तीन नेताले राजनीतिबाट सन्यास लिएपछि जनता खुशी हुने महामन्त्रीको विश्वास

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवासहित नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् ।
तीन शीर्ष नेताले राजनीतिबाट सन्यास लिएको घोषणा गरेको दिन नेपाली जनता पनि औधी खुशी हुने उनको भनाई छ ।
आज गृह जिल्ला झापा पुगेका शर्माले मेचीनगर-९ स्थित पशुपतिमा खानेपानी ट्यांकीको शिलान्यास गर्दै तीन शीर्ष नेतालाई अब पार्टीभित्र अभिभावकको भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।
‘अहिले मुलुकको राजनीतिलाई सही नेतृत्व दिने अभिभावक आवश्यक परेको छ, त्यो हामीले ०८४ अघि नै तय गर्नुपर्छ, यसको लागि ०८३ साल सुखद हुनसक्छ’, उनले भने, ‘आदरणीय तीन नेता (ओली, देउवा र प्रचण्ड)ले चुनावअघि नै अभिभावकको भूमिका रहने निर्णय गर्नुभयो भने वा हामीले त्यो वातावरण बनायौ भने नागरिकमा नयाँ आशा जाग्नेछ ।’
महामन्त्री शर्माले पार्टी सभापति देउवा आगामी महाधिवेशनबाट बिदा हुने भए पनि एमाले र माओवादीको हकमा त्यो सम्भावना नदेखिएको विश्लेषण समेत गरे । ‘सभापतिज्यू सायद महाधिवेशनबाट अभिभावककै भूमिका रहनुहुन्छ, तर अरु ठूला दलमा आन्तरिक परिदृश्यले त्यो कठिन छ, यसमा युवा पुस्ता नेताहरुले नै हो वातावरण बनाउने’, उनले थपे ।
टिप्पणीहरू