रेष्टुरेण्टबाट रंगेहात समातिएका खरिदारसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित समातिएका मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदार हरिचन्द्र पाण्डे भ्रष्टाचारमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीसहित चार जनाविरुद्ध मुद्दा चलाएको हो ।
मुद्दा दर्ता हुनेमा अर्का खरिदार रतनबहादुर जिसी, लेखापढी व्यवसायी शान्ति पुन र तिवारी रेष्टुरेण्ट सञ्चालक घनश्याम तिवारी छन् । आयोगको नेपालगञ्जबाट खटिएको टोलीले गत जेठ ९ गते कोहलपुर नगरपालिका–११, स्थित तिवारी रेष्टुरेण्टबाट खरिदार पाण्डे, पुन र तिवारीलाई २० हजार रुपैयाँ घुससहित समातेको थियो ।
पाण्डेले बिचौलियामार्फत सेवाग्राहीसँग घुस लिएर तिवारीलाई राख्न दिएका थिए । अख्तियारले उनीहरुलाई रकमसहित रंगेहात पक्रेको हो । अनुसन्धानको क्रममा अर्का खरिदार जिसीको संलग्नता पनि पुष्टि भएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार उनीहरुले आपसी मिलेमतोमा जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनि घुस लिएका हुन् । अख्तियारद्धारा दायर अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम २० हजार रुपैयाँ बिगो कायम गर्दै उनीहरुलाई कैद र जरिवाना हुन मागदाबी गरिएको छ ।
टिप्पणीहरू