अदालतमा घुस खान क्युआर कोड

अदालतमा घुस खान क्युआर कोड

प्रमाण नपुगेका, फसाउन खोजिएका घटनामा न्यायाधीशहरूले जेल सजायँको फैसला गरेको भए पनि बालिका, जसलाई फकाउँदै पटक–पटक यौन शोषण गरिएको सबै छ, प्रमाण हुँदाहुँदै अदालतले सफाइ दिएपछि समाजमा न्याय खरिद–बिक्री हुने गरेको आशंका बढ्दो छ । जुन अभियोगमा मुद्दा दर्ता भएको छ, अदालतले त्यसलाई बदलेर सफाइ दिएपछि न्यायालय र न्यायमूर्तिप्रतिको विश्वासमा झनै कमी आउन थालेको पाइन्छ । 

कहाँ मिल्यो कुरा ? कहाँ मिलेन न्याय ? कानुन व्यवसायीहरूले भनेका छन्–‘जिल्ला अदालतमा आजकल नगद मिल्नुपर्‍यो मुद्दा उल्टो, सुल्टो सबै हुन सक्छ ।’ फैसला लेख्दा देखि मुद्दा मिलाउँदासम्म कर्मचारीहरूले क्युआर पठाएर घुस माग्न थालेका छन् । घुस नमिल्दासम्म फैसला तयार हुँदैन । पैसा नमिल्दासम्म फाईल घुम्दैन । फाइल घुमे पनि वास्तविकता आउँदैन । बेञ्चबाट फैसला सुनाएलगत्तै पक्षहरूलाई भनिदिएबापत समेत रकम उपलब्ध गराउनुपर्ने बाध्यता छ । 

जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएका जबर्जस्ती करणी अभियोगका मुद्दाहरूमा संलग्नहरूले धमाधम सफाइ तथा मुद्दाको शीर्षक बदलेर कम सजायँमा उन्मुक्ति पाउन थालेका छन् । पछिल्ला दुई फैसलामा जबर्जस्ती करणीलाई दुर्ब्यवहारमा परिणत गर्दै फैसला सुनाइएको छ । जबर्जस्ती करणीलाई बाल विवाहमा परिणत गरेर सजायँ बदलिएको छ । बनेपा नगरपालिका वडा नम्बर १४ का ४९ बर्षीय प्रकाश कार्कीले अभियोगबाट सफाइ पाएका छन् । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले दावी नपुग्ने ठहर गरेको छ ।

२०८१ जेठ ६ गते दिउँसो प्रकाश कोही नभएको बालिकाको कोठामा पुगेर जबर्जस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि कारागारमा थिए । सुनगाभा स्कूल बनेपा १४ मा विद्यालयको बस चलाउँदै आएका प्रकाशले सरकारी वकिल र प्रहरीमा साविती बयान दिएका थिए । पीडितकी आमा रोजगारका लागि विदेश गएको हुँदा उनी ठूली आमाको घरमा डेरा लिएर बसेकी थिइन् । जुन विद्यालयको बस चलाउँथे प्रकाश त्यही विद्यालयमा अध्ययन गर्थिन् बालिका । प्रकाशले बालिकासँगको सहमतिमा आफूले पटक पटक सम्बन्ध राखेको बयान दिएका थिए । 

बालिकाको स्वास्थ्य परीक्षणले पनि उनी जबर्जस्ती करणीमा परेको पुष्टि हुन्छ । २०८१ असार ४ गते जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेका थिए । मातृका श्रीमानले २०८२ बैशाख १५ गते प्रकाश कार्कीलाई लगाइएको दावी नपुग्ने ठहर गरेका हुन् । अदालतले १६ बर्षिया बालिकालाई ४९ वर्षका पुरुषले पटक पटक गरेको करणीमा किन सफाइ दियो होला ? छिमेकी र आफन्तले प्रश्न गरेका छन्  

त्यस्तै जिल्ला अदालत काभ्रेपलाञ्चोकले बैशाख ९ गते अर्काे अभियोगमा शीर्षक नै बदलेर सजायँ घटाएको छ । २०८० साल कार्तिक ११ गते छात्रालाई बनेपास्थित एक होटलमा पुर्‍याई जबर्जस्तीकरणी गरेको अभियोगमा जाहेरी दर्ता भई पुर्पक्षमा रहेका मछेनारायण श्रेष्ठलाई शीर्षक बदलेर जेल बसेको अवधिको सजायँ निर्धारण गरिएको छ । १४ वर्ष १० महिना २२ दिनकी बालिका करणीसम्वन्धी उपरको मुद्दा बाल यौन दुर्ब्यवहारमा बदलिएको हो ।

जर्बजस्तीकरणीबाट बाल यौन दुर्ब्यवहारमा मुद्दा परिणत गरे पछि उनलाई हुने सजाँय कटौती भएको छ । उक्त अभियोगमा हुने सजायँ भनेको ७५ हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद मात्रै हो । उनी अदालतले अभियोग बदलेर मुद्दा फैसला गरेपछि छुटिसकेका छन् । 

३३ महिनामा काभ्रें जिल्लामा जबर्जस्ती करणी, करणी उद्योग, बाल यौन दुरूपयोग र अप्राकृतिक मैथुनसम्बन्धी १ सय ४२ वटा अपराधका घटना दर्ता भएका छन् । जसमध्ये सबैभन्दा धेरै जबर्जस्ती करणीमा १ सय ४ वटा घटना दर्ता भए । उद्योगमा १० वटा, बालयौन दुरूपयोगमा २५ वटा र अप्राकृतिक मैथुनमा १ वटा अपराधका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जानकारी दिए । 

कम उमेरमा विवाह गर्ने र अभिभावकले थाहा पाएपछि सम्वन्ध टुटाउन जबर्जस्ती करणीसम्बन्धी अभियोग दर्ता हुने गरेका छन् । अझ धेरै फरक–फरक जातमा परेको प्रेम सम्वन्धमा त्यस्ता घटना धेरै हुन थालेका छन् । 

- मोतीराम तिमल्सिना

टिप्पणीहरू