअध्यक्ष तथा कर्णाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने सञ्चालक मुन्टो लुकाएर हिँड्न थालेका छन् । नेफ्स्कुन र राष्ट्रिय सहकारी बैंकको करोडौं रकम कर्णाली विकास बैंकको शेयर तथा बचतमा रहेको छ । असार मसान्तसम्ममा भाखा नाघेका ऋणमा लोनलस प्रोभिजन व्यवस्था गर्नुपर्ने भएकाले असुलीका लागि ताकेता गर्नुपर्ने पीडा छ भने अर्कोतिर आफूले बचत तथा शेयरमा लगानी गरेका क्षेत्रमा उस्तै संकट देखिँदै गर्दा राष्ट्रिय सहकारी बैंक र नेफ्स्कुन निकै दवावमा परेका छन् ।
यसैगरी ललितपुर जिल्लाका बचत तथा ऋण सहकारी संघले विभिन्न सहकारी संस्थालाई दिएको ऋण पनि सहकारीहरू समस्यामा परेपछि जोखिममा परेको छ । संघका नेतृत्वमा रहेका र निकटहरूले लिएका ऋणको कारण पछिल्ला समय संघ संकटउन्मुख रहेको सञ्चालकहरू बताउँछन् । पूर्वअध्यक्ष रामशरण घिमिरे, वर्तमान अध्यक्ष रामहरि बजगाईं र व्यवस्थापक सन्तोष बजगाईसँगको सम्बन्ध भजाएर ऋण लगेका केही सहकारी अब ‘मारे मार्, काटे काट्’ भन्दै संघमा आएर हात जोड्न थालेका छन्, के गर्ने केही उपाय छैन,’ एक जना सञ्चालकले भने ।
यता, असार मसान्तको चपेटामा सहकारी संघ भइरहँदा अध्यक्ष रामहरि बजगाईं भने नेकपा एमालेको एउटा भ्रमण दलमा समेटिएर चीनतिर उडेका छन् । माओवादी कोटाबाट सहकारी बैंकमा लगातार तीन कार्यकाल र बचत तथा ऋण सहकारी संघमा २ कार्यकाल नेतृत्व गरेका बजगार्इं अहिले एमालेमा प्रभावशाली र नेताहरूका विश्वासपात्र बनिरहेका छन् । अध्यक्ष र व्यवस्थापक बजगाईंद्वयको बढी सक्रियतामा भवन निर्माणका लागि खरिद गरिएको जग्गा अलपत्र परेकोबारे पनि वैठकमा चर्चा भएको छ ।
ललितपुरको बचत तथा ऋण सहकारीमा थप दर्जन सहकारी समस्याको नजिक भएको गाइँगुइँ चलेको छ । तर, बागमती प्रदेश सहकारी मन्त्रालयले संकटासन्न सहकारीहरूसँगै मिलेर बचतकर्ताका समस्यामा सुनुवाइ नगरिदिएको कारण मात्रै घटना बाहिरिन नसकेको बुझिएको छ ।
बागमती प्रदेशको सहकारी मन्त्रालयलाई सहकारी बैंक तथा नमोबुद्ध सहकारी प्रकरणमा जोडिएका विवादित सांसद ज्ञानबहादुर तामाङ, नवललित बहुउद्देश्यीय सहकारीमा भएको अनियमितता प्रकरणमा जोडिएका एमाले नेता तथा प्रदेशमन्त्री प्रेमभक्त महर्जन तथा कांग्रेस नेताहरूको दवाव छ । दवावमा मन्त्रालयका कर्मचारी निवेदन बोकेर आउने बचतकर्तासँग उल्टै गुनासो गर्छन् भने केहीले हेराँैला भन्दै थुमथुम्याएर पठाएका छन् । असार मसान्तमा यस्ता अनेक दौडले प्रदेश सहकारीदेखि स्थानीय तहका सहकारी शाखामा चाप बढेको छ ।
टिप्पणीहरू