विद्याको पुनरागमनः देवीको प्रतिविम्ब वा मदनको आभास
नेपाली समाजमा दुई जना भेट हुनेबित्तिकै राजनीतिको कुरा चलिहाल्छ । यही असार १४ गतेको बिहान एक स्वास्थ्यकर्मी र औषधि बिक्रेताले “विद्यादेवी भण्डारी सांसद, मन्त्री र दुई दुई पल्ट राष्ट्रपति भइसकिन्, अब किन राजनीतिमा आउन खोजेकी हुन् ?” भनी मसँग जिज्ञासा राखे । “कतै यो स्त्रीहठ हो कि ?”, उनले जिज्ञासा राखे र मैले उनलाई “उनी भर्खर ६५ वर्षमा हिँड्दैछिन्, उमेर छ, दिनभरि घरमा के गरेर बस्ने ? नेकपा (एमाले) को अध्यक्ष र प्रधानमन्त्री पनि हुन खोजेकी होलिन्, महिला प्रधानमन्त्री पनि हुने उनको सोच होला, एमाले महासचिव शङ्कर पोखरेलले भने जस्तो गणतन्त्र नै त के जाने हो र !” भनी जवाफ दिएँ । उनलाई मेरो जवाफ चित्तै बुझेन र भने, “गणतन्त्र नै जाओस्, यो काम छैन” भनी स्पष्ट भनिदिए र हामी बिदा भयौँ । यसबाट नेताहरूको चाला हेर्दा गणतन्त्रप्रति नै केही सर्वसाधारणको दृष्टिकोण राम्रो रहेनछ भन्ने मैले अनुमान गरेँ ।
शनिबार नै बिहान सिन्धुलीमा भएको ७४औँ मदनकुमार भण्डारी जन्मजयन्तीमा एमालेका केन्द्रीय सदस्य उमा कोइरालाले पनि अबको अध्यक्ष पनि केपी शर्मा ओली नै हुन् र श्रीमती भण्डारीको नाम अघि ल्याउन आवश्यक नभएको बताइन् । पूर्वराष्ट्रपति भण्डारीलाई अगाडि ल्याएर केही साथीहरुले राजनीतिक रोटी सेक्न लागे पनि त्यो सम्भव नभएको उनको विश्वास थियो । अब हुने विधान अधिवेशनले ओलीलाई नै मुख्य नेता मान्ने र ११ औँ महाधिवेशनले उनैलाई अध्यक्ष बनाउने विश्वास उनले व्यक्त गरिन् । यसलाई नमुनाका रुपमा लिने हो भने एक महिला नेत्री अर्की नेत्री अघि सरेको, सराइएकामा असन्तुष्टि रहेको बुझियो । यो पनि नेपाली समाजको चरित्रको एक पाटो हो भन्ने मलाई लाग्यो ।
यसरी नेपाली राजनीतिमा अहिले श्रीमती भण्डारी सबै क्षेत्रका मानिसका गफ र भाषणका विषय बनेकी छन् । एमालेबाटै निर्वाचित भएर दुई दुई पटक गरी सात वर्ष मुलुककै दोस्रो राष्ट्रपति र पहिलो महिला राष्ट्रपति हुनु, एमालेकी पूर्वउपाध्यक्ष हुनु र नेपालको सन्दर्भमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै जनताको बहुदलीय जनवाद नामका सिद्धान्त, कार्यक्रम ल्याउने एमालेका तत्कालीन महासचिव भण्डारीकै धर्मपत्नी हुनु श्रीमती भण्डारीको झट्ट चिनिने अहिलेको परिचय र पहिचान हो । संसदीय प्रजातन्त्र चलिरहेको नेपालमा उनको पूर्वमाउ पार्टी एमाले अहिले सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा दोस्रो ठुलो दल भएको र सोही दलले अहिले सरकारको नेतृत्व गरिरहेकाले यसबारे चर्चा स्वाभाविक रूपले हुने नै भयो । अझ उसको विधान अधिवेशन र राष्ट्रिय अधिवेशन यसै वर्ष हुने हुनाले भण्डारीसँगै एमाले नेतृत्वको विषय पनि सँगै चलेको हो । श्रीमती भण्डारीको उमेर रहेको र बाँकी लामो जीवन बिनाकाम बिताउन पट्यार लाग्ने भएकाले उनले पार्टी जीवनमै फेरि फर्कने निर्णय गरेकी भन्ने स्पष्ट देखिन्छ । असार १५ मै मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको मदनजयन्तीमा पनि उनले भनिन्, “फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकाङ्क्षा छैन ।” यहाँनेर उनले एउटा कुरा भने ढाँटेकी नै हुन् आफ्नो कुनै विशिष्ट महत्त्वाकाङ्क्षा छैन भनेर । राजनीति गर्ने मानिसले आफ्नो महत्त्वाकाङ्क्षा छैन भन्नु सोह्रै आना ढाँट्नु हो । नेपाली राजनीतिमा एउटा प्रचलित भनाइ प्रचलित छ, “जोगी हुन कसैले राजनीति गर्दैन ।” राजनीति, त्यसमाथि दोहो¥याएर गर्नु र कुनै आकाङ्क्षा छैन भन्नुचाहिँ विरोधाभास नै हो । अनि उनको विरोध गर्नेले पनि किन विरोध गरिरहेका छन् भने उनी आएपछि त आफ्नो भाग खोसिने भयो, एक त दलको अध्यक्ष, अनि सांसद भएमा संसदीय दलको नेता अनि पार्टीले सरकारको नेतृत्व गर्न पायो भने प्रधानमन्त्री पनि । ओलीपछि दलका अध्यक्ष र प्रधानमन्त्रीको आशा त भण्डारीले खोसिदिने भइन् ।
पूर्वसोभियत सङ्घ अर्थात् रुसमा भ्लादिमिर पुटिन र दिमित्रि मेदभेदेवले राष्ट्रपति र प्रधानमन्त्री पद साटासाट गरेर विश्वलाई एउटा उदाहरण दिइसकेका छन् कि कुनै पनि देशको प्रधानमन्त्री राष्ट्रपति र राष्ट्रपति प्रधानमन्त्री पनि हुन सक्छन् भनेर । अझ नेपालकै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि राजनीतिमा फर्किसकेका छन् र उनी नेकपा (माओावादी केन्द्र) का उपाध्यक्ष भइसकेका छन् । त्यसअघि पूर्वसभामुख सुवास नेम्वाङले एमाले र अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रमा उपाध्यक्ष पद लिएर राजनीति गरे, गरिरहेका छन् । फाउन्डेसनले आयोजना गरेको
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी नेतृत्वबारे नेता, कार्यकर्ताले बोल्न पाउनुपर्ने बताउँदै आगामी भदौमा हुने विधान अधिवेशनमा कोही सल्बलाउनुलाई अन्यथा मान्न नहुने जनाए । त्यो भनाइ श्रीमती भण्डारीप्रति नै लक्षित थियो । पूर्वउपप्रधानमन्त्री पोखरेल पार्टीमा ७० वर्षे उमेरहदको प्रावधान र पदाधिकारीमा दुई कार्यकालका सख्त समर्थक पनि हुन् । आफैँ अध्यक्षमा नलडेर श्रीमती भण्डारीका समर्थनमा उनी किन देखिए भन्ने पनि रहस्यमय छ । यसअघि राष्ट्रपतिका उम्मेदवार पोखरेललाई बनाउने मनशाय तत्कालीन नेकपाका सहअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष ओलीले राख्दा दाहाल बिच्किएको भन्ने समाचार आएको थियो । जब माओवादी केन्द्र र कांग्रेस मिले, तब मात्र हार्ने चुनावमा नेम्वाङ खडा गरिए । सायद पोखरेल त्यही राष्ट्रपति पदका लागि आकाङ्क्षी छन् र आफू पार्टीबाट बिदा लिने सोचमा छन् । तर राष्ट्रपति बन्न पनि उनलाई ओलीको समर्थन त चाहिँदो हो, यो रहस्य पछि खोलिएला नै ।
श्रीमती भण्डारीको पार्टीमा पुनरागमन गर्ने घोषणामा एकथरि कार्यकर्ताको ताली भने खुब बज्यो । राष्ट्रियसभामा उपस्थित हुने बहुसङ्ख्यक एमाले नेता, कार्यकर्ता नै थिए र उनको एमाले फिर्तीमा समर्थन हुनु उनले आकाङ्क्षा राखेको अध्यक्ष पदको पनि समर्थन हो भन्ने त स्पष्ट बुझिन्छ नै, तर उनको मन्तव्यमा त्यति ओज भने पटक्कै थिएन । कसैले लेखिदिएको कागज हेरेर मात्र बोल्नुपर्ने उनको अवस्थाले नरेन्द्र मोदीका अघि राहुल गान्धी जस्तै देखियो । मिडियामा उनको पुनरागमन मुख्य समाचार बने पनि उनी आफैँमा भने त्यस्तो साहस र निर्भीकता भने पाइन्नथ्यो । अध्यक्ष बन्न चाहिने जुझारुपनबिना उनी यसमा कसरी अगाडि बढ्न सक्लिन् र ?
भण्डारी अहिले महिलाहरूले पाएको आमाका नामबाट नागरिकता, राजकीय र दलीय पदहरूमा ३३ प्रतिशतको अधिकारलगायत विषयको आन्दोलनको प्रमुख अभियानकर्मीमध्येकी एक हुन् । महिला अधिकारका आन्दोलनमा लाग्दाको उनको दौडधुप लोभलाग्दो थियो र आफूले खोजेको हक पाउँदा प्रतिनिधिसभामा उनी त्यस दिन निकै खुसी देखिएकी थिइन् । सक्रिय राजनीति गर्दाको मजा र रमाइलो त्यस पेसामा रमाउनेलाई मात्र थाहा होला । माधवकुमार नेपाललाई पनि त्यो प्रस्ताव र अवसर आएको थियो तर उनी दल र राजनीतिमा किन अडिग रहे भने यसमा रहँदा जनतासँग घुलमिल हुन पाइन्छ र आफ्ना कुरा बेधक राख्न पाइन्छ । उच्च राजकीय पदले मानिसलाई सुरक्षा घेरा नाघेर जान दिँदैन, पहिले जस्तो फुक्काफाल भएर हिँड्न पाइँदैन । त्यो पीडा भण्डारीले पनि सात वर्षसम्म भोगिन् ।
एकथरि नेताकार्यकर्ता आफ्ना नेताका अहम्, अहङ्कार, अधिनायकवादी शैली, एकथरिलार्ई च्यापेको च्यापै गर्ने, रुखो र छुच्चो बोली, तीव्र बदलाभाव, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का शीर्षनेताप्रति निरन्तरको घृणाभाव र छेडखानी, उखानटुक्काले मुलुकले जित्न खोज्ने, सरकारमा बसेकाहरूको भ्रष्टाचार र अनियमितता, कम्युनिस्ट पार्टीहरूको एकीकरणमा तीव्र अनिच्छुकता, अरूलाई उपयोग गर्ने प्रवृत्तिदेखि आजित छन् । तिनमा विद्रोह गर्ने साहस र तागत पनि छैन । कुनै बेला नेपाललाई नै हल्लाएका मदनकी पत्नीको आगमन तिनका लागि कुनै परमदेवीको प्रादुर्भाव भएको आभास हुन्छ । ओलीको अध्यक्षकाल र प्रधानमन्त्रित्वकाल दुवैमा पार्टी र राजकीय पदमा रहेर उनले सहयोग गरेकाले ओलीकै सहयोगमा पार्टीमा पुनःस्थापित हुने उनको धोको पूरा होला वा नहोला, अज्ञात छ, तर उनले राजनीतिक दलको शीर्षस्थानमा रहेर र कार्यकारी बनेर मुलुकको राजनीति र आर्थिक–सामाजिक विकासलाई तीव्र गति लैजाने विश्वास गराउन आफ्नो हठलाई जुझारुपनमा रूपान्तरण गर्नु जरुरी छ । कागज हेरेर हैन, कार्यकर्ता र जनतामा साहस भर्ने र विरोधीलाई निर्भीक रूपले ललकार्ने, उच्च मनोबलको आवाज उनले दिन सक्नुपर्छ, जसबाट पृथ्वीमा तिनै मदन पुनः ओर्लेको आभास होस् ।
टिप्पणीहरू