बेकार भयो भ्युटावर
रोकियो पूर्व राष्ट्रपतिको पूर्वी यात्रा
प्रधानमन्त्री केपी शर्मा ओलीको ड्रिम प्रोजेक्ट मानिएको झापा–दमकको भ्यु—टावर (व्यापारिक कम्प्लेक्स) शुल्क लिई चलाउन दिने निर्णय भएको छ । अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले दमकमा भ्युटावर, इण्डष्ट्रियल पार्क बनाउने घोषणा गरेबमोजिम भ्युटावर बने पनि औद्योगिक पार्क भने अझैं निर्माण हुन सकेको छैन । टावरको सुरक्षा, मर्मत सम्भार, बिजुलीलगायत विभिन्न शीर्षकमा हुने खर्चको अनावश्यक भार सरकारले नै व्यहोर्दै आएको थियो ।
यो निर्णयले राज्यकोषको अर्बाैं रकम अनुत्पादक क्षेत्रमा लगानी गएको स्पष्ट भएको छ भने लगानीको औचित्यता सावित गर्न सरकार अक्षम देखिएको छ । सरकारको निर्णय जे जस्तो भए पनि सो भ्युटावरमा लगानी गर्न कोही आउने सम्भावना छैन । दमक बजारबाट त्यहाँ पुग्न रिक्सा वा गाडी भाडा आतेजाते दुई सय रुपैयाँ लाग्छ । दमक बजारका सपिङ कम्प्लेक्समा भन्दा सामानहरू स्वाभाविक रूपमा महँगो हुने भएकाले पनि व्यापारिक स्टल राख्न तयार हुने मुर्ख व्यापारी फेला पर्न मुश्किल छ । केही ठूला व्यापारीले गोदामको रूपमा प्रयोग गर्ने सम्भावना भने प्रबल छ । मावा खोला नजिकै बनेको भ्युटावरबाट बाढी हेर्न सकिन्छ । सो टावर आसपासका बगर क्षेत्रमा भारतीयले मकै खेती गरिरहेका छन् ।
कैको बोटले मान्छे जत्रै उचाइ पाएपछि भारतीयले मकै खेती गरेको कुरा बल्ल खुलेको हो । केही महिनाअघिसम्म पार्कको जमिनमा काँसको बाक्लो घारी थियो । भारतीयले भ्युटावर नजिकै खोलाले उकासेको पर्ती जमिनमा पनि मकै खेती गरिरहेका छन् । पार्क क्षेत्र दमक नगरपालिका र कमल गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ ।
यस्तै उस्तै लफडाका कारण झापामा नेपाल प्रहरीको कमाण्ड सम्हाल्न प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र एसपी राजन राईलाई पठाएको हुनसक्छ । उनी यसअघि प्रधानमन्त्री ओलीका अंगरक्षक थिए । पार्क र भ्युटावर रहेको क्षेत्र वरिपरिका जग्गाजमिनको हकमा कतिपय सानातिना झैझमेला मिलाउन प्रहरीको साथ नभई कामै चल्दैन ।
भ्युटावरको चर्को आलोचना रोक्न नसके पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई झापा लैजाने कार्यक्रम रोक्न सफलता हासिल गरे । भण्डारी भण्डारी आएर ढुक्कैसँग केही दिन बसेपछि विनोद ढकाल समूहले ओली खेमालाई मोरङको महानगर कमिटी र जिल्ला कमिटीबाट बढारेको घटनाले त्रसित भएका ओली पक्षीय नेताले भण्डारीलाई झापा ल्याउने कार्यक्रम असफल बनाएको हो । स्रोतका अनुसार भण्डारीलाई ल्याउन खोज्नेमा जिल्ला कमिटीका उपाध्यक्ष शिव ढुंगेल र सदस्य गणेश पोखरेललगायत थिए । ज–जसले भण्डारीलाई ल्याउने तयारी गरेका छौ, त्यो काम छोड ।
यदि ल्याउने नै हो भने कारवाही भोग्न तयार होऊ भन्ने खबर पठाएपछि विद्या भण्डारीको झापा यात्रा हाललाई रोकिएको बताइन्छ । उपाध्यक्ष ढुङ्गेल एमाले जिल्ला अधिवेशनमा अध्यक्षको आकांक्षी थिए । चुनाव हुँदा जित्ने सम्भावना रहेका उनलाई अध्यक्ष ओलीले हातै जोडेर सर्वसम्मत उपाध्यक्ष बनाएको चर्चा चलेको थियो । अधिवेशनताका एक दिन झापा बसेका अध्यक्ष ओलीले प्रेम गिरीलाई अध्यक्ष बनाउने भन्दै ढुंगेललाई यो पटक उपाध्यक्षमा बसिदिन आग्रह गरेको दावी स्रोतको छ । सो आग्रहलाई ढुंगेलले स्वीकारेपछि मात्रै सर्वसम्मतको वातावरण बनेको हो ।
गिरी पूर्वसंविधानसभा सदस्य र अघिल्लो जिल्ला कमिटीका उपाध्यक्ष हुन् । त्यसबेला ढुंगेललाई दश भाइ भनिने रविन कोइराला र रोमणी भट्टराईहरूले साथ दिएका थिए । अर्कोतर्फ झापाको अनारमनी ७ स्थित सामुदायिक वन उपभोक्ता समिति गठन भएदेखि एकलौटी रूपमा एमाले समर्थकहरूले पकड राख्दै आए पनि यसपटक भने पूरै पराजय भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर एमालेलाई हराएका छन् । सो चुनावलाई प्रभावित गर्न कोशी प्रदेशका भौतिक पूर्वाधारमन्त्री एकराज कार्की १५ दिनसम्म विराटनगर नगईकनै गाउँमै बसेर क्याम्पेन चलाएका थिए । स्मरणीय छ, ६०–६५ वर्षअघि मन्त्री कार्कीको जग्गा अधियाँमा खेतीबाडी गरी वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको परिवारले गुजारा गरेको पुराना बासिन्दाहरु स्मरण गर्दछन् ।
टिप्पणीहरू