केपी ओलीका पुराना साथीहरु एकै ठाउँ

केपी ओलीका पुराना साथीहरु एकै ठाउँ

एमालेभित्र केपी शर्मा ओलीको शैलीविरुद्ध १० भाइमध्ये माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, घनश्याम भुषाल, भीम रावललगायत एकपछि अर्को गर्दै उनको बाटोबाट पन्छिएपछि धेरैलाई लागेको थियो अब आफ्नै ढंगले पार्टी चल्नेछ र एमालेलाई एक्लै हाँक्ने गरी जिम्मा लगाएर बाहिर निस्केकोमा पूर्व सहकर्मीहरूलाई मनमनै धन्यवाद दिइनेछ । तर, माधव नेपालविरुद्ध अख्तियार लागेपछि झापा आन्दोलनका सहकर्मीहरूसमेत छक्क परेका छन् । 

झापा आन्दोलनमा केपी ओलीको समेत नेतृत्व गर्दै हिँडेका बयोवृद्ध एक कम्युनिष्ट नेताले गुनासो गरे, ‘आफ्नो असक्षमताले बढेको अलोकप्रियता छोप्नको लागि यसरी आफ्नै पूर्व सहकर्मीलाई सताउनु हुँदैन थियो । भ्रष्टाचार भएको हो भने छानबिन हुनु ठीकै हो । तर, त्यो पनि त सबैलाई समान ढंगले गरिनुपर्छ । कसैलाई उन्मुक्ति दिने र अर्कोलाई डाम्ने काम ठीक भएन ।’ भन्छन्, ‘भ्रष्टाचारविरोधी कदम चाल्नु जनताको नजरमा त राम्रो हो । तर, कुन उद्देश्य बोकेर कुन पात्रमाथि आक्रमण गरिँदैछ भन्ने कुरा महत्वपूर्ण हुन्छ । यस्ता छानबिन र गतिविधिमा स्वभाविक रूपमा निष्पक्षता देखिनुपर्छ ।’ 

आफ्ना पुराना साथीहरूलाई केपी ओलीले चिन्न छाडेपछि अघिल्लो साता एउटा टोली मोहनचन्द्र अधिकारीलाई भेट्न उनकै घरसम्म पुगेको थियो । यसरी भेट्न जानेहरूमा नरेश खरेल, घनेन्द्र बस्नेत, भिष्म धिमाल, राधाकृष्ण मैनाली र नारद भारद्वाजलगायत थिए । लगभग ८८ वर्षको उमेरमा एक्लो कोठामा दिन काटिरहेका छन्, मोहनचन्द्र अधिकारी । मुटुमा पेसमेकर जोडेका कारण धेरैजसो घरबाहिर निस्किँदैनन् । उमेर र स्वास्थ्य निकै कमजोर हुँदा पनि पुराना सहयात्रीहरूसँग त्यसबेलाका घटनाक्रमहरू ताजा गराउने उनीबारे टोलीमा संलग्न एक नेताले भने– त्यो उमेरमा पनि उत्तिकै तगडा हुनुहुँदो रहेछ । बेलाबेला नबोल्ने र गम्भीर बन्नेबाहेक अरु कुनै समस्या देखिएन । 

वाद, प्रतिवाद र संवादको माध्यमबाट समस्या हल गर्नुको साटो एक्लो वीर बन्ने र आफूसँग असहमतहरूलाई निमिट्यान्नै पार्ने प्रवृत्तिबाट पुराना नेताहरू दिक्क मान्दा रहेछन् । अल्पमतमा रहेका बेला शालिनतापूर्वक पार्टी काम, छलफल र विमर्शहरूमा सहभागी हुने अनि आफ्नो विचारलाई बहुमत बनाउन प्रतिक्षारत रहने सोच, व्यवहार र चिन्तन अहिलेका कम्युनिष्ट नेताहरूमा नदेखिएकोमा उनीहरू दुःख व्यक्त गर्छन् । अल्पमत हुनेबित्तिकै पार्टी नै फोड्ने तर भित्रै बसेर विचार विस्तार गर्ने काममा नेताहरूले आफूलाई समर्पित नगर्दा अहिले आन्दोलन कमजोर र रक्षात्मक बन्दै गएको उनीहरूको निश्कर्ष छ । 

पुराना बामपन्थी नेताहरू प्रधानमन्त्री ओलीलाई के सल्लाह दिन्छन् भने आफ्नो नियन्त्रणमा समाज छ, साथमा जनता छन् भन्ने भ्रम सधैँ पाल्नु हुँदैन । त्यस्तै भ्रमको सिकार हुँदा रोमानियाका कम्युनिष्ट राष्ट्रपति निकोलाई चाउचेस्की भीडबाट मारिन पुगे । उनलाई अघिल्लो दिनसम्म लागिरहेको थियो, जनता मेरो पक्षमा छन् । समाजले मलाई समर्थन गरिरहेको छ । बाह्य वातावरण एकै रातमा पनि कसरी बिग्रन सक्छ भन्ने कुराको त्यो उदाहरण बुझ्न जरुरी छ ।

त्यसो त कम्युनिष्टहरूको आफ्नै कमजोरीले गर्दा सोभियत सङ्घ विघटन हुन पुग्यो । त्यो आदर्श र विशालता यसरी खण्डित हुन पुग्यो कि आज सोभियत सङ्घको विरासत बोकेको रुस आफैबाट छुट्टिएको युक्रेनसँग युद्धमा हायलकायल बनिरहेको छ । उता युगोस्लाभियामा पनि त्यस्तै भएको थियो । जबसम्म मार्सल टिटो थिए, स्थिति नियन्त्रणमा थियो । तर जसै उनको अन्त्य भयो, देश ६ टुक्रामा विभाजित हुन पुग्यो । 

पुराना नेताहरू के कुरामा अचम्मित छन् भने के केपी शर्मा ओली त्यही महान र गर्व गर्न लायक झापा आन्दोलनका उत्तराधिकारी हुन् ? उनले शासन गरिरहेका बेला जनताले मिल्काइसकेको ‘राजा आऊ देश बचाऊको’ नारा लगाउन बाध्य बन्नुपछाडिको कारण खोतल्नु पर्दैन ? 

टिप्पणीहरू