लेखा अधिकृतसँग साढे नौ करोड सम्पत्ति

लेखा अधिकृतसँग साढे नौ करोड सम्पत्ति

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानूनी रुपमा अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको हो । 

उनले भ्रष्टाचार गरेर ६ करोड बढीको सम्पत्ति कमाएको अख्तियारको ठहर छ । पौडेल २०५४ माघ ८ गते निजामती सेवामा प्रवेश गरेका थिए । अख्तियारका अनुसार उनीविरुद्ध उजुरी परेपछि ०८० मंसिर १० गतेसम्मको सम्पत्ति जाँच गर्दा कुल नौ करोड ६६ लाख ८० हजार ६२० रुपैयाँ भेटिएको छ । 

जसमध्ये ६ करोड २६ लाख ९३ हजार १२९ रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको अख्तियारले जनाएको छ । पौडेलले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती हुमाकुमारी उपाध्यायको नाममा राखेको पाइएको छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम उपाध्यायलाई समेत प्रतिवादी कायम गर्दै भ्रष्टाचार गरिएको रकम जफत गरी कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

टिप्पणीहरू