उता राहुल गान्धीले उचाले, यता राप्रपाले उराल्यो

उता राहुल गान्धीले उचाले, यता राप्रपाले उराल्यो

जेठमा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरू भेलालाई संबोधन गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौँ नियन्त्रणमा लिन निर्देशन दिए । ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँमा नेकपा (एमाले)को नियन्त्रण हुनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘कसरी कुन संस्था अगाडि लाग्छ, त्यसलाई छाडिदिनुस् । आन्दोलनमा प्रोटोकल सोर्टकोलका कुरा हुँदैन । सबै एकैतिर अघि बढ्ने हो ।’

काठमाडौँ नियन्त्रणको नीति लिएको नेकपा (एमाले)ले सबै पदाधिकारीलाई परिभाषित जिम्मेवारीसहित कमाण्डर पनि तोक्यो । काठमाडौँको लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइयो । जनसंगठनहरूको संयोजन गर्ने जिम्मा सचिव गोकर्ण विष्टलाई दिइयो । विष्टलाई सबै जनसंगठनका इञ्चार्जहरूले सघाउने भनियो । सुदूरपश्चिम र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट, बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदीप ज्ञवालीले पाए । 

लुम्बिनी र गण्डकीका सबै जिल्ला समन्वयको जिम्मा सचिव पद्मा अर्याललाई तोकियो । कोशी प्रदेशको समन्वय उपाध्यक्ष रामबहादुर थापाले गर्ने भए । मधेस प्रदेशका आठवटै जिल्लाका सम्पर्क मञ्चहरूको समन्वय उपाध्यक्ष युवराज ज्ञवाली, उपत्यकाबाट ठूलो संख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको जिम्मा उपाध्यक्षहरू क्रमशः अष्टलक्ष्मी शाक्य र गुरु बराललाई तोकियो । उपत्यकाबाहेक बागमती प्रदेशका १० वटा जिल्लाको काम उपाध्यक्ष सुरेन्द्र पाण्डेले हेर्ने भनियो । स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई जिम्मेवारी दिइयो । उपत्यका विशेषको संयोजन सचिव योगेश भट्टराईले पाए । सबै विभागको संयोजन सचिव छविलाल विश्वकर्माले गर्ने भए ।

यसरी व्यापक तयारीसाथ ओलीकै भाषामा एमाले १५ जेठमा काठमाडौँ नियन्त्रणको तयारीमा लागेको थियो । तर त्यस दिनको प्रदर्शन राजावादीको भन्दा फितलो भयो । ड्रोनबाट खिचिएका तस्बिरहरू हेरेपछि एमालेका कार्यकर्ता नै निराश भए । प्रहरीको आन्तरिक रिपोर्टअनुसार १५ जेठको प्रदर्शनमा करिब ४ हजार सडकमा आएका थिए । 

प्रहरीको त्यही सूचना पाएका माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेले बेइज्जत गरेको बताए । १८ जेठमा योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई संबोधन गर्दै भने, ‘यिनीहरूले गफ गरे काठमाडौँ कब्जा, लाजै मर्नु । तर देश दुनियाँमा यति बेइज्जत भयो एमाले भन्ने पार्र्टीको । यस्ता छन्, यिनीहरूलाई केही मतलबको कुरा छैन । यो जिम्मेवारी लिने हामीले नै हो ।’ 

१५ जेठमा काठमाडौँ नियन्त्रणमा लिन ४ हजार कार्यकर्ता मात्रै आएपछि १८ जेठदेखि एमालेले झोले अभियान चलाएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालको प्रस्ताव र प्रधानमन्त्री ओलीको सहमतिपछि अभियान शुरु गरिएको हो । प्रधानमन्त्री कार्यालय बालुवाटारमै यो अभियानको सम्पूर्ण डिजाइन तयार पारिएको थियो । सबै नेता र कार्यकर्तालाई सम्बन्धित कमिटीका प्रमुखहरूले अनिवार्य रूपमा सामाजिक सञ्जालमा पोष्ट गर्न निर्देशन दिएका थिए ।

सन २०१९ मा भारतमा कंग्रेस आईका नेता राहुल गान्धीले कुनै सन्दर्भमा ‘चौकीदार नै चोर बने’ भनी टिप्पणी गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टीको आलोचना गर्ने राहुल गान्धीको यही टिप्पणीविरुद्ध मोदीले ‘मैं भी चौकीदार’ भन्ने नारासहित अभियान चलाए । त्यसबेला मोदीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलको नाम पनि परिवर्तन गरेर ‘चौकीदार नरेन्द्र मोदी’ राखे । त्यसपछि भाजपाका नेताहरूले आफ्नो ट्वीटरको डिस्प्ले नामका अघिल्तिर चौकीदार थप्न थाले । 

ठीक यही अभियान कपी गरेर बालुवाटारले झोले अभियान शुरु गरेको छ । नेपाल बुद्धिजीवी परिषद्को ११औं महाधिवेशनमा ओलीले म ‘झोले’ भन्दै बोलेका थिए । त्यही बोलीलाई बालुवाटारले ओलीको विचारका रूपमा प्रचार गरेको हो । ‘मलाई अलिकति पनि अप्ठेरो लाग्दैन, म जनताको झोला बोकेर हिंड्ने मान्छे हुँ । जनताका हितहरूको झोला बोक्ने, परिवर्तनको झण्डा उठाउने झोले हुँ, के भयो त झोले बन्दा ?’, ओलीले भनेका थिए ।

सामाजिक सञ्जालमा रक्षात्मक बनिरहेका बेला एमालेलाई आक्रामक बनाउन बालुवाटारले थालेको यो अभियानमा अधिकांश एमाले पदाधिकारी र नेताहरू नै सहभागी छैनन् । बालुवाटारमा नै डिजाइन गरेर अनिवार्य रूपमा पोष्ट गर्न निर्देशन दिएपनि उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, सचिव गोकर्ण विष्ट, रघुवीर महासेठ, लेखराज भट्टले पोष्ट गरेका छैनन् । सचिव योगेश भट्टराईले झोला बोकेको तस्बिर राखेर कविताको शैलीमा केही लेखेपनि बालुवाटारले पठाएको डिजाइन भने पोष्ट गरेनन् । इलामका धिरेन चेम्जोङ, प्रदीप भट्टराईलगायत कैयौं कार्यकर्ता छन् जसले झोले अभियानविरुद्ध खरो टिप्पणी गरेका छन् । अधिकांश सांसदले पनि झोले अभियानमा साथ नदिएपछि प्रमुख सचेतक महेश बर्तौलाले सबैलाई पोष्ट गर्न भनेको एक सांसदले बताए ।
 

टिप्पणीहरू