पाटन हिँडेका प्रचण्डलाई देउवाको गृहजिल्लामा स्वागत

पाटन हिँडेका प्रचण्डलाई देउवाको गृहजिल्लामा स्वागत

‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ का लागि बैतडीको पाटन जान लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोलीलाई डडेल्धुरामा स्वागत गरिएको छ । 

सदरमुकाम अमरगढीमा स्थानीयवासीले खादा र माला लगाएर अभियान टोलीलाई भव्यरुपमा स्वागत गरेका हुन् । सो अवसरमा अध्यक्ष प्रचण्डले अमरगढी चोकमा रहेको शहीद भीमदत्त पन्तको सालिकमा माल्यार्पण गरेको माओवादी केन्द्रले जनाएको छ ।

जेठ महिनाभित्र सम्पन्न गर्नेगरी माओवादीले भोलिदेखि औपचारिकरुपमा अभियान शुरु गर्दैछ । जसअनुसार भोलि पाटनमा जनसभा र डोटीको दिपायल जनसंवाद सम्वाद कार्यक्रम राखिएको छ ।

अछामको मङ्गलसेनमा ३ गते जनसंवाद गरेर भोलिपल्ट दैलेख सदरमुकाममा जनसभा आयोजना गरिने जनाइएको छ । अभियान अन्तर्गत जेठ ५ गते जाजरकोट खलङ्गामा जनसंवाद, ६ गते पश्चिम रुकुमको चौरजहारीमा जनसभा र मुसिकोटमा जनसंवाद गरिने छ । 

जेठ ७ गते पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र त्यहि दिन रोल्पाको थवाङमा जनसभा आयोजना गरिने छ । ८ गते बागलुङ र ९ गते पर्वतको कुस्मामा जनसंवाद अनि १० गते कास्कीको पोखरामा जनसभा गर्ने कार्यक्रम छ ।

गत पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि असारसम्म हुलाकी मार्ग, मध्यपहाडी लोकमार्गका साथै हिमाली जिल्लामा केन्द्रित रहेर ‘जनतासँग माओवादी’ अभियान चलाउने निर्णय गरेको थियो । निर्णयअनुसार फागुन १२ गते देशकै होचो स्थान झापाको कचनकवलबाट शुरु भएको हुलाकी मार्ग अभियान वैशाख १७ गते कन्चनपुरको महेन्द्रनगर पुगेर सम्पन्न भएको थियो ।

पहिलो चरणको अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको निष्कर्ष निकालेको माओवादीले बैशाख २० गते पदाधिकारी बैठक राखेर मध्यपहाडी अर्थात् पुष्पलाल लोकमार्ग केन्द्रित अभियान शुरु गर्ने निर्णय गरेको हो ।

टिप्पणीहरू