गभर्नर नियुक्तिबारे प्रधानमन्त्रीको खुलासा : सरकारमा म मात्रै छैन

गभर्नर नियुक्तिबारे प्रधानमन्त्रीको खुलासा : सरकारमा म मात्रै छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा कसैलाई ल्याउन नखोजिएको बताउनुभएको छ । उहाँले योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको प्रष्ट पार्नुभएको छ । 

पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै  प्रधानमन्त्रीले भन्नुभयो, ‘राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन । योग्यताको आधारमा क्षमतावान मान्छे ल्याउने हो । म प्रधानमन्त्री हो तर सरकारमा म मात्र छैन । त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु ।’

प्रधानमन्त्री ओलीमाथि कायम मुकायम गभर्नरको जिम्मेवारीमा रहेकी निलम ढुंगाना तिम्सिनालाई अघि सारेको आरोप लाग्दै आएको छ । गभर्नरको दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा झण्डै एक महिनादेखि स्वीकृत नगरी अड्काउनुमा निलमलाई प्रधानमन्त्रीको आड भरोसा रहेको काँग्रेसीहरुको आशंका छ ।

प्रधानमन्त्रीले हिजो गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यहरुबारे पनि आज स्पष्ट पार्नुभएको छ । भन्नुभयो, ‘एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरु पदाधिकारीसँग मेरो चिनजान र कुनै सम्बन्ध छैन ।’

टिप्पणीहरू