अरुलाई गाली मात्र गर्ने कि आफू पनि सुध्रिने ?
अरुमाथि हिलो छ्यापेर आफू पानीमाथिको ओभानो बन्न खोज्ने जमात नेपाली समाजमा बढ्दै गएको छ । आफू केही गर्न नसक्ने र अरुलाई गाली गर्ने प्रवृत्ति समाजमा मौलाएको छ । भनिन्छ,‘सुधार पहिले आफैंबाट शुरु गर्नुपर्छ ।’ आफू नसुध्रिने,व्यवहारमा परिवर्तन नल्याउने तर अरुलाई गाली मात्रै गर्ने कार्यले देशलाई नकारात्मकतातर्फ धकेल्दै छ ।
मुलुकमा साक्षरता दर बढ्दै गएको छ । अक्षर चिन्नेहरुको संख्यामा बृद्धि भए पनि नैतिक शिक्षामा भने अवस्था खस्किँदो छ । नैतिक शिक्षाले व्यक्तिलाई असल व्यवहार र चरित्र सिकाउँछ । तर, जनतालाई नैतिक शिक्षा पढाउन र सिकाउन सरोकारवाला चुकेका छन् । हालै सगरमाथाको सफल आरोहण गरेकी नेपाल प्रहरीकी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पाले नैतिक शिक्षाको बारेमा दिएको अभिव्यक्ति निकै चर्चामा छ ।
एक पोडकास्टमा उनले जनता नैतिक रुपमा शिक्षित र सचेत हुन आवश्यक रहेको बताएकी छन् । आफूले पाउँदा एक दाना स्याऊ पनि नछोड्ने तर नेताले देश लुट्यो भनेर गाली गर्नु गलत भएको उनको ठहर छ । ‘त्यो अस्ति राजावादीको आन्दोलनमा तपाईँले देख्नुभयो नि जुन जनताले पायो भने एक दाना स्याऊ पनि नछोड्ने रैछ, एउटा बियर पनि नछोड्ने रैछ,बोकेर कुदिरा"को रैछ अनि नेताले चाँहि देश लुट्यो भनेर हुन्छ त ? तिमी पनि ठाउँमा पुग न त, गर न त, गाली गरेर मात्र हुन्छ त ?’,उनले भनेकी छन् ।
जनतामा नैतिक शिक्षाको निकै कमी भएको उनको जिकिर छ । त्यसैगरी, उनले प्रहरी जनता र नेता दुवैको नहुने स्पष्ट पारेकी छन् । प्रहरी राष्ट्रको हुने उनको भनाइ छ । अगाडि थप्छिन्,‘नैतिक शिक्षाको धेरै कमी भएजस्तो लाग्छ । नैतिक रुपमा शिक्षित भए हुन्थ्यो,जनता आफैं पनि सचेत भइदिए हुन्थ्यो अनि नेतालाई गाली गर्ने, प्रहरीले नेताको चाकडी गर्छ भन्ने ? प्रहरी नेताको पनि हुँदैन,तपाईँको पनि हुँदैन । प्रहरी सबै राष्ट्रको हुन्छ । तपाईँको सुरक्षा पनि प्रहरीले गर्ने हो, उहाँको पनि हामीले गर्ने हो ।’
उनको भनाइलाई धेरैले मन पराएका छन् । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘पहिला आफू सुध्रिनु जरुरी छ,बल्ल देश बन्छ ।’ युनिक दिनेशले नेपाली जनता शिक्षित भए पनि स्वार्थी रहेको बताएका छन् । ‘दिदी, मन जित्नु भो,सबैभन्दा जनता खराब छन् । नेपाली जनता शिक्षित छन् सबै तर सब आफ्नो मात्र स्वार्थमा हिँड्छन् अनि कसरी देश सुधार हुने ?’,उनको भनाइ छ ।
रविन कार्कीले भने उनको भनाइप्रति असन्तुष्टि जनाएका छन् । नेताले नै जनतालाई लुटिखाने अवस्थामा पुर्याएको उनको जिकिर छ । ‘जनतालाई नेता,कर्मचारी,प्रहरी, सरकार सबै मिली लुटेर कंगाल बनाएर लुटिखाने अवस्थामा पुर्याएका हुन् । आफ्नो महिनामा तलब आइहाल्छ । जसको घरमा ४–५ जनाको परिवार छ अनि सबै जना बेरोजगार छन्, त्यो घरको अवस्था कस्तो हो ? भोग्नेलाई मात्र थाहा हुन्छ’,उनले भनेका छन्,‘भरिएको पेटले इमान्दारिता सिकाउँछ । तर, खाली पेटले इमान्दारिताभन्दा पहिले भोक मेट्ने कसरी त्यो सिक्न खोज्छ ।
टिप्पणीहरू