आईएमई र खल्ती गाभिए, अब ‘आईएमई खल्ती लिमिटेड’

आईएमई र खल्ती गाभिए, अब ‘आईएमई खल्ती लिमिटेड’

नेपालमा पहिलो पटक भुक्तानी सेवा प्रदायकहरु एक-आपसमा गाभिएका छन् ।

आईएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड मर्ज भएका हुन् । 

गत फागुनमा दुई कम्पनीबीच मर्जर भएसँगै इजाजतका निम्ति नेपाल राष्ट्र बैंकमा पत्र पठाइएकोमा अन्तिम स्वीकृति प्राप्त भएको छ । जसअनुसार अब राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकका रुपमा अनुमतिपत्र प्राप्त दुवै ठूला डिजिटल वालेट एक भएर पहिलो पटक एकीकृत कारोबार गर्नेछन् ।

आगामी साउन १ गतेदेखि दुवै संस्था एकीकृत रुपमा ‘आईएमई खल्ती लिमिटेड’ नामबाट सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ । 

‘यस बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरु आईएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा गाभिई साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी गाभ्न–गाभिनका लागि अन्तिम स्वीकृति प्रदान भएअनुरुप दुवै संस्थाबाट सञ्चालन हुँदै आएको भुक्तानीसम्बन्धी सम्पूर्ण कारोबार मिति २०८२–०४–०१ गते बिहीबारका दिनदेखि एकीकृत रुपमा ‘आईएमई खल्ती लिमिटेड’ को नामबाट सञ्चालन हुने जानकारी गराइन्छ’, केन्द्रीय बैंकले सूचना जारी गर्दै भनेको छ । 

आइएमई ग्रुपको लगानी रहेको आईएमई पे राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत पाउने पहिलो कम्पनीसमेत हो । यस्तै, खल्तीमा इन्टरनेट सेवा प्रदायक वर्डलिंकसहित ‘स्पारो’ एसएमएस सञ्चालनमा ल्याउने अमित अग्रवाल र उनका अन्य तीन जनाको लगानी रहेको छ । खल्तीको चुक्ता पूँजी पाँच करोड र आईएमई पेको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको जनाइएको छ ।

टिप्पणीहरू