गडबडी त पक्कै छ कमरेड !
अवसरवादले खाने भो पार्टी
क्रान्तिकारीको नपोल्ने भो छाती
पार्टीभित्र पद र पैसा सब तिनले पा’छन्
दुःख झेल्ने कार्यकर्ता खाडीमा पुग्याछन् ।
हिजो भन्थे माओवादी पार्टी नै हो असल
तर आज थापेका छन् आफ्ना–आफ्ना पसल ।
गुटै गुटले खाने भो पार्टी
लक्ष्यसम्म के पुग्ला र माथि ?
१० वर्षे जनयुद्ध लडेको नेकपा (माओवादी केन्द्र) निकटका एक कलाकार हुन् झन्कार मगर । माथिका गीतका हरफहरु उनैको रचना, संगीत र गायनमा युट्युुबमा अपलोड गरिएको छ । झन्कार तिनै रोल्पाली जनवादी कलाकार हुन्, जो माओवादी केन्द्रले आयोजना गर्ने हरेक सभा सम्मेलनमा पुग्छन् । सारङ्गी रेटेर प्रचण्ड, प्रभाकार, वर्षमानलगायतका नेता तथा कार्यकर्तालाई जोशिला गीत सुनाउँछन् ।
यस पटक उनले रचना गरेको यो गीत अलि फरक खालको छ । यो गीतमा उनले माओवादी केन्द्र बिग्रनुका कारणहरु केलाएका छन् । यो गीत आममानिसलाई जति कर्णप्रिय लाग्छ, त्यति कर्णप्रिय नलाग्न सक्छ केही कमरेडहरुलाई । किनकी यहाँ माओवादी पार्टी र त्यसको नेतृत्वलाई अन्धभक्त प्रसंशा गरिएको छैन, यहाँ सत्यता लेखिएको छ, सत्यता गाइएको छ । केही समय नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपामा लागेका झन्कार पछिल्लो समय पुनःमाओवादी केन्द्रमै फर्किएका हुन् ।
जनतालाई मिठा अश्वासनदिएर हिँडेको माओवादी बन्दुक बिसाएर संसदीय राजनीतिमा प्रवेश गरेपछि कांग्रेस–एमाले जस्तै बनिसकेको आरोप जनस्तरबाटै लाग्दै आएको छ । पार्टीका नेताहरु सुन तस्करी, भ्रष्टाचार र अनियमिततामा फसेपछि माओवादी केन्द्र मरिच चाउरिएझैँ सानो हुँदै गएको छ । पद प्राप्तिका लागि जस्तोसुकै गठजोड गर्न पनि पछि नहट्ने माओवादी पटक पटकका बैठकमा आफूहरु बिग्रिएको निस्कर्ष निकाल्छ र आफूबाटै गल्तीभएको भन्दै सुधारको क्रमथाल्ने स्वम् अध्यक्ष प्रचण्ड नैं बताउँछन् ।
जसरी नेकपा (एमाले) मा अध्यक्ष केपी शर्मा ओलीको हैकमवाद हावी छ, माओवादी केन्द्रका पनि प्रचण्डकै हैकमवाद छ । विधि, पद्धती, अनुशासनका बारेमा कुरा उठाउने नेताहरु दुबै पार्टीबाट किनारा लाग्नुपर्ने वर्तमान स्थिति छ । पार्टीका भ्रातृ संगठनमा बल्ल लोकतन्त्रको अभ्यास सुरु हुन थालेको छ । टिके प्रथामार्फत् कोटका खल्तीबाट आफ्नो गुटका कार्यकर्ताहरुको नाम झिकेर ‘निर्विरोध निर्वाचित’को घोषणा गर्ने परिपाटी सचेत कार्यकर्ताकै पहलबाट अङ्कुराउनथालेको छ । तर यसलाई पुनःनिमोठ्ने प्रपञ्चहरु खुमलटारमा हुने गरेका छन् ।
अवसरवादी चरित्र बोकेकाहरु खुमलटारमा खुलमखुला प्रवेश गर्दा सचेत र इमान्दारहरुलाई गेट बन्द हुने गरेको छ । हिजोआज खुमलटारको सचिवालय पनि निकै भ्रष्ट बन्दै गएको छ । इमान्दारहरुलाई त्यहाँ कुनै स्थान छैन । प्रचण्डको नाम जपेर आफ्नो साँझ–बिहानको छाक टार्नु कतिको त दैनिकी नै बनेको छ । प्रचण्डको नाम पुकार्नेहरुलाई विधि, पद्धती र अनुशासन केही पनि लागू हुँदैन ।
प्रेस सेन्टरको अध्यक्षमा अग्नी सापकोटाका भतिज विष्णु सापकोटा ‘जगुल’ प्रचण्डको टिको लगाएर आएपछि त मैमत्ता साँढे झंै वितण्डा मच्चाउँदै हिँडेका थिए । उनका तीनवर्षे कार्यकालमा एक जना नयाँ सदस्य पनि सेन्टरमा जोडिएनन् । बरु उनको कार्यशैलीको विरोध गर्ने इमान्दार, श्रमजिवी पत्रकारहरुलाई संगठनबाट निस्कासन उनैले गरे ।
मधेशका केही सेन्टरमा आवद्ध पत्रकारहरुलाई कारबाही गर्दा मातृका यादवले जुगललाई नराम्रोसँग हप्काएपछि उनले कारबाही फुकुवा गरेका थिए । तर, जसले कुनै पनि नेताको सोर्स, फोर्स लगाएनन्, उनीहरुलाई संगठनबाट निस्कासन गरे । यसरी जुगलको पञ्चायती शासन शैली व्यहोर्नेहरु अहिले निर्वाचनबाट सेन्टरको नयाँ अध्यक्षमा निर्वाचित कमल गिरीले न्याय देलान् कि भन्ने आशामा बसेका छन् ।
त्यसो त प्रचण्ड साँच्चिकै सुध्रिने हो भने उनले सुधारको काम सचिवालयबाट गर्नुपर्छ भन्ने आवाज उत्तिकै उठिरहेको छ । सचिवलायमा उनले छोरी गंगा दाहाललाई नियुक्ति गर्नु नै प्रचण्डको अपरादर्शी छवि भएको कतिपयको भनाई छ । सायद जनवादी कलाकार झन्कारको गीतले यी परिघटनाहरुको बारेमा पनि बोलेको हो कि !
टिप्पणीहरू