सडकमा सुरक्षा तैनाथी बढाइयो, ‘हाई अलर्ट’मा सेना
सत्तारुढ नेकपा एमाले र राजावादीहरुले काठमाडौँमा आज गर्न लागेको छुट्टाछुट्टै प्रदर्शन र त्यसले उत्पन्न गर्नसक्ने सम्भावित सुरक्षा चुनौतीलाई ख्याल गर्दै उपत्यकामा सुरक्षा तैनाथी बढाईएको छ ।
गणतन्त्र पक्षधर र विरोधी शक्ति एकैसाथ सडकमा उत्रन लागेकाले सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो । त्यसका लागि उपत्यकाबाहिरबाट समेत जनशक्ति थप गरिएको प्रहरीले जनाएको छ । काभ्रे र मकवानपुरका विभिन्न गण र चौकीका कार्यरत प्रहरीलाई उपत्यकामा परिचालन गरिएको बताइएको छ ।
राजसंस्था पुर्नस्थापनाको मागसहित आन्दोलनमा ओर्लिएका राजावादीलाई दिउँसो २ बजेअघि रिङरोड प्रवेश गर्न नदिने रणनीति प्रहरीको छ । त्यतिन्जेल एमालेले गणतन्त्र दिवसको अवसरमा बागबजार, पुतलीसडक, टेकु, त्रिपुरेश्वरलगायतका ठाउँबाट जुजुस निकालिसकेको हुनेछ । एमालेलाई २ बजेअघि नै कार्यक्रम सक्न भनिएको प्रहरी स्रोतले जानकारी दियो ।
‘हेडक्वार्टरले उपत्यकाको सुरक्षा संयन्त्रलाई निर्देशन दिनुको साथै भ्याली नजिकका गण र चौकीबाट पनि जनशक्ति झिकाएर परिचालन गरेको छ’, स्रोतले जानकारी दिएको छ, ‘४५ सय हारहारीमा खटिएका छन्, दुई समूहलाई डाइभर्ट गरेर भए पनि भेट नै हुन नदिने हाम्रो योजना छ ।’
राजावादीकाे प्रदर्शनमा बढीमा २० हजार सहभागि हुनसक्ने प्रहरीकाे अनुमान छ । कहिंकतै झडप भएर परिस्थिति नियन्त्रणबाहिर गएको खण्डमा तत्काल परिचालित हुन नेपाली सेनालाई पनि हाइअलर्टमा राखिएको छ ।
गत चैत १५ गते तीनकुनेको राजावादी प्रदर्शनमा हिंसामा परिणत भएपछि सेना परिचालन गरिएको थियो । ‘यो पटक भ्यालीबाहिरबाट पनि जनशक्ति बोलाएको कारण चैत १५ गतेको जस्तै समस्या त नहोला, तर आन्दोलन हो, भन्न सकिदैंन । परिस्थिति बिग्रिहालेनमा सेनाले सहयोग गर्छ, अलर्ट नै राखिएकाे छ’, प्रहरी स्रोतले भन्यो ।
टिप्पणीहरू