भेटघाटमा विप्लवलाई भ्याइनभ्याइ
खेतीपातीमा रमाउँदै आएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लव राजनीतिक भेटघाटमा व्यस्त देखिएका छन् ।
आज एकैदिन उनी फरक पार्टीका ३ शीर्ष नेतासंग देखिए ।
विप्लवले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेटेका छन् । दिउँसो डल्लुस्थित खनाल निवासमा भएको भेटमा खड्गबहादुर विश्वकर्मा पनि सामेल थिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको विषयमा विप्लवले खनाल समक्ष जिज्ञासा राखेको बुझिएको छ । त्यसबाहेक समसमायिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।
विप्लवको टोलीले आजै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेटेको छ । भेटमा हिसिला यमी र खड्गबहादुर पनि थिए । विप्लवले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहसँग भेट गरेका छन् ।
तीन वर्ष भूमिगत राजनीति गरेर २०७७ सालमा खुला भएसँगै बृहत कम्युनिष्ट ध्रुवीकरणको पक्षमा जोड दिँदै आएका विप्लव माओवादी केन्द्रसँग एकता गर्न चाहन्थे । त्यसनिम्ति दुवै पार्टीले आन्तरिक तयारी पनि गरेका थिए । तर, पछिल्लो समय प्रचण्डका कारण एकता टरेको निश्कर्षमा विप्लवहरु पुगेका छन् ।
समाजवादी मोर्चाको महत्वपूर्ण घटक समेत रहेको नेकपाले तत्काल एकता सम्भव नभए पनि सबै कम्युनिष्ट घटकसँग सुमधुर सम्बन्ध राख्ने नीति लिएको छ । सोहीअनुरुप भेटघाटलाई निरन्तरता दिएको नेताहरुले बताएका छन् ।
टिप्पणीहरू