रास्वपाकोे कुरामा माओवादी लतारिँदै गयो

पटक–पटक सांसद, मन्त्री हुँदै बागमतीको मुख्यमन्त्रीसम्म भइसकेका राजेन्द्र पाण्डे विद्यार्थी आन्दोलनबाट राजनीतिमा जोडिनुअगाडि धादिङ, गजुरीको आदर्श माविमा पढाउँथे । ०३६, २०३८ र २०४२ सालमा शिक्षक आन्दोलनको नेतृत्वसमेत गरे । पछि पूर्णकालीन राजनीतिमा होमिए । नेकपा मालेको जिल्ला सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति, ०५० मा अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य भएका उनी २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भए । यही अवधिमा स्थानीय विकासमन्त्री रहे । एक कार्यकाल बाग्मती प्रदेशको मुख्यमन्त्री रहेका उनी पार्टी विघटनपछि माधव नेपालतिर खुले र ०७९ मा एकीकृत समाजवादीबाट निर्वाचन लडेर विजयी पनि भए । एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष र संसदीय दलका उपनेता पाण्डे माधवपछिको वरीयतामा पहिलो उपाध्यक्ष हुन् । संयोग, दाजु नेकपा एसको उपाध्यक्ष छन्, भाइ सुरेन्द्र नेकपा एमालेको उपाध्यक्ष छन् ।
– हरि गजुरेल
० भिजिट भिसा प्रकरणमा रास्वपालगायत दलले गृहमन्त्रीको राजीनामालाई ‘बटमलाइन’ बनाइरहँदा नेकपा एकीकृत समाजवादीले संसदमा गृहमन्त्रीले बोल्न पाउनुपर्ने तर्क गरिरहेको छ । प्रतिपक्षी दलबीच कुरा मिल्न छाडेको हो ?
– जेठ १३ गते बिहानको छलफलमा मैले भनें, ‘गृहमन्त्रीले ठीक गरेका छन्, चोखो छन् भन्ने होइन । यो छानबिनको विषय हो तर कुनै पनि मन्त्रीमाथि संसदमा प्रश्न उठेपछि उसले जवाफ संसदमै ल्याउनुपर्छ । मन्त्रीको जवाफै चाहिँदैन, स्वतः राजीनामा दिनुपर्छ भन्ने तर्क गर्दै जाने हो, यसमा अवरोध सृजना गर्दै जाने हो भने कसैका विषयमा एक–एक जना सांसदले इस्यु उठाउँदै राजीनामा मागे भइहाल्यो । यस्तो संसदीय अभ्यासले भोलि कहाँ पु¥याउँछ ?’ हिजो रवि लामिछाने मन्त्री हुँदा यिनै रमेश लेखकहरू नै अग्रपंक्तिमा थिए, उनलाई संसदमा बोल्नै नदिने । त्यही हर्कत गरेका हुन् रास्वपाका साथीहरूले । उहाँहरूलाई लाग्यो– बदला लिने यही सबैभन्दा उत्तम मौका हो । १३ गते सभामुखले रास्वपा र माओवादीलाई बोल्न दिनुभयो । म पार्टी संसदीय दलको उपनेता, नेता बिमारी हुनुहुन्छ । त्यही कारण आफ्नो भनाइ राख्नका लागि हात उठाइइरहेको छु तर समय दिइएन । उल्टै कांग्रेस पार्टीका सचेतक श्याम घिमिरेलाई बोल्न दिएपछि झनै वातावरण बिग्रियो । हाउसमा अवरोध शुरु भयो । रास्वपाले गृहमन्त्रीको राजीनामा बटमलाइन भनेकोमा माओवादी लतारिँदै गयो । पहिला आफ्नो पार्टीमा छलफल गरेरे निर्णय अरुतिर लाद्न हुँदैन । मन्त्रीको कुरा चित्त नबुझेपछि बल्ल संसदमा खेल्ने भूमिका निर्धारण हुन्छ ।
० पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण सकेर फर्कनुभएको छ । कतिपयले अब कम्युनिष्ट पार्टीहरु ध्रुवीकरणको दिशातिर जाने सम्भावना देख्दैछन् । तपाईंलाई के लाग्छ ?
– पूर्वराष्ट्रपतिले एकपटक मौका दिने हो भने पार्टी सम्हाल्न सक्छु भनिरहनुभएको वा अर्काेथरी साथीले वाम आन्दोलनलाई एकताबद्ध गर्न उहाँलाई नेतृत्वमा ल्याउन पाए हुन्थ्यो भन्दैछन् तर मलाई लाग्छ अहिले सतहमा देखिएजस्तो ओली र विद्या भण्डारीबीच कुनै दरार छैन । यो राजनीतिलाई मूर्ख बनाउनका लागि रचिएको चालबाजी मात्र हो । यी सबै काम उहाँहरूकै भित्री सल्लाहमा भइरहेको छ । आफ्नो पक्तिबाट कोही नउम्कियोस् भन्नका लागि दुई वटा खेमा बनाएर रोलप्ले गरिँदैछ ।
० तपाईं यतिबिघ्न नकारात्मक हुनुपर्ने कारणचाहिँ के हो नि ?
– म उहाँप्रति नकारात्मक छैन तर मदन भण्डारीसँग जोडिएको र विद्यार्थी नेतृत्वको पृष्ठभूमि भएको नाताले पार्टीले सम्मान ग¥यो । महाधिवेशनबाट अनुमोदित भएर उपाध्यक्ष चुनिनुभयो ।
० तत्काल लेफ्ट पार्टीहरू मिल्ने सम्भावना छैन त उसोभए ?
– कतै–कतै प्रचण्डजीले एकीकृत समाजवादी र हाम्रो पार्टीबीच धेरै कुरा मिलिसक्यो भन्ने ढंगबाट प्रचार गरेको देखिन्छ । एमालेका साथीहरूले समेत हाम्रा कतिपय कार्यकर्तालाई सदस्य बनाउने, अधिवेशन, संगठन निर्माणलगायत दुःख किन गर्ने ? पछि मूल घरमै फर्कने हो भनेर भ्रममा पारिरहनुभएको देखिन्छ तर तत्काल मिल्ने सम्भावना छैन । दशौं महाधिवेशनबाट नेपाली विशेषताको समाजवादी कार्यक्रम लागू गर्नुपर्छ भनेर पास गरेका छौँ । ०६२ को जनआन्दोलनपछिको पुँजीवादी क्रान्ति, गणतन्त्र ल्याइसक्यौं । जबजको कार्यभार पूरा भयो । हामी समाजवादतिर जानुपर्छ भनिरहेका छौँ तर यो कार्यक्रमको पक्षमा एमाले हुँदैन । पहिला कार्यक्रमै मिलेन । अहिले पनि एमालेको उच्च नेतृत्वमा अहंकार, घमण्ड छ । उहाँहरूलाई लाग्छ हामी ठूलो पार्टी । त्यही अहंकार बोक्दाबोक्दै कयौं नेता, कार्यकर्ताले पार्टी छोड्ने, निस्क्रिय बस्ने, सदस्यता नवीकरण नगर्ने जस्ता घटना देखिरहेका छौँ । जिल्ला–जिल्लामा मारपिट चलिरहेको छ । वर्गशत्रुझैं व्यवहार चलिरहेको छ । हाम्रो मूल नेतृत्वलाई निषेध गर्ने र अरुलाई एक्लाएक्लै चुँडेर लैजाने कोशिस जारी छ । त्यहाँ गएकाहरूकै बिजोग छ । राम्रोसँग सास फेर्नसमेत पाएका छैनन् । निरंकुश शासकको जस्तो बोली र व्यवहार छ । सो शैलीविरुद्ध चुँक्क बोल्नसक्ने हिम्मत कसैसँग छैन ।
० यसरी टुक्रा–टुक्रा भएरै ०८४ को निर्वाचनमा जाँदा कुन पोजिसन होला कम्युनिष्ट पार्टीहरूको ?
– ०८४ को निर्वाचनमा धेरै नयाँ कुरा हुन सक्छन् । ठूला भनिएका पार्टीको सिट घट्न सक्छ । त्यो बेला कांग्रेस र एमाले जनताको दैलोमा के भनेर मत माग्न जान्छन् ? हिजो कांग्रेस एमालेले सबै बिगारेको भनेर जनतामाझ जान्थ्यो । एमालेले त्यसै गथ्र्यो । आज दुवैको घाँटी जोडिएको छ । त्यस कारण साना र क्षेत्रीय पार्टीहरूले यी दुवै ठूला पार्टीको अपराध सार्वजनिक गरेर जनतामाझ जाँदा अहिलेको भन्दा ठूलो आकारमा उदय हुन सक्छन् । अहिलेको कुशासन, भ्रष्टाचारजन्य, पक्षपातपूर्ण व्यवहार, राष्ट्रिय अर्थतन्त्रको प्रगति हुन नसकेको, जथाभावी नियुक्तिसहित सरकारका रवैयालाई देखाएर प्रतिपक्षी पार्टीहरूले मत बटुल्न सक्छन् । कुनै पनि पार्टीको बहुमत आउँदैन । हामी एक्लै नै देशभरि पार्टीलाई कसरी मजबुत बनाउन सक्छौँ भनेर मिहिनेत गरिरहेका छौँ । ६ प्रदेशको अधिवेशन सक्यौं । ७७ मध्ये ४० जिल्लाका अधिवेशन सम्पन्न भएका छन् । जनवर्गीय संगठनको राष्ट्रिय सम्मेलन गर्दै संगठित, पुनर्गठित गरिरहेका छौँ । प्रशिक्षण चलाएका छौँ । आशालाग्दो स्थिति देखेको छु ।
० केपी ओली र देउवाको रसायनचाहिँ कसरी मिल्यो होला ?
– प्रचण्डजीको अवसरवादी चरित्रले । उहाँ आफ्नो फाइदाका लागि जहाँ पनि जम्प गर्न सक्ने ! कांग्रेस–माओवादी–समाजवादीको सरकार राम्रोसँग चलिरहेको थियो । उहाँ एमालेसँग वार्ता गर्न जानुभयो । एउटै उद्देश्य थियो– राष्ट्रिय सभाको अध्यक्ष हात पार्नु । सफलता पनि प्राप्त गर्नुभयो । त्यही हर्कतका कारण कांग्रेसलाई लाग्यो कि यिनीसँग सहयात्रा सम्भव छैन । भुटानी शरणार्थी, गिरिबन्धु, गोकर्ण सफारीको जग्गा लिज, बालमन्दिर जग्गा प्रकरणका श्रृखंलामा दुईवटै पार्टी कुनै न कुनै रुपमा मुछिँदै गए । अहिले अस्थायी रुपमा सुतुरमुर्गले बालुवामा टाउको घुसारेर ज्यान जोगाएझैं अवस्था छ ।
० तपाईं पटक–पटक माननीय, मन्त्री, मुख्यमन्त्री हुँदै आज पार्टीको उच्च पदमा हुनुहुन्छ । नेपालको विकासको अवरोधकचाहिँ के हो जस्तो लाग्छ ?
– नेपाल सम्भावनै सम्भावना भएको देश हो तर कस्तुरीले आफ्नै विनाको चाल नपाएझैं भयो हाम्रो हाल । तीन खर्बको इन्धन आयात गर्दछौँ । त्योभन्दा धेरै विद्युत खपत गरेर नाफा लिन सक्थ्यौं । अहिलेको बजेटले विद्युत उत्पादनमा बाधा ल्यायो भनेर इप्पानले वक्तव्य नै दिएको छ । हाम्रो देशको हिमाली स्प्रिङ वाटर मरुभूमि, खाडी मुलुकमा पठाउन सकिन्छ । बुद्धि पु¥याउने हो भने अरबलाई हिमाली भेगको स्वच्छ पानी पठाउन र उताबाट इन्धन ल्याउन सकिन्छ अर्थात साँटासाँटै गर्न सकिन्छ । तर, यी र यस्तो कुरामा हाम्रो ख्याल गइरहेको छैन । वर्षको पाँच लाख बढीले रोजगारी पाउनसक्ने वन, पैदावार, जडीबुटी, काठतिर खै ध्यान गएको ? त्यो काम गर्न सके हाम्रा युवाले विदेश जानै पर्दैनथ्यो । संघीय व्यवस्था आएपछि वन प्रदेशको भयो तर त्यो वनमा सुकेका काठहरू बेच्ने, आम्दानीमा बाँध्ने काम अहिलेसम्म भएको छैन । अहिले दुई प्रदेशमा यो काम अगाडि बढेको छ । हस्तकलाको हिसाबले नेपाल प्रख्यात छ । मूर्तिकला, ताम्रकला, प्रस्तर कलामा अन्य मुलुकभन्दा धेरै माथि छ । सीप छ तर प्रवद्र्धन छैन । यो क्षेत्रमा झण्डै ९ लाखले रोजगारी पाएका छन् । सरकार वा राज्यले प्रबद्र्धन गर्ने हो भने ४० लाखलाई रोजगारी दिन सकिन्छ । यसपटक नीतिमा आएको छ, कुन उद्देश्यले आयो थाहा छैन । निर्जन डाँडामा रहेका ढुंङ्गालाई उत्खनन गरेर बंगलादेश, भारतलाई बेच्न सकिन्छ । जो सँग जे छ त्यही बेच्ने न हो । पर्यटनकै कुरा गर्ने हो भने विश्वका ८ हजारभन्दा अग्ला १४ मध्ये ८ वटा चुचुरो हामीसँगै छ । सगरमाथा यहीं छ । यस्ता चिजको प्रचार प्रसार गरेर लाभ लिन सकेनौं । भारतमा रहेको त्रिवेणीमा प्रयाग मेलाका नाममा ६४ करोड मान्छे जम्मा हुन्छन् तर यहाँको चतरा, देवघाट, मुक्तिनाथ, हलेसी, पाथिभरालगायतका तीर्थस्थलको प्रचारप्रसार गर्न सकेको खै ? यदि मूल लिडरसिप भिजनरी हुन्थ्यो भने यस्तो समस्या आउँदैन थिए । आज पनि हामी उपचारका नाममा भारत, सिंगापुर, बैंकक जानुपर्ने अवस्था छ । करोडौं, अर्बाैं रकम विदेश पुगेको छ । यसरी जाने पैसाले अन्तर्राष्ट्रियस्तरको दुईवटा अस्पताल बनाउन सकिन्थ्यो । दश हजारभन्दा बढी युवा डाक्टर बन्न चाहन्छन्, भारतमा । हामीले यहीँ मेडिकल कलेज खोलेर धेरैभन्दा धेरै विदेशी विद्यार्थीलाई बोलाई विदेशी मुद्रा आम्दानी गर्न सकिन्छ तर त्यही कुरामा ढोका बन्द गरिन्छ ।
० बाग्मती प्रदेशको मुख्यमन्त्री हुँदा गर्न चाहेर पनि नसक्नुभएको कामचाहिँ के–के हुन् ?
– क्यासलेस सिष्टम शुरु गर्न खोजेको थिएँ सार्वजनिक यातायातमा । यतातिर सर्वसाधारणदेखि व्यवसायी, चालक, सहचालकसमेत ठगिएका छन्, राज्य ठगिएको छ । मेरो कार्यकाल छोटो रह्यो । यातायात हेर्ने साथीहरूलाई जिम्मा दिएको थिएँ तर उहाँहरूले राम्रोसँग समन्वय गर्न सक्नुभएन । दुई लाख मेट्रिक टनको रासायनिक मल उत्पादन कारखाना खोल्न मेरै पालामा सर्भे अगाडि बढ्यो– सिन्धुलीको हरिहरपुरगढीमा । बाग्मती प्रदेशभरका सामुदायिक विद्यालयमा पढ्ने गरिबका छोरीहरूलाई छात्रवृत्ति दिने काम पनि शुरु भयो । प्रदेश निजामती सेवा ऐन जारी गरेर त्यहाँका कर्मचारीको समस्या सामाधान गरियो । ११९ पालिका छन् बाग्मतीमा । एउटा दलितलाई अमिन, हेल्थ असिस्टेन्ट, नर्सलगायत पालिका कर्मचारी बनाउने व्यवस्था थालियो । १० हजार युवालाई सीप, क्षमता सिकाएर मात्र बाहिर पठाउने योजनाअगाडि बन्यो । देश कृषि प्रधान भन्छौँ तर कृषि औजार बाहिरबाट ल्याउनुपर्ने स्थिति छ । त्यही कारण कृषि औजार कारखाना बनाउने योजना थियो । वडा समाजवादी कार्यक्रम शुरु भएको थियो । विभेद अन्त्यका लागि जनचेतना अभियान चलाऔं र सबैलाई सीप र क्षमता दिऔं भन्ने योजना थियो । आज पनि सिकर्मी, डकर्मी, सुन बनाउने कालिगढ लगायतका अधिकांश जनशक्ति विदेशबाट ल्याइन्छन् । इण्डियाले आठदेखि दश लाख सीप जानेको मान्छे नेपाल पठाएको छ । हाम्रो रेमिट्यान्सको ठूलो हिस्सा इण्डियाले लगिरहेको छ । सीप नभएका जनशक्ति विदेश जाँदा अहिले २२ खर्ब रेमिट्यान्स आउँछ । यदि सीप सिकेका जनशक्ति भएको भए ६६ खर्बभन्दा बढी रेमिट्यान्स ल्याउन सकिन्थ्यो । त्यही कारण युवा, महिलादेखि तल्ला तहसम्म सीपमा जोड दिइएको थियो मेरो कार्यकालमा । त्यसरी अगाडि बढाइएकामध्ये आज अधिकांश योजना अलपत्र पारिएको देख्दा दुःख लाग्छ ।
० प्रचण्डमाथि सदावहार लाग्दै आएको आरोप हो टुरिष्ट उम्मेदवार । काठमाडौं, चितवन गोर्खा हुँदै उहाँ आगामी निर्वाचनमा तपाइँको निर्वाचन क्षेत्रतिर आउने चर्चा छ, केही जानकारी होला ?
– आए ठीक छ । यसरी लुगाजस्तै निर्वाचन क्षेत्र फेर्दै मैदानमा होमिँदा सन्तोष मिल्छ कि मिल्दैन ? जवाफमा त म सबैको साझा भन्लान् तर एउटै निर्वाचन क्षेत्रमा दोहोरिएर लड्न नसक्ने मान्छे कत्तिको पपुलर ठहरिएला ?
० तपाईंको दाजुभाइ नै फरक–फरक कम्युनिष्ट पार्टीको उपाध्यक्ष । पारिवारिक जमघटमा कत्तिको राजनीतिक कुराकानी, छेडखानी हुन्छ ?
– भाइलाई राजनीतिक यात्रामा मैले नै डोहो¥याएको हुँ । तर एमालेबाट विद्रोह गर्नुअगाडि मेरोभन्दा राम्रो सम्बन्ध थियो उनको माधव नेपालसँग । दश भाइमध्येका हुन् उनी पनि । दश भाइ अहिले कहाँ के गर्दैछन्, देखिरहनुभएकै छ । घनश्याम भुसाल त्यताबाट थप्पड खाएर यतै आउनुभएको छ । भीम रावलको हालत त्यही हो । परिवारभित्र बस्ने क्रममा हामीबीच घोचपेच केही चल्दैन ।
० तपाईंहरूले छाडेर हिँडेपछि त एमालेमा एकमना हुनुपर्ने नि ! तर स्थिति उल्टो देखिँदैछ त ?
– पार्टीमा विचारको स्वतन्त्रता हुनुपर्छ । निर्णय बहुमतले गर्दछ तर अल्पमतले पनि आफ्नो कुरा राख्न पाउनुपर्छ । हामी लेनिनवादी सिद्धान्त भन्छौँ, तल्लो कमिटी माथिल्लो कमिटी मातहत, अल्पमत बहुमत मातहत । त्यो पक्षमा ओली हुनुहुन्न । उहाँले नेकपा कार्यकालमा भन्नुभएको थियो, म कुर्सी नै भाँचिदिन्छु, तिमीहरूले भन्दैमा सचिवालय, स्थायी, केन्द्रीय कमिटीको बैठक बोलाउँदिन, के गर्छौ ? म नै राज्य हुँ भन्ने व्यवहार छ उहाँमा । कम्युनिष्ट पार्टीको सामान्य सिद्धान्त पनि पालना हुँदैन । अनुशासन उल्लंघन गर्नेलाई कारवाही हुनुपर्छ तर कसैले प्रस्ताव गर्दैमा, फरक मत राख्दैमा रातो आँखा लगाउनुपर्छ र ? त्यसलाई कारवाही ठोक्ने, स्पष्टीकरण माग्ने भएपछि त्यो बस्न लायक घर भयो र ?
० वामदेवका लागि एमालेले घरको ढोका नै बन्दै गरेपछि उहाँलाई एसमा ल्याउने गरी केही छलफल भएको छ ?
– वामदेवको उतारचढाव धेरै भयो । बिहान एउटा कुरा बोल्या छ, दिउँसो अर्काेथरी । हामीतिर आएर म आएँ है भन्ने, भोलिपल्ट मलाई एमालेले बोलायो, त्यतै जान्छु भन्ने । फेरि २८ गतेसम्म पर्खन्छु अनि हेरौंला, निर्णय गरौला भन्नुहुन्छ । यी र यस्ता कुराहरू त सुधार्नुपर्ने हो । बूढो भइसक्नुभयो, अब के सुध्रेला ? देशले ठूलो नेता मानेको हो । तर, उहाँको व्यक्तित्वअनुसारको बोली, व्यवहार, कामकारवाही केही भएन ।
० माधव र झलनाथबीच केमिष्ट्री मिल्न छाडेको हो ?
– दुवै जना अध्यक्ष, प्रधानमन्त्री भइसकेका । कोभन्दा को कम भन्ने स्थिति पनि छ । माधव नेपाललाई म शुरुवातदेखि नै लागेको, कोके, माले, एमाले हुँदै मेरै नेतृत्वमा सबै काम भएको भन्ने लाग्न सक्छ । झलनाथलाई म विचारक, धेरै कुराको व्याख्या गर्ने मान्छे हुँ भन्ने लाग्न सक्छ । जबजलाई पूरै बिर्सनुपर्छ भन्ने उहाँको मान्यता र जबजको महŒव बिर्सन हुँदैन भन्ने माधव नेपालको भनाइ– यस्तै यस्तै कुरा हुन् नमिलेको ।
० माधव नेपालले ५ वर्षे राष्ट्रपति छाडेर एक वर्षे प्रधानमन्त्रीको लोभ गर्दा आज यो स्थिति आएको हो भन्दैछन्, कतिपय कम्युनिष्ट नेताहरू मान्नहुन्छ ?
– उहाँ राष्ट्रपति हुनै पाउने वा फाइनलमा पुगेर छोडेको होइन । म पनि सँगै छु । अनुकूल परिस्थिति बन्दा सरकारमा गएर हिजोका अधुरा केही काम पूरा गर्ने चाहना हो । उहाँकै पालामा फाष्ट्र ट्रयाक, निजगढ विमानस्थलको डिपिआर, मध्यपहाडी राजमार्गको निर्माण शुरु भएको थियो । ती काम पूरा गर्न आफ्नै नेतृत्वमा छिटो होला भन्ने लागेको हुन सक्छ ।
० देउवा, नेपाल, प्रचण्डसँग कस्तो छ सम्बन्ध ?
– सबैसँग राम्रो सम्बन्ध छ । मनभित्र कुरा पकाएर बस्दिन, लागेको कुरा फ्याट्ट भनिदिन्छु । बदलाको भाव राख्दिन । राजेन्द्र पाण्डे लडाकू भावनाको मान्छे हो भन्ने ढंगबाट बुझ्नुभएको छ ।
टिप्पणीहरू