मकै चोर्न गएकाहरुले मान्छे कुटे

मकै चोर्न गएकाहरुले मान्छे कुटे

चितवनको कालिका नगरपालिका–३ दुईसय बिगाहास्थित रवीन्द्र पोखरेलको घरमा चोरी गर्न गएको आरोपमा स्थानीय एक जनालाई नियन्त्रणमा लिइएको छ । हिजो राति करिब ११ बजेको समयमा यो घटना घटेको हो । 

रवीन्द्रको घरमा डेरागरी बस्ने विष्णु अगस्तिको कोठामा चोर्न पसेको अवस्थामा आदर्शटोल बस्ने वर्ष २० को अनिल कुमाललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि प्रहरी बिट पदमपुरबाट गएको टोलीले अनिललाई पक्राउ गरेको हो । 

घटनाको थप अनुसन्धानको लागि राति नै इलाका प्रहरी कार्यालय टाँडी पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गरायो ।

हिजै राति ११ बजेतिरको अर्काे यस्तै घटना घटेको खबर पनि छ । कालिका नगरपालिका-५ शुभकामना चोकस्थित सोहर चौधरीको घरमा मकै चोर्न गएका दुई जनाको आक्रमणमा परी घरवाला घाइते भएका छन् । 

घटना विवरण अनुसार स्थानीय २६ वर्षीय प्रेम थापा मगर र वर्ष २५ को विश्वास चौधरी चोरी गर्न गएको अवस्थामा थाहा पाएपछि झगडा परेको थियो । त्यसक्रममा उनीहरुले कुटपिट गर्दा सोहर चौधरीको टाउको, ढाड र शरीरका विभिन्न भागमा चोट लागि उपचारको लागि पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ । 

अहिले प्रेम थापा प्रहरी नियन्त्रणमा रहेको र फरार विश्वास चौधरीको खोजतलास भइरहेको जनाइएको छ ।

टिप्पणीहरू