विद्या भण्डारीको कार्यक्रममा नजान उर्दी

विद्या भण्डारीको कार्यक्रममा नजान उर्दी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका तत्कालीन महासचिव, जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदनकुमार भण्डारी जन्मजयन्तीको पूर्वसन्ध्यामा हरेक वर्ष जनसंगठनका नेता र पार्टीका नेताहरूसँग संवाद गर्ने गरेकी छन् । राष्ट्रपति भएको बेला पनि मदन जयन्तीको सन्दर्भमा छलफल र संवाद गरेकी थिइन् । सधैँजस्तै यो वर्ष पनि ६ असारमा जनसंगठनका नेताहरूसँग छलफल कार्यक्रम आयोजना गरेकी थिइन् । यस वर्ष विशेष छ । किनभने मदनको हीरक जयन्ती–२०८३ मनाउने तयारी थालिएको छ । 

तर, ५ असारमा यस्तो छलफल कार्यक्रम राखिएको जानकारी पाउनासाथ ३ गते नै एमाले जनसंगठन संयन्त्रका संयोजक तथा स्थायी कमिटी सदस्य भानुभक्त ढकालले बैठक बोलाए । मुख्य उद्देश्य रहेछ, ६ गतेको छलफलमा जान रोक्ने र १४ असारको कार्यक्रमलाई प्रभावित गर्ने । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संबोधन गर्ने भनिए पनि उनी आएनन् । उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले संबोधन गरे ।

बैठकमा उपाध्यक्ष पौडेलले पार्टी र जनसंगठनमा शिथिलता देखिएको बताएका थिए । ‘एमालेमा कुनै बेला सिठी फुकेको भरमा हजारौँ मानिस सडकमा आउँथे । अहिले किन शिथिल भए ?’ पौडेलको यो टिप्पणीलाई अनेरास्ववियुको अध्यक्षमा पराजित प्रकाश पौडेल र युवा संघमा पराजित सुमन पुरीले सार्वजनिक रूपमै उत्तर फर्काए । पौडेलले आफ्नै कार्यकर्तालाई आधिकारिक र अनाधिकारिक भन्दै विभाजन गर्ने र स्वच्छ प्रतिस्पर्धाबाट वञ्चित गर्ने हो भने थप कमजोर बन्ने बताएका थिए।

यस्तै रवैया देखाइरहने हो भने भोलि ‘मरेँ मरेँ’ भनेर गुहार माग्दा पनि कार्यकर्ताले आउन रुचि राख्ने छैनन् । तपाईंहरू त नबदलिनुहोला तर समय र कार्यकर्ता भने फराकिलो सोच राख्दै, जनताको बहुदलीय जनवाद मान्दै आफैँ सोच्ने र निर्णय गर्ने अवस्थामा पुगिसकेका छन् ।’

बैठकमा संयोजक ढकालले संस्थागत निर्णयविना कुनै गतिविधि नगर्न निर्देशन दिए । बैठकपछि जनसंगठनका अध्यक्ष र महासचिवलाई ६ असारको भेलामा नजान निर्देशन दिए । उक्त बैठकमा महाधिवेशन भएका १६ वटा जनसंगठनका इञ्चार्ज, अध्यक्ष र महासचिव सहभागी थिए । नभन्दै भण्डारी उपस्थित छलफलमा अधिकांश जनसंगठनका नेताहरू देखिएनन् । अध्यक्ष र महासचिव उपस्थित नभए पनि केही जनसंगठनका प्रतिनिधि पुगेका थिए । अनेरास्ववियु, युवा संघ, प्रेस चौतारीबाट एक जना पनि गएनन् ।

मदन भण्डारी फाउण्डेशनले भण्डारीको हीरक जयन्ती–२०८३ मनाउन एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा २ सय सदस्यीय मूल समिति गठनको तयारी गरेको छ । २०१० साल असार १४ गते जन्मिएका भण्डारीको ७४ पुगेर ७५ वर्ष लाग्ने दिन पारेर मदन जयन्तीकै दिन सो समिति घोषणाको तयारी गरिएको छ । 

१४ असारको कार्यक्रमको निम्तो कार्ड बनाएर भण्डारी निकटहरूले सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । केही जनसंगठनका अध्यक्ष र महासचिवले पनि यो पोष्टर सेयर गरेका थिए । स्रोतका अनुसार संयोजक ढकालले उनीहरूलाई सन्देश नै पठाएर पोष्टर सेयर नगर्न भनेका छन् । 

उही बैठकमा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पनि थिए । उनले प्रेस चौतारी महाधिवेशनको प्रसंग झिक्दै भनेका थिए, ‘चौतारीमा एक जना पनि प्रतिनिधिले मागेको भए म चुनाव गराइदिन्थेँ ।’ चौतारीमा अध्यक्षका प्रत्यासी राजेश राई पक्षधर ५४६ जना प्रतिनिधि हस्ताक्षर गरेरै चुनावमा गएका थिए । महाधिवेशनको हलअगाडि नै ब्यानर टाँसेर हस्ताक्षर अभियान चलाइएको थियो ।  एमालेका ४ जिल्ला पदाधिकारीसहित १३ प्रदेश कमिटी सदस्यसमेत रहेका प्रतिनिधिहरूले समेत चुनाव मागेर हस्ताक्षर गरेका थिए । 

 
 

टिप्पणीहरू