टिआरसी आयोगको दृष्टान्त दिँदै प्रधानमन्त्रीको दाबी - गभर्नरमा मेरो उम्मेदवार छैन

टिआरसी आयोगको दृष्टान्त दिँदै प्रधानमन्त्रीको दाबी - गभर्नरमा मेरो उम्मेदवार छैन

नेपाली कांग्रेससँगको हानथापले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सकस झेलिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले योग्य व्यक्तिलाई उक्त पदमा ल्याइने दाबी गर्नुभएको छ । व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमबाट क्षमतावान व्यक्तिलाई गभर्नर बनाउने पक्षमा आफू रहेको उहाँको जिकिर छ । 

पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्पिटिटिभ र ननडिभिटेबल व्यक्ति बैंकको नेतृत्वमा आउनुपर्ने बताउनुभयो । देशलाई काम गर्नसक्ने मान्छे भए हुने उहाँको भनाइ छ । 

‘राष्ट्रबैंकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन’, ओलीले भन्नुभयो, ‘म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन । त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु ।’

सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्त भएको प्रम ओलीको दाबी छ ।

‘टिआरसीमा, डिसापियर कमिसनमा मेरो आफ्नो उम्मेदवार होइन, छैन । अध्यक्ष कतै पनि मेरो भन्ने होइनन् । एउटासँग मेरो देखभेट पनि भएको छैन । नाम सुनेको थिएँ, बिर्सिएँ । एउटासँग मुख्यसचिव भएर काम गरेको हुनाले मैले चिनेको हुँ’, उहाँले भन्नुभयो, ‘कामु मुख्यसचिव हुँदा पहिलो पटक भेटेको हो, चिनेको हो । निमित्त हुँदा चिनेको, का.मु. मैले नै बनाएको हो । मुख्यसचिव कन्फर्म पनि मैले नै बनाएको हो । तर न मसँग नाता, सम्बन्ध, न केही न केही । न पोल्टिकल रिलेशन । न उहाँ पोल्टिकल मान्छे हो ।’

प्रधानमन्त्री ओलीले टिआरसी आयोगमा योग्य मान्छेलाई जिम्मेवारी दिएको जिकिर गरे पनि आमरुपमा भने माओवादी केन्द्रसहित मुख्यत: नेपाली काँग्रेस र एमालेले दलीय भागबण्डाका आधारमा अध्यक्ष र सदस्यहरु बाँडेर लिएको बुझाई छ । पूर्व कामु मुख्यसचिव लिलादेवी गड्तौला एमाले कोटाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष बनेको भनिंदैछ ।

टिप्पणीहरू