एनओसी ठगीमा संलग्नमाथि कारबाही गर्न नेविसंघको माग
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) ठगीमा संलग्नमाथि कडा कानूनी कारबाहीको माग गरेको छ ।
एनओसीमा अनियमितता, घुस लेनदेन, कागजात किर्ते एवं हेरफेर, ठगी भइरहेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै नेविसंघले यस्तो माग गरेको हो । नेविसंघले आज विज्ञप्ति जारी गर्दै एनओसी प्रणालीलाई पूर्ण डिजिटल, पारदर्शी, विद्यार्थीमैत्री र ट्रयाक गर्न सकिने स्वरुपमा पुनःसंरचना गर्नुपर्ने बताएको छ ।
आफ्नो र परिवारको सुनौलो भविष्यको सपना बोकेर वैदेशिक अध्ययनका निम्ति देश छोड्ने विद्यार्थीमाथि प्रक्रियागत सहजताका नाममा किर्ते, ठगी र भ्रष्टाचारजस्ता गम्भीर अपराधिक गतिविधि सञ्चालन भइरहँदा सरकार र सम्बन्धित मन्त्रालय आम विद्यार्थीले देख्ने, सुन्ने र बुझ्ने गरी सशक्त रुपमा प्रस्तुत नहुनु, छानबिन समितिको नाटक मञ्चन र औपचारिकतामा मात्रै सीमित रहनु अत्यन्त दुःखद् र शंकास्पद रहेको नेविसंघको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयकै मातहत रहेको प्रशासनिक निकायमा यस्तो सञ्जाल व्याप्त हुनु र बिचोलिया प्रणाली हाबी हुनुले सम्पूर्ण शिक्षा प्रशासनको विश्वासनीयतामाथि गम्भीर प्रश्न मात्रै उठाएको छैन, वैदेशिक अध्ययन अनुमति पत्रमा हुने किर्ते, ठगी र भ्रष्टाचारमा संलग्न कर्मचारीलाई मन्त्रालयकै संरक्षण प्राप्त भएको संशयसमेत पैदा गरेको छ ।’
नेविसंघले एनओसीबारे अनुसन्धान गर्न शिक्षा मन्त्रालयद्धारा गठित छानबिन समितिको कार्यप्रगाति विवरण तत्काल सार्वजनिक गरी दोषीलाई कडा कारबाही र आवश्यक सुधारका कार्यहरु कार्यान्वयन गर्न पनि माग गरेको छ ।
टिप्पणीहरू