विद्या उपाध्यक्ष बन्ने सम्भावना शून्य

विद्या उपाध्यक्ष बन्ने सम्भावना शून्य

सक्रिय राजनीतिमा आउन पार्टीको सदस्यता नवीकरण गरिसकेको घोषणा गरेकी विद्या भण्डारीलाई रोक्न एमालेभित्र कस्तो तानाबाना बुनिँदै होला ? यसबारे अब अनुमान गर्न माथापच्ची जरुरी छैन । खुलासा भइसकेको छ कि उनलाई एमालेको शीर्ष नेतृत्वमा पुग्न नदिन विधान नै फेर्ने तयारीमा केपी ओली निकटस्थहरू जोडतोडले लागेका छन् । 

समाचार स्रोतका अनुसार गत हप्ताको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव राखे, ‘गणतन्त्रबारे प्रश्न उठिरहेको र त्यसमाथि आक्रमण तीव्र बनेका बेला राष्ट्रपति पदको गरिमा कायम राख्न पनि विधान संशोधनमार्फत पार्टीले नयाँ व्यवस्था गर्नुपर्ने आवश्यकता देखेको छु ।’ 

उनको जोड थियो, ‘राष्ट्रप्रमुख भइसकेको व्यक्ति फर्केर पार्टीको कार्यकारी बन्दै मुलुकको कार्यकारी बन्ने दिशामा जाँदा गणतन्त्रको सर्वोच्च पदको गरिमा कम हुन्छ, त्यस्तो गर्न नमिल्ने व्यवस्था विधान संशोधनमार्फत गरौँ भन्ने प्रस्ताव हो, मेरो ।’ 

उनका कुरामाथि धेरै नेताले आपत्ति जनाए । तुरुन्तै त्यस्तो आपत्ति देखेपछि माहोल त्यसअनुरुप छैन भन्ने बुझेका केपी ओलीले आफैँ बिट मारे, ‘होइन त्यसो गर्न मिल्दैन । कुनै एक व्यक्ति केन्द्रित बनेर विधान संशोधन गर्नु हुँदैन ।’ सो छलफलमा सहभागी नेताहरूका अनुसार विधानमा त्यस प्रकारको व्यवस्था गर्ने प्रस्ताव अघि सार्दा कस्तो प्रतिक्रिया आउला भनी गरिएको लिटमस टेष्ट थियो त्यो । 

समाचार स्रोतका अनुसार केपी ओलीको पक्ष र विद्या भण्डारी सक्रिय राजनीतिमा आउने कुराको विपक्षमा शंकर पोखरेल, विष्णु रिमाल, प्रदिप ज्ञवालीलगायत छन् । प्रदिप ज्ञवालीले पनि केही समयअघि सार्वजनिक रुपमै राष्ट्रपति बनिसकेको व्यक्ति पार्टीको अध्यक्ष बन्ने गरी सक्रिय राजनीतिमा आउनुहुँदैन भन्ने धारणा राखिसकेका छन् । 

ईश्वर पोखरेललगायतले भने एक वाक्यमै शंकर पोखरेलको प्रस्तावलाई खारेज गर्दै ‘त्यस्तो गर्न मिल्दैन’ भनेर विरोध गरेका थिए । विधान संशोधनमार्फत विद्या भण्डारीलाई रोक्न नसकेमा पार्टीको अर्ली महाधिवेशनमार्फत पुनः केपी ओली नै अध्यक्ष निर्वाचित हुने खेलसमेत अघि बढाउने तयारीमा ओली निकटस्थहरू लागिपरेको उच्च तहका नेताहरूले जानकारी दिएका छन् । आउँदो मंसिरमै पार्टी महाधिवेशन पनि गर्ने चर्चा व्यापक छ । यदि त्यसो भएमा केपी ओलीले फेरि आफूलाई एक पटकका लागि अध्यक्षका रुपमा अघि सार्ने सम्भावना व्यापक रूपमा रहन्छ ।

विद्या भण्डारीलाई वरिष्ठ उपाध्यक्षमा थन्क्याउने सम्भावना पनि चर्चाको विषय बनिरहेको छ । उनलाई ओलीले देखाएको ठाउँमा नबसी पार्टीको कमाण्ड गर्ने गरी अध्यक्ष पदमै दावी पेश गर्नुपर्छ भनेर हौस्याउने कार्यकर्ताको ठूलो संख्या भएका कारण उपाध्यक्षमा चित्त बुझाउने सम्भावना भने लगभग नरहेको बताइन्छ । 
 

टिप्पणीहरू