पासाङलाई फर्काएर के खेल्न खोज्दैछन् प्रचण्ड ?

दुई कार्यकाल मुलुकको सर्वोच्च पद उपराष्ट्रपति रहेका नन्दबहादुर पुन ‘पासाङ’ केही साताअगाडि माओवादी अध्यक्ष प्रचण्डसँगै मर्निङवाकमा दौडिरहेको देखिए । सक्रिय राजनीतिमा फर्किएसँगै मध्यपहाडी लोकमार्गकेन्द्रित जनजागरण अभियानमा होमिएका उनी अब सम्माननीय पूर्व राष्ट्रपति हैन कमरेड पासाङका नामले चिनिन थालेका छन् । दुई वर्षअघि राजकीय जिम्मेवारीबाट बाहिरिएपछि लामो समय निष्क्रिय रहँदै आएका उनले दलीय राजनीतिमा पुनरागमन गरेसँगै एकसाथ दुई वटा बहस छेडिएको छ ।
राष्ट्रपति, उपराष्ट्रपति भैसकेको व्यक्ति फेरि दलीय राजनीतिमा फर्किनु संवैधानिक र नैतिक हिसाबले उचित हो कि होइन ? पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत एमालेमा फर्किने तयारीमा रहेको चर्चा भैरहँदा देशकै सम्मानित पदमा पुगेर साझा व्यक्तित्व बनिसकेकाहरू दलीय राजनीतिमा लाग्दा पदीय गरिमा घट्ने त होइन ? पासाङ माओवादीमा फर्किएपछि यस्ता प्रश्न अझै पेचिलो ढंगले उठिरहेको छ । अर्कोतिर पूर्व उपराष्ट्रपतिको पार्टीमा पुनरागमनले माओवादीको आन्तरिक राजनीति पनि तरंगित हुँदै छ । यसले माओवादीको आन्तरिक शक्ति सन्तुलन खल्बलिने अनुमान भैरहेका छन् ।
०७२ सालदेखि ०७९ चैतसम्म पासाङ उपराष्ट्रपति थिए । तत्कालीन जनमुक्ति सेनाको कमाण्डर उनलाई तुलनात्मक रूपमा इमान्दार नेताका रूपमा हेरिन्थ्यो । जनयुद्धका दौरान जनसेना प्रमुखको भूमिकामा पनि रहे । शान्ति प्रक्रियामा आएपछि अन्य नेता र कमाण्डरले एकपछि अर्को लाभको पद हात पार्दा अपवाद बनेका उनी कम विवादित नेतामध्येमा पर्छन् । उपराष्ट्रपति निर्वाचित भएसँगै स्वतः पार्टीबाट अलग भएका उनको चाहनामै राजनीतिमा फर्काइएको भनिएको छ । माओवादी नेताहरूका अनुसार करिब एक वर्षदेखि राजनीतिमा फर्किने इच्छा राख्दै आएका पासाङले प्रचण्डसँग ठोस भूमिका मागिरहेका थिए । गत पुसमा बसेको केन्द्रीय समिति बैठकमा प्रचण्डसँगै कुम जोडेर बसेका उनी त्यसअघि देखि नै पदाधिकारी बैठकमा सहभागी हुँदै आए । पछिल्लो कार्य विभाजनमा उत्पादन ब्युरो इञ्चार्जको जिम्मेवारी पाएका उनलाई अन्ततः चैत १९ गते बसेको पदाधिकारी बैठकले उपाध्यक्षमा लैजाने निर्णय गरेको हो ।
जनार्दनको प्रभाव रोक्न प्रचण्डको जोड
पासाङलाई पार्टीमा फर्काउन प्रचण्डको विशेष जोड रहेको माओवादी केन्द्रका नेताहरू बताउँछन् । पार्टी र जनवर्गीय संगठनमा प्रभाव बढाइरहेका रुकुमका जनार्दन शर्मालाई ‘साइज’ मा राख्न रोल्पाका पासाङलाई अघि सारेको ठान्नेहरू पनि माओवादीमै छन् । शर्मा निकटहरूले भने यसलाई कृत्रिम अन्तविरोध सृजना गरेर नेताहरूलाई लडाउने प्रचण्ड प्रवृत्तिकै अर्को उपक्रमका रूपमा अर्थ लगाएको पाइन्छ ।
वामदेव गौतम र केपी ओलीलाई भिडाएर माधव नेपालले १५ वर्ष एमालेमा अविच्छिन्न नेतृत्व गरेजस्तै प्रचण्डमाथि पनि जनयुद्ध हुँदै शान्तिकालको यो अवधिमा सहकर्मीबीच कृत्रिम अन्तरविरोध सिर्जना गर्ने अनि त्यसैमा खेलेर आफू निरन्तर नेतृत्वमा स्थापित हुने उपयोगितावादको राजनीति गरेको आरोप लाग्दै आएको छ । जनयुद्धका बेला मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईबीचको वैचारिक मतभेद उत्कर्षमा पुग्दा उनीहरू अध्यक्षबाट पालैपालो प्रयोग भएको भन्ने गरिन्छ । दोस्रो र तेस्रो वरीयताका यी दुवै नेता अहिले प्रचण्डको साथमा छैनन् । कुनै समय ‘म अध्यक्ष कमरेड प्रचण्डमा बिलय भएँ’ भन्ने रामबहादुर थापाले पार्टीमा टिक्न नदिइएको आरोप लगाएर एमाले रोज्न पुगे । जनयुद्धताका प्रचण्डको उत्तराधिकारीका रूपमा चर्चा गरिएका नेत्रविक्रम चन्द विप्लव पनि अर्कै कित्तामा छन् । देव गुरुङलाई महासचिव बनाउनकै लागि वर्षमान पुन र जनार्दनलाई भिडाएको चर्चा माओवादी वृत्तमा अहिले पनि हुने गर्छ । त्यसैको निरन्तरतास्वरुप यसपटक शर्मालाई ब्यालेन्स गर्न प्रचण्डले ‘पासाङ कार्ड’ खेलेको अनुमान गरिएको छ ।
पासाङलाई एकैचोटि उपाध्यक्ष बनाउँदा अमिक शेरचनलाई भने जिम्मेवारीमा फर्काइएको छैन । प्रदेश प्रमुख हुनुअघि स्थायी समिति सदस्य रहेका अमिकले पनि राजनीतिमा फर्किने रहर गरेका थिए । तर, सँगै स्थायी कमिटीमा रहेका पासाङले उपाध्यक्षको जिम्मेवारी पाउँदा उनका हकमा भने माओवादीले कुनै निर्णय नगर्नुले पनि शंका गर्नेहरूलाई ठाउँँ दिएको छ ।
ओलीमाथि दबाब
लोकतन्त्रमा सबैलाई राजनीतिक स्वतन्त्रता हुन्छ । संविधानले राजनीतिक गतिविधिमा सक्रिय हुने अधिकार हरेकलाई दिएको छ । पूर्व राष्ट्राध्यक्षलाई पनि राजनीतिमा सक्रिय हुन संवैधानिक बन्देज छैन । नैतिक दायित्व र पदीय गरिमा कायम गर्ने कुरा स्वयं व्यक्तिमा निर्भर रहने विषय हो । पूर्वराष्ट्रपति भण्डारी र उपराष्ट्रपति पासाङले सुरक्षा र सहयोगीहरूको बासका निम्ति घरभाडाबाहेक सरकारी सुविधा नलिएर राजनीतिक पुनरागमनको ढोका शुरुबाटै खुला राखेका थिए । यो डेढ वर्ष उनीहरूले राजनीतिक कार्यक्रममा समेत उपस्थिति जनाउँदै आए । राष्ट्रपति चुनिनुअघि एमाले उपाध्यक्ष रहेकी भण्डारीले गत वर्ष वैशाखमा सदस्यता नवीकरण गराएको चर्चा थियो । त्यसअघि नै मदन भण्डारी फाउण्डेशनले आयोजना गरेका कार्यक्रममा सहभागिता जनाउँदै आएकी उनी पछिल्लो समय अनेमसंघलगायत एमालेका भ्रातृ संगठनको कार्यक्रममा उपस्थित भइरहेकी छन् ।
आन्तरिक भेटघाटमा पनि भण्डारीले राजनीतिमा फर्कनसक्ने सन्देश दिने गरेको निकटहरूले बताउने गरेका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीको ‘स्वागत’ को पर्खाइले रोकिएको चर्चा भैरहँदा पूर्व उपराष्ट्रपतिको राजनीतिक पुनरागमनले उनलाई पनि सजिलो बनाइदिएको छ । पासाङलाई पेरिसडाँडामा स्वागत गरेर प्रचण्डले ओलीमाथि दबाब बढाएको कतिपयको विश्लेषण छ । ओली र प्रचण्ड एकले अर्काको नेतृत्व स्वीकार नगर्ने भएकाले विद्यालाई मियो बनाएर ०८४ को चुनावअघि वामपन्थी मिलाउने प्रयासस्वरूप भित्रभित्र छलफल भैरहेको र पूर्वउपराष्ट्रपतिको पुनरागमनले त्यसलाई बल पु¥याएको माओवादी र एमालेका एकथरी नेता दावी गर्छन् ।
टिप्पणीहरू