रविको चाहनाबारे कारागार विभाग अनिर्णित

रविको चाहनाबारे कारागार विभाग अनिर्णित

रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँस्थित डिल्लीबजार कारागारमा स्थानान्तरणको लागि दिएको निवेदनमाथि कुनै निर्णय भएको छैन । लामिछानेलाई काठमाडौँ स्थानान्तरण गर्न लागिएको खबरबारे गृह मन्त्रालय मातहतको कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले आफूलाई कुनै जानकारी नभएको बताए । 

पूर्व गृहमन्त्री तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई चैत २२ गते उच्च अदालत दाङको बुटवल इजलासले धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश उल्टाउँदै पूर्पक्षको लागि थुनामा पठाउन आदेश दियो । सोही दिन साँझ बूढानीलकण्ठस्थित निवासबाट पक्रेर रुपन्देही जिल्ला कारागार पुर्याइएका लामिछानेले डिल्लीबजार कारागारमा स्थान्तरणको लागि निवेदन दिएको बताइन्छ । तर कारागार प्रशासनले उनको निवेदन विभागमा पठाएको भनेपनि हालसम्म कुनै निर्णय नभएको महानिर्देशक भट्टराईले जनआस्थालाई जानकारी दिए । आफूले त्यो पत्रसमेत नपाएको उनको भनाई छ । 

‘त्यो पत्र मैले पाएकै छैन, कतिपय मिडियाले डिल्लीबजार ल्याउने निर्णय भएको भनेर लेखेको देखेँ,’, उनले भने, ‘म तालिमबाट भर्खरै फर्केको छु, रुपन्देहीले पत्र कहिले पठाएको हो, थाहा छैन, तर मेरोमा आइपुगेको छैन ।’

कारगारभित्रको थुनुवाले आफ्नो सहजताको लागि निवेदन दिँदैमा स्थानान्तरण पक्का नहुने भट्टराईको तर्क छ । ‘उहाँ (लामिछाने)को हकमा पनि निवेदन दिँदैमा डिल्लीबजार ल्याउने निश्चित हुँदैन, हामीले पनि डिल्लीबजार कारागारको अवस्था, थुनुवाको चाप, यहाँको वातावरण सबैलाई मध्यनजर गर्नुपर्ने हुन्छ’, उनले थपे । 

महानिर्देशक भट्टराईले लामिछानेको निवेदन प्राप्त भएको खण्डमा विभागले अध्ययन गरेर मात्र निर्णय गर्ने बताए । अघि भने, ‘पत्र नआउँदै हामीले निर्णय गर्न मिल्दैन । यदि पत्र आइहालेमा हामी अध्यनन गछौँ, त्यसपछि डिल्लीबजार ल्याउने कि, कहाँ राख्ने भन्ने आधारिक निर्णयका लागि पठाउँछौ, अहिले नै निर्णय भएको छैन ।’

टिप्पणीहरू