न्यूजिल्याण्डका विदेशमन्त्री भेटघाटमा व्यस्त

न्यूजिल्याण्डका विदेशमन्त्री भेटघाटमा व्यस्त

नेपाल भ्रमणमा रहेका न्यूजिल्याण्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्सले उच्चस्तरीय भेटघाट गरेका छन् । 

आज बिहान काठमाडौँ आइपुगेका उनले राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेता लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । विदेशमन्त्री पिटर्सले अपराह्न बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए । 

भेटका क्रममा जलवायु परिवर्तन, विकास, सुशासन र सूचना प्रविधि लगायतका विषयमा छलफल भएको जनाइएको छ । त्यसक्रममा पिटर्सले तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारी (न्युजिल्याण्ड)ले पहिलोपल्ट विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर इतिहास बनाएको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध ऐतिहासिक रहेको बताए ।

प्रधानमन्त्री ओलीले पनि सगरमाथाको अवस्थाबारे जानकारी दिँदै जलवायु परिवर्तनको लागि दुई देशबीच सहकार्य गरेर अघि जानुपर्ने धारणा राखेको बताइएको छ । बालुवाटार जानुअघि विदेशमन्त्री पिटर्स राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका थिए । उक्त भेटमा पनि सगरमाथा आरोहणको ७०औँ वर्ष पुगेको विषयमा कुराकानी भएको बुझिएको छ ।

पिटर्सले आजै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित माओवादी संसदीय दल कार्यालयमा भएको भेटमा द्धिपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको जानकारी गराइएको छ ।

टिप्पणीहरू