अरू को–को तत्काल विद्यातिर ओइरिए ?
एमाले राजनीतिमा विद्याको पुनरागमनसँगै पार्टी सचिवालयका नेताहरू बाहिर प्रकट नभए पनि भित्रभित्र कित्ताकाट गर्दै छन् । बताइएअनुसार सचिवालयका बहुमत सदस्य विद्याको पक्षमा खुलेका छन् । १९ सदस्यीय सचिवालयका टोपबहादुर रायमाझी निलम्बनमा परेसँगै अहिले १८ जना छन् । जसमध्ये ८ जना विद्याको पक्षमा खुल्दा अध्यक्ष ओलीलाई ७ जनाको साथ देखिन्छ । केही नेता भने तटस्थ छन्।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रष्टैसँग विद्यातिर खुलेका छन् । सार्वजनिक मञ्चबाटै विद्यालाई अध्यक्षमा अघि सार्ने संकेत गरेका उनी दोस्रो वरीयताका नेता हुन् । ६ जना उपाध्यक्षमध्ये सुवास नेम्वाङको ठाउँमा मनोनीत गुरु बराल, माओवादी पृष्ठभूमिका रामबहादुर थापा र विष्णुप्रसाद पौडेल ओलीतिर छन् । युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले विद्यालाई साथ दिने देखिन्छ भने अष्टलक्ष्मी शाक्य तटस्थ छिन् । ओलीको खरो आलोचक भए पनि बागमती प्रदेशको मुख्यमन्त्री हुन नदिएको, अनेमसंघको अध्यक्ष खोसेको पुरानो तुष रहेकाले उनी तत्कालै खुल्न नसकेको बताइन्छ । युवराज, सुरेन्द्र र अष्ट १० भाइ समूहका हुन् । माधव नेपालले पार्टी फुटाउनुअघिसम्म साथ दिएका उनीहरू निर्णायक घडीमा ‘सूर्य चिह्न’ र ‘एमाले ब्राण्ड’ छोड्न नसकेर रोकिए पनि ओलीसँग भने आत्मीय सम्बन्ध रहेन ।
समाचार स्रोतका अनुसार, महासचिव शंकर पोखरेलसहित ३ उपमहासचिवमध्ये विष्णु रिमाल र प्रदीप ज्ञवालीले ओलीलाई साथ दिने छन् । पिएस गुरुङ विद्यातिर लाग्ने सम्भावना छ । यद्यपि अहिले ओली क्याबिनेटमा रहेका कारण खुलेर लागिसकेका छैनन् । सात सचिवमध्ये लेखराज भट्टमात्र ओलीतिर खुलेको देखिन्छ । रघुवीर महासेठ, गोकर्ण विष्ट र योगेश भट्टराईलाई विद्यानिकट भनेर चर्चा गरिएको छ । पद्मा अर्याल र छविलाल विश्वकर्मा खुलिसकेका छैनन् । नेकपा फुट्दा केपी ओलीको अनुहार हेरेर एमालेमा आएका पूर्वमाओवादी नेता बादल र लेखराज प्रतिष्पर्धा गर्ने हैसियतमा नभएकाले चुमुर्किएर बसे पनि अनुकूलता हेरेर विद्यातिर लाग्नसक्ने सम्भावना छँदै छ ।
७० वर्षे उमेर हद र लगातार दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा रहन नहुने पक्षमा रहेका ईश्वर पोखरेलले विद्या समूहको नेतृत्व गर्नेछन् । मदन भण्डारी र केपी ओलीको समकालीन उनी सो समूहमा लाग्ने सचिवालयका सबैभन्दा सिनियर नेता हुन् । ७० वर्षे उमेर हदको प्रावधान लागू हुँदा पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिनुपर्ने भएकाले उनलाई ०८४ को चुनावपछि राष्ट्रपतिको उम्मेदवार बनाइन पनि सक्छ । विद्याको पक्षमा खुलेर लाग्ने सुरेन्द्र पाण्डे महासचिवको उम्मेदवार बन्ने चर्चा शुरु भइसकेको छ । नवौँ महाधिवेशनमा ओली समूहका ईश्वरसँग उनी मात्र १५ मतले महासचिवमा पराजित भएका थिए ।
अहिलेसम्म दुबैतिर खुलेर लाग्ने सचिवालय सदस्यहरूको संख्या बराबरजस्तो देखिएकाले तटस्थ भनिएकाहरू निर्णायक रहने छन् । स्रोतहरूका अनुसार आगामी भदौमा हुने विधान महाधिवेशनमै बहुमत–अल्पमतको अवस्था आउने भएकाले भित्रभित्रै दौडधुप शुरु भैसकेको छ । ओली क्याबिनेटमा शक्तिशाली मन्त्रीसमेत रहेकाले पिएस गुरुङले निर्णायक घडीमा आफूलाई साथ दिने बालुवाटारको विश्वास छ । विद्या समूहले अष्ट र पद्मातिर नजर लगाएको बुझिन्छ । तर, पार्टी संगठनमा बलियो पकड रहेको भनिएका उपाध्यक्ष विष्णु र महासचिव शंकरको साथ रहेकाले सचिवालयको गणित प्रतिकूल भए पनि महाधिवेशनमा फरक नपर्ने दावी ओलीनिकटहरूको छ ।
ओली निश्चिन्त हुने कारण मुख्य जनाधार भएका नेताहरू आफूतिर रहने भए भन्ने नै हो । किनकि एमालेमा मदनको पालाका नेता भैकन अहिले ईश्वरको अलग्गै धार छैन । उनीनिकट भनिएका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य सूर्यबहादुर थापा, काठमाडौँका इञ्चार्ज आनन्द पोखरेल र दैलेखका लक्ष्मण पोखरेल पनि एक ठाउँमा छैनन् । जस्तो, राजेन्द्र र सूर्य अहिलेसम्म ओलीतिरै रहँदा आनन्द भने धेरै पहिलेदेखि विद्यातिर खुलिसकेका थिए । काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दिपक निरौला, पूर्वइञ्चार्ज कृष्णकुमार राई, नेताहरू सरिता न्यौपाने, पेम्बा लामालगायत चिनिएका अनुहार विद्यातिर खुलेका छन् ।
ईश्वरसँग आक्रोशित छन् ओली
विद्याको सम्भावित पुनरागमनको विषय एमालेमा एक वर्षयता सर्वाधिक चासो र चर्चामा रहँदा ईश्वर पोखरेल आफैँ भने गुमनाम थिए । अध्यक्ष ओलीसँग अनेक विमतिका बाबजुद दायाँबायाँ नगरेका उनी असार १४ गते भने फरक भूमिकामा देखिए, जुन बालुवाटारका लागि अपेक्षित नहुनु स्वाभाविकै हो । बालुवाटार स्रोतका अनुसार अघिल्लो बुधबारमात्र ईश्वरले ११ औँ महाधिवेशनमा ओलीलाई सघाउने संकेत दिएका थिए । तर, त्यसविपरीत उनी विद्याको पक्षमा खुले मात्र होइन, आफ्नै अग्रसरताले पार्टीमा फर्काए ।
पार्टी मुख्यालयस्थित स्रोतले सुनाएअनुसार बुधबार बिहान साढे ११ बजे बालुवाटार निम्त्याइएका इश्वरले ओलीसँग भात खाँदै ‘अबको अध्यक्ष पनि तपाईं नै हो’ भन्ने विश्वास दिलाएर फर्किएका थिए । असार १३ गते खोटाङका विशाल भट्टराईसँगको भेटमा पनि ‘मेरो अब केही महत्वाकांक्षा छैन, ओली नै हो अध्यक्ष’ भनेको रिपोर्टिङ पुगेपछि बालुवाटार थप ढुक्क भयो । त्यहीअनुसार सरोकार जनाउन गएकाहरूसँग ओलीले आत्मविश्वासका साथ ‘ईश्वरसँग राम्रो कुरा भएको छ, उता जाँदैनन्’ भनेका थिए । तर, त्यसको भोलिपल्टै ईश्वरले ओलीको नेतृत्वमाथि चुनौती दिँदै विद्याको पक्षमा कडीकडाउ भाषण गरे ।
असार १४ गते सभा गृहबाट निस्किएर स्पेन उडेका ओली ईश्वरले दोहोरो चाल चलेर धोका दिएको निश्कर्षमा पुगेका छन् । र, भानुभक्त ढकालहरूको अभिव्यक्तिमा विद्याभन्दा ईश्वरप्रति आक्रोश देखिन्छ । ‘विद्यालाई पार्टीमा ल्याउने कुरामा ओली उदार नै हुनुहुन्थ्यो । सचिवालय बैठकमा महासचिवले कानुन बनाएर प्रतिवन्ध लगाउनुपर्छ भन्दा उहाँले त्यसो नगरौँ भन्नुभयो’, बालुवाटारसम्वद्ध स्रोत भन्छ, ‘आखिर सबै कुरा सल्लाहमै भैरहेकै थियो तर ईश्वरले एकातिर एउटा कुरा गर्ने, अर्कोतिर विद्यालाई पनि उकास्ने दोहोरो रोल खेले । उनले त्यस्तो नगरेको भए विद्या अहिले नै आउने सम्भावना थिएन भन्ने अध्यक्षको बुझाई हो । किनभने कर्ण थापा, गोकुल बाँस्कोटाहरूले मात्रै थामेर थामिने कुरा थिएन ।’
ओलीको उपाध्यक्ष बस्ने प्रचार
१५ वर्ष माधवकुमार नेपाल र पाँच वर्ष झलनाथ खनाल एमालेको नेतृत्वमा रहँदा स्थायी प्रतिपक्षजस्तो रहेका ओलीलाई विद्या निरन्तर साथ् रह्यो । मदन भण्डारी फाउण्डेसनमार्फत देशव्यापी संगठन बनाएर शक्ति आर्जन गरी नेतृत्वमा स्थापित भएका यी दुई २०७० सम्म राजनीतिको यौटै डुंगामा सवार रहे । विद्याको व्यक्तित्व निर्माणमा ओलीको जति भूमिका छ ओलीलाई आजको हैसियतमा पु¥याउनमा विद्याको योगदान पनि कम छैन । त्यसैले अहिले आमने–सामने भएका उनीहरू निर्णायक क्षणमा मिलेर सबैलाई चकित पारिदिने विश्वास कार्यकर्ताको छ ।
१४ गते मञ्चमै घोचपेच भएको हिसाबले दुबै जना ‘वार पार’ को लडाइँमा रहेकोजस्तो देखिए पनि यथार्थमा त्यो अवस्था नरहेको दावी गर्नेहरूले विद्या ओलीको उपाध्यक्ष हुने चर्चासमेत चलाइरहेका छन् । तर, अध्यक्षलाई ‘तपाईं महान हुनुहुन्छ’ भन्दिए पद पाइने अवस्थामा उपाध्यक्ष खानकै लागि विद्याले यत्रो जोखिम उठाउनुभयो होला भन्ने लाग्दैन । उहाँ निकटहरूले पनि एक हजार प्रतिशत झूठा प्रचार भनी बालुवाटारतिरबाट चलाइएको उक्त हल्लालाई खारेज गरेको अवस्था छ ।
‘ओलीको मातहत उपाध्यक्ष बसेर जाने कुरा कल्पनाभन्दा पनि परको हो’, एक नेता भन्छन्, ‘यदि उपाध्यक्ष नै बन्ने हो भने यत्रो देशदौडाहा किन गर्नुपथ्र्यो, ओलीलाई तपाईं महान हुनुहुन्छ भन्दिए भैहाल्थ्यो नि !’ त्यसो त, विद्याले साँच्चै आँटेर आए तत्कालिन नेकपाको सचिवालय र केन्द्रीय कमिटीमा अल्पमतमा परेपछि पनि नेतृत्व नछोडेजस्तो सजिलो ओलीका लागि हुने छैन ।
त्यसकारण विद्यालाई ‘उपयुक्त समयमा सल्लाह गरौँला’ भनेर अहिलेसम्म नाडी छामिरहनु भएको छ, अर्थात् तल–तल फिल्डको रिपोर्ट लिने काम भैरहेको छ । दशौँ महाधिवेशनमै सर्वसम्मत अध्यक्ष हुने रहर गर्नुभएका उहाँ हार्ने (जित्ने निश्चित नभए) चुनाव उठ्नुहोला भन्ने विश्वास गरिएको छैन । मैले नै छोडेको हो भन्ने पार्नलाई पनि विद्याको राम्रो हुने देखियो भने ओली भिड्नुहुन्न भन्ने विश्लेषण एकथरीको छ । किनभने मदन भण्डारीलाई समेत हामीले नै महासचिव बनाएको हो भन्नुभएको छ उहाँले । यद्यपि, मदन महासचिव बन्नुमा ओलीको योगदान कति थियो त्यो छुट्टै बहसको विषय हो ।
समकालीन सबै नेतालाई फाँडेर दिग्विजय मच्चाइरहेका ओली अहिले एकाएक कमजोर बन्नुभएको छ । उहाँद्वारा हेपिएका, चेपिएका, अवसर नपाएका र कुनामा पारिएका मात्र होइन दश भाइ समूह र पुराना नेताहरूको ठूलोपंक्ति सोहोरिएर विद्यातिर लागेको छ । झापा आन्दोलनका सबैजसो नेता ओलीसँग छैनन् । अहिलेसम्म एमाले नछोडेका एकजना नारद वाग्लेसमेत रुष्ट छन् । र, ३ वर्षदेखि उनलाई बालकोट र बालुवाटारको ढोका बन्द छ ।
टिप्पणीहरू