फोनमा बोल्ने नै नक्कली मन्त्री र म्याडम

‘थाङ्नामा सुताउने नि तरिका हुन्छ नि, त्यसले सबै बिगार्यो ।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गेटमै भेला भएका एक हुल कर्मचारी यसरी तथानाम गाली गर्दै थिए आफ्नै माननीयलाई । कांग्रेसी कर्मचारी युनियनको विभागीय कमिटीका कर्मचारीले हो यसरी सभापति रामहरि खतिवडालाई धारेहात लगाएको ।
राज्यव्यवस्था तथा सुशासन समितिले गत २ जेठमा संघीय निजामती सेवा विधेयक पारित गरिसकेको छ । सोही विद्येयकमा रहेका कतिपय प्रावधानले तल्ला तहका कर्मचारीको वृत्ति विकासको ढोका बन्द हुने भएका कारण केही संशोधन गर्न सकिन्छ भन्ने ध्येयका साथ । युनियनको विभागीय टोली गत बुधबार सभापति खतिवडाको कार्यकक्षमा पुगेको थियो । यसअघि कर्मचारीको सल्लाहअनुसारै संघीय निजामती विधेयक ल्याइने बताउँदै आएका खतिवडासँग आशावादी भएरै भेट्न पुगेका थिए उनीहरू ।
मध्याह्न खतिवडाले विभागीय कार्यसमितिका कर्मचारीको गुनासो सुनेलगत्तै एक जना सहसचिवलाई डायल गरे लाउड स्पिकरमा राखेर । उताबाट उनले रामहरिको कुरा सुनिसकेपछि आफूसँगै मन्त्री राजकुमार गुप्ता रहेको कारण बाँकी कुरा उनीसँगै गर्न भनिन् । मन्त्रीले रामहरिले भनेझैं गरिने वचन दिए । त्यहाँबाट आशावादी भएर बाहिरिएका कर्मचारी सय मीटर पर रहेको सामान्य प्रशासनमा पुग्दा खंग्रङ्ग भए । नेमप्लेटमा सहसचिव बाहिर लेखिएको देखेपछि सोधखोज गर्दा थाहा लाग्यो– आचार्य थरकी उनी केही दिनअगाडि मात्र जापान पुगेकी रहिछन्, एउटा कार्यक्रमको सिलसिलामा । तला माथि उक्लिएर मन्त्रीको बारेमा सोधखोज गरे । मन्त्री विराटनगरमा रहेको चाल पाएपछि रामहरिले आफूहरूमाथि गरेको व्यवहार सम्झिएर कर्मचारी मुर्मुरिएका छन् । कर्मचारीहरु खोज्दैछन्, यसरी रामहरिको मोबाइलमा मन्त्री र सहसचिव बनेर बोल्ने महिला र पुरुषचाहिँ को हुन् ? लगत्तै प्रतिवाद गर्ने भन्दै कर्मचारीहरू कार्यकक्षमा पुग्दा सभापति गायब ।
उसो त खतिवडाले प्रतिनिधिसभालाई समेत पंगु बनाएको अर्काे घटनाक्रम पनि सार्वजनिक भएको छ । १४ जेठमै प्रतिनिधिसभामा संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेश गर्ने कार्यतालिका थियो । कुलिङ्ग पिरियडलगायत प्रावधान नराख्न मुख्यसचिव, सचिवहरूको लबिङ्गपछि प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाले समेत खतिवडालाई दबाब दिँदै आएका थिए ।
सोही दबाबका कारण हो वा अरु, बुझ्न सकिएको छैन तर समितिबाट पारित भएर सचिव सुरजकुमार दुरा र रामहरि खतिवडाको हस्ताक्षर भएको कपीचाहिँ आफ्नो र्याकमा राखी हस्ताक्षर नभएको प्रिन्ट कपी संसदमा पठाइएको खुलेको छ । प्रतिवेदनमा सभापतिको हस्ताक्षर नभएका कारण फिर्ता पठाइएको छ ।
टिप्पणीहरू