न्यायाधीशको समर्थनमा निजामती कर्मचारी

पर्सामा न्यायाधीशमाथि भएको दुर्व्यवहारप्रति निजामती कर्मचारीहरुले आपत्ति जनाएका छन् । कर्मचारीसम्बद्ध ट्रेड युनियन ‘नेपाल निजामती कर्मचारी संगठन’ र ‘नेपाल निजामती कर्मचारी युनियन’ ले आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उक्त गतिविधिमा संलग्नमाथि हदैसम्मको कारबाही गर्न माग गरेको हो ।
रौतहट नरसंहारका अभियुक्त नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिएको भन्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा.खुशीप्रसाद थारुमाथि हिजो कालोमोसो छ्यापिएको थियो ।
इजलासमा रहेर न्याय सम्पादन गरिरहेको अवस्थामा नेकपा बहुमतका कार्यकर्ताहरुले ‘जनताको कर खाएर जनताकै विरुद्धमा फैसला गर्न पाइँदैन’ भन्दै उनीमाथि मोसो छर्किएका हुन । लगत्तै प्रहरीले तीन जनालाई समातेको थियो ।
न्यायाधीशले गरेको फैसला चित्त नबुझे माथिल्लो तहबाट परीक्षण हुने संवैधानिक एवम् कानूनी व्यवस्था हुँदाहुँदै कालोमोसोजस्तो अमर्यादित व्यवहार प्रदर्शन गर्नु दुर्भाग्यपूर्ण र अशोभनीय भएको ट्रेड युनियनहरुको ठहर छ ।
‘यस घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सो घटनामा संलग्न दोषीलाई कानूनको दायरामा ल्याई हदैसम्मको कारबाही गर्न जोडदार रुपमा माग गर्दछौं । साथै, आगामी दिनहरुमा यस्ता अवाञ्छित क्रियाकलापहरु नदोहोरिऊन भनी खबरदारी गर्दै भयरहित तवरले न्याय सम्पादन गर्न पाउने वातावरण सिर्जना गरिदिन सरोकारवाला सबैसँग हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू