विद्या भण्डारीको यस्तो छ आगामी बाटो

विद्या भण्डारीको यस्तो छ आगामी बाटो

पूर्वराष्ट्रपतिका रूपमा प्राप्त सबै सरकारी सेवासुविधा १ साउनदेखि लागू हुने गरी फिर्ताको तयारीमा रहेकी विद्यादेवी भण्डारीले नेता तथा कार्यकर्तासँगको भेटलाई तीव्रता दिएकी छन् । स्रोतका अनुसार, आगामी एक साताभित्र उनले नेकपा (एमाले)का सबै पदाधिकारीसँग संवाद गर्नेछिन् । उपाध्यक्षहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेलगायत बाक्लो संवादमा छन् । यही साता उपाध्यक्षद्वय रामबहादुर थापा बादल र अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलसँग पनि राम्रै संवाद भएको छ । अबको पालो क्रमशः स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका नेताहरूको छ । 

आफू सक्रिय राजनीतिमा आउने घोषणालाई नेता तथा कार्यकर्ताले स्वागत गरेको निचोडमा पुगेकी भण्डारीले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँगको संवादलाई पनि सँगसँगै लैजाने योजना बनाएको भंगाल स्रोतको भनाइ छ । ‘कार्यकर्ताको मनोविज्ञान, भावना सबैलाई केन्द्रमा राखेर अध्यक्ष (केपी ओली)ले नै बाटो सहज बनाइदिनुहुन्छ भन्ने आशामा छौं,’ उनी निकट एक नेता भन्छन् ।

एकसरो संवादपछि देश दौडाहामा निस्किने तयारीमा छिन् भण्डारी । त्यसो त तलसम्म टिम सक्रिय भइसकेको छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ पनि नियमित संवादमा छन् । नेताहरू मुकुन्द न्यौपाने, विन्दा पाण्डे, कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, बिनोद ढकाल, कर्ण थापा, रमेश पौडेल, कृष्ण राईलगायत मैदानमा ओर्लिसकेका छन् । जनसंगठनमा ओलीले मन नपराएका नेताहरू पनि मैदानमा खुलेका छन् । 

युवा संघको अध्यक्षमा पराजित सुमन पुरी, अखिलको अध्यक्षमा ७ मतले हराइएका प्रकाश पौडेल, प्रेस चौतारी नेपालको अध्यक्षमा उम्मेदवारी दिनबाट वञ्चित गरिएका राजेश राईलगायत सक्रिय भएका छन् । 
 

टिप्पणीहरू