मेरो मामा प्रदिप नेपाल

मेरो मामा प्रदिप नेपाल

मेरो मामा, मार्गदर्शक, जीवनको ध्रुवतारा—प्रदिप नेपाल आज भौतिक रूपमा हामीमाझ नरहे पनि, उहाँको विचारको मशाल, साहित्यको उज्यालो र स्नेहको स्पर्श हृदयको मन्दिरमा सधैँ जीवन्त रहनेछ । उहाँ एक व्यक्ति मात्र होइन, सम्मानको  सगरमाथा हुनुहुन्थ्यो । 

भोजपुरको गोगने गाउँमा वि.सं. २०१० पुस २८ गते उहाँको जन्म भयो, त्यो पावन भूमि मेरोलागि तीर्थस्थल हो । विद्योदय स्कूलमा पढ्दै शिक्षक बन्नुभएका उहाँले ज्ञानको दीप बालेर सयौँ मनलाई उज्यालो दिनुभयो । पढाइको सिलसिलामा काठमाडौँ आउनुभयो र यहाँबाट उहाँको जीवनले क्रान्तिकारी मोड लियो । पर्चा बाँड्ने क्रममा पक्राउ, नक्खु जेलको अँध्यारो कोठरी, जेल ब्रेक र भूमिगत जीवन—यी संघर्षका पलहरूले उहाँलाई जनताको हृदयमा अमर बनायो । मेचीदेखि लुम्बिनी, क्षेत्रीय इञ्चार्जदेखि केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी, सचिवालय, प्रचार विभाग प्रमुख, पिपुल्स भोलेन्टियर्सको नेतृत्व, राष्ट्रिय सभा र प्रतिनिधिसभाको सांसद, पटक–पटक मन्त्री, उहाँको जीवन एउटा यस्तो महासागर थियो, जसको गहिराइमा समाज परिवर्तनको सपना र लहरहरूमा जनमुक्तिको गीत बगेको थियो । 

म नाताले भाञ्जो तर भावनाले उहाँको छायाँमा हुर्किएको एउटा सिपाही हुँ । वि.सं. २०४० देखि काठमाडौँमासँगै रहँदा भाञ्जो, भाइ, साथी, कमरेड, ड्राइभर र व्यक्तिगत सहायकको रूपमा नजिकबाट चिनेँ । आज म जुन स्थानमा छु, त्यो उहाँको आशीर्वाद, प्रोत्साहन र अटल विश्वासको देन हो । 

उहाँको आत्मस्वीकृतिमा लेखिएको छ, ‘म एक्लै आएँ, जिन्दगीको लामो हिस्सा एक्लै बिताएँ, आफैँँ नेता भएँ, आफैँंले नेता पद त्यागें, आफैँँ साहित्यकार भएँ र जाँदा पनि एक्लै जाने छु ।’ यो सादगी र स्वतन्त्रताको भावना उहाँको जीवनको सार थियो । उहाँले मृत्युपछि कुनै मृत्युकर्म, श्रद्धाञ्जली कार्यक्रम, वा लाश प्रदर्शन नगर्न अनुरोध गर्नुभयो । आँखा दान गर्नुभयो र बाँकी अङ्ग पनि मानव सेवामा समर्पित गर्नुभयो । यो निःस्वार्थताको पराकाष्ठा थियो । उहाँले लेख्नुभयो, ‘मेरो मात्र युग समाप्त हुने छ, अरू सबै यथावत् रहनेछ ।’ तर मलाई लाग्छ, उहाँको युग कहिल्यै समाप्त हुनेछैन । उहाँको विचार, उहाँको साहित्य र उहाँको संघर्ष हाम्रो हृदयमा सधैँ जीवित रहनेछ । उहाँको यो सादगी र स्वतन्त्रताको भावना देखेर मेरो आँखा आँशुले भरिन्छ र भन्न मन लाग्छ– उहाँ साँच्चै मेरो सगरमाथा हुनुहुन्थ्यो । 

उहाँलाई कोही सामाजिक न्यायको योद्धा भन्छन्, कोही साहित्यको सुरज, त कोही राजनीतिको ध्रुवतारा । उहाँको लेखनीमा समाजको पीडा, किसानको पसिना, मजदुरको संघर्ष र नारीको आहुति जीवन्त हुन्थे । चार दर्जनभन्दा बढी पुस्तक कथा, कविता, गीत, उपन्यास र समाचार यति परिष्कृत थियो कि सम्पादनको आवश्यकता नै नपर्ने । बोलीमा यस्तो जादु कि हरेक शब्दले मन छुने । प्रत्येक जिल्लाका कार्यकर्तालाई नामले चिनेर बोलाउने, युवाहरूलाई सधैँ अगाडि बढ्न प्रेरित गर्ने र समस्याको तत्काल समाधान दिने क्षमता सधैँ आश्चर्यको विषय थियो । यो गुणले उहाँलाई हरेक कार्यकर्ताको हृदयमा अमर बनायो । 

जसरी कोशीले तृषित भूमिलाई सिञ्चित गर्छ, त्यसरी नै उहाँको विचारले समाजका सिमान्तकृत, दलित, जनजाति, मधेशी र अल्पसंख्यक समुदायलाई आशा र आत्मसम्मान दियो । उहाँले अन्तर्जातीय विवाह गरेर सामाजिक समताको सन्देश दिनुभयो, जुन नेपाली समाजमा एउटा क्रान्तिकारी कदम थियो । गुटबन्दीलाई घृणा गर्ने, स्वच्छ छवि र भ्रष्टाचारको कुनै दाग नलागेका उहाँ सधैँ सादा जीवन र उच्च विचारको प्रतीक रहनुभयो । जननेता मदन भण्डारीलाई एक मात्र नेता मान्ने उहाँले वामपन्थी एकताको सन्देश बोकेर कम्युनिष्ट आन्दोलनलाई एकताको धागोमा उन्नुभयो । विभिन्न समूहमा छरिएका कम्युनिष्टहरूलाई एकताबद्ध पार्न, कार्यगत एकता गर्न र साझा मुद्दाहरूमा सहमति जुटाउन उहाँले खेलेको भूमिका नेपाली राजनीतिक इतिहासको स्वर्णिम अध्याय हो । 

मदन–आश्रित स्मृति प्रतिष्ठान र प्राविधिक शिक्षालयप्रति उहाँको समर्पण मेरा लागि सधैँ प्रेरणाको स्रोत रह्यो । २०५० मा संयोजक हुँदै २०५६ देखि अध्यक्षको भूमिकामा रहँदा शिक्षालाई हरेक सिमान्तकृत समुदायसम्म पुर्‍याउन जीवन अर्पण गर्नुभयो । मन्त्री हुँदा सिटिइभिटीमार्फत प्राविधिक शिक्षालाई सरल र सुलभ बनाउन स्थापना गरेको शिक्षालय आज भव्य भवन र प्रगतिका तस्बिरहरूमा बोल्छ । उहाँको यो योगदानले हजारौँ युवालाई आत्मनिर्भरताको पखेटा दियो । उहाँको दूरदर्शिताले प्रतिष्ठानलाई सामाजिक न्याय, प्रगतिशील चेतना र शिक्षाको मन्दिर बनायो । उहाँले देखाएको यो सपना ती मखमली फूल हुन्, जो मेरो मनमा सधैँ फुलिरहनेछन् । 

बहुआयामिक व्यक्तित्वको अर्को रङ उहाँको प्रविधिप्रेमी स्वभाव थियो । टाइपराइटरदेखि कम्प्युटर, मोटरसाइकलदेखि गाडीसम्म, हरेक नवीन प्रविधिमा पोख्त हुनुहुन्थ्यो । रातको चार पहरबाहेक सधैँ काममा समर्पित, जीवनको प्रत्येक पल जनताको सेवामा अर्पित थियो । ‘काम शुरु गरेपछि सक्नुपर्छ, बोलेपछि गर्नुपर्छ’ यो उहाँको जीवनमन्त्र थियो । नवौँ महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाउन अग्रपंक्तिमा उभिएर नेतृत्व सबैको लागि अवसर बन्नुपर्छ भन्ने सन्देश दिनुभयो । युवा पुस्तालाई जिम्मेवारी दिनुपर्ने उहाँको आह्वान आज पनि मेरो काँधमा भारी संकल्पजस्तै छ । 

स्पष्ट बोल्ने स्वभाव, निडरता र कुशल संगठकको क्षमताले उहाँलाई हरेक क्षेत्रमा अब्बल बनायो । निर्णय नहुँदासम्म पक्ष–विपक्षमा तर्क गर्ने तर निर्णय भएपछि त्यसलाई बोकेर अघि बढ्ने नेतृत्वको सौन्दर्य सधैँ प्रेरणादायी रह्यो । सकारात्मक सोच, तत्काल निकास दिने क्षमता र सहयोगी स्वभावले जनताको मनमा अमर बनायो । 

उहाँको जीवन जस्तोसुकै चुनौतीमा पनि कहिल्यै नझुक्ने सगरमाथा थियो । उहाँको साहित्यले समाजलाई ऐना देखायो, उहाँको राजनीतिले जनतालाई सपना र नेतृत्वले युवाहरूलाई पखेटा दियो । उहाँको विदाइले मेरो मनमा एउटा खाडल बनेको छ तर उहाँको स्मृतिले मलाई सधैँ भन्छ ; ‘यो खाडललाई संकल्पको फूलले भर्नुपर्छ ।’

आज भौतिक उपस्थिति नरहे पनि, उहाँको विचारको हिमाल मेरो सामु उभिएको छ । उहाँले देखाएको बाटोमा हिँड्नु कर्तव्य हो, जीवनको सार्थकता हो । म व्यक्तिगत रूपमा उहाँको सपनालाई साकार पार्न हरपल समर्पित रहनेछु । 

शोकसन्तप्त परिवारजन, आफन्तजन र समस्त शुभचिन्तकहरूप्रति हृदयको तलबाट गहिरो समवेदना ! यो दुःखद घडीमा, आउनुहोस्, हामी उहाँको स्मृतिमा आँसु होइन, संकल्पका दीपहरू बालौं । मामा, तपाईं मेरो हृदयको मन्दिरमा सधैँ सजिएको अनन्त आलोक हुनुहुन्छ । तपाईंप्रति अनन्त प्रेम र श्रद्धाञ्जलि !

– सुरेश निरौला,
 

टिप्पणीहरू