मानव अधिकार आयोग पनि सरकारी कर्मचारीको रैती

मानव अधिकार आयोग पनि सरकारी कर्मचारीको रैती

संवैधानिक निकायहरुको मुख्य जिम्मेवारी अनुगमन गरेर सरकारलाई प्रतिवेदन बुझाउनु मात्र नभई जिम्मेवारी बोध गराउन निर्देशन दिनु पनि हो । संवैधानिक आयोग निजामती कर्मचारीहरुका मन्त्रालय र शाखा–महाशाखाझैं होइनन् । उत्पीडनमा परेका नागरिकहरुले संवैधानिक निकायहरुलाई न्याय दिलाउने निकाय मान्दछन् । तर, तिनै आयोगहरु गलत मानसिकता बोकेर नागरिकको बेवास्ता गर्दै सरकारी अधिकारीहरुलाई चाहिनेभन्दा बढी मानसम्मान दिन लागे भने मानव अधिकार बहालीको अवस्था के हुँदै जाला ? 

यस्तै प्रश्न राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेशले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले तेर्साएका हुन् । नाम मानव अधिकार आयोग भएपनि कार्यक्रम एकदमै रैती मानसिकताको भएको उनीहरुको गुनासो थियो । मञ्चमा प्रदेश प्रमुख परशुराम खापुङ्गसहित प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, जिल्ला समन्वय समितिकी उपप्रमुख र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बोल्ने मौका दिइयो । 

नागरिकको तर्फबाट भनिएपनि इन्सेक र दलित महिला संघको प्रतिनिधिले आफ्ना धारणा राखे । मानव अधिकार रक्षकका रुपमा आयोगको दाहिने हात मानिँदै आएको नेपाल पत्रकार महासंघ, कोशी प्रदेशका अध्यक्ष भरत खड्कालाई सम्बोधन गरेर मञ्चमा बोलाई शुभकामना दिने अवसर दिनु त परको कुरा, उनी आएका छन् कि छैनन् ? बुझ्ने कामसमेत भएन । अपमानित महसुश भएपछि उनी चुपचाप कार्यक्रमस्थल छोडेर बाहिरिए । महासंघजस्तो सबै जिल्लामा सशक्त नेटवर्क भएको संस्थालाई आयोगले बेवास्ता गरेर खाली सरकारी शासक र प्रशासकहरुलाई मात्र मानसम्मान गरेको देखेपछि सहभागी अधिकारकर्मीहरु आश्चर्यचकित बनेका हुन् । 

उनीहरुले जिब्रो टोक्दै भने,‘मानव अधिकार आयोग त अब सरकारको दालभात खाने रैती मानसिकताको संस्था पो भइसकेको रहेछ अनि त्यहाँ कार्यरत पदाधिकारीहरु सरकारका जागिरेहरु मात्र रहेछन् ।’ धन्न इन्सेकको विराटनगर शाखाका प्रमुख मनोहर पोखरेलले छोटो मन्तव्य राख्ने मौका पाए । उनले मानव अधिकार आयोग स्थापना गर्न नागरिकहरुले खेलेको भूमिका र गरेको संघर्षलाई बिर्सिएर नागरिकहरुलाई नै बेवास्ता गरेमा आयोगको उद्देश्य पुरा नहुने धारणा राखे । 

‘जबसम्म मानव अधिकार रक्षकहरु बलिया हुँदैनन्, तबसम्म मानव अधिकार र आयोग पनि बलियो हुन सक्दैन्’,उनले भने । विराटनगरको पाञ्चालीस्थित कृष्णा होटलमा आयोजना गरिएको कार्यक्रममा आयोगले नागरिक समाज मात्र नभएर ठूलो संख्यामा सरकारी कर्मचारी र प्रहरीलाई सहभागी गराएको थियो । तर, आयोगले कार्यक्रममा न कसैबाट सुझाव लियो न त समीक्षा नै गर्यो । सानो एउटा प्रतिवेदनसम्म प्रस्तुन गरिएन । बस्, चालु आर्थिक वर्षमा आयोगमा परेका उजुरी र गरेका अनुगमनको तथ्याङ्क सार्वजनिक गरेर कार्यक्रम समापन गरियो ।

टिप्पणीहरू