दुनियाँ टिकेको छ त मात्र प्रेमको देनमा

दुनियाँ टिकेको छ त मात्र प्रेमको देनमा

ऐ दिल न मुझसे छुपा
सच बता क्या हुवा

जाने भि दो दिलरुबा
जो हुवा सो हुवा । 
तारे गिने रात भर
जाने कब याद में सो गई
वो ख्वाब था मदभरा
जिस में बेहोश मै खो गई
कोई नीद में हमसे रूठके
हमको लूट के चल दिया । 
खिडकी न छोडो खुली
प्यार के चोर है ताक में
कितनों की चोरी हुई
मदभरी चाँदनी रात में ...

मधुबाला भारतीय चलचित्र जगतका एक मात्र त्यस्ती नायिका थिइन् जसको मादक आँखामा कोही अभिनेता, निर्माता, निर्देशक र निर्माण कम्पनीका कर्मचारी नडुबेका होलान्, मुस्कानमा कोही नफसेका होलान् । हलिउड फिल्मी क्षेत्रमा आजपर्यन्त अतिसुन्दर नायिकाको हकमा सबैले मर्लिन मुनरोकै नाउँ लिने गर्छन् । मधुबाला पनि मर्लिनभन्दा कम थिइनन् । त्यसैले उनलाई भारतीय सिनेमाको मर्लिन मुनरो मानिन्छ । उमेरमा मधुबाला मर्लिनभन्दा ७ वर्ष कान्छी थिइन् तर नायिका बन्न पुगे दुबैजना पहिलोपटक सन् १९४७ मा । यद्यपि, मधुबालाले ११ वर्षकै उमेरमा अभिनय शुरु गरिसकेकी थिइन् । नायिका बनेर खेल्दा मधुबाला १४ की थिइन् भने मर्लिन २१ की । अर्को समानता भनेको दुवैको निधन ३६ वर्षकै अल्पायुमा भयो । मर्लिनको सन् १९६२ र मधुबालाको सन् १९६९ मा । 

सन् १९५१ मा निर्देशक अमिया चक्रवर्तीले ‘बादल’ बनाउन थाले । नायकमा लिए प्रेमनाथलाई र नायिका बनाए मधुबालालाई । माथिको गीत सोही फिल्मको हो । मधुबाला त्यसबखत १८ की थिइन् भने प्रेमनाथ २५ का । ‘बादल’ प्रेमनाथको ११ औं चलचित्र थियो भने मधुबालाको ३७ औं जबकि दुबैजना एकै वर्ष नायक नायिका बनेका थिए । मधुबालाले अभिनयको क्षेत्रमा अग्रगामी छलाङ लगाइसकेकी थिइन् । चलचित्र बादलको छायांकनकै दौरान मधुबालाले प्रेमनाथलाई मन पराइन् । त्यसो त उनको यो पहिलो प्रेम भने थिएन । बाल्यकालमा सँगै खेल्ने लतिफसित प्रेम थियो भने चलचित्रमा काम थालेपछि निर्देशक कमाल अमरोहीले मन पराए । अमरोही विवाहित थिए । मधुबाला दोश्री पत्नी बन्न चाहँदैनथिन् । अर्को कुरा, त्यसबेलाका सफल नायक दिलिपकुमारसित पनि उनले दुइटा चलचित्र खेलिसकेकी थिइन् र दुबैको चलचित्र ‘तराना’ अत्यन्त सफल सावित भएको थियो । तरानाकै दौरान दुबैजना नजिकिए । अर्थात् मधुबालाले प्रेमनाथलाई मनपराउन थालेको बखत उनी दिलिपकुमारको पनि प्रेमिका थिइन् । 

एकदिन सुटिङस्थलमा, प्रेमनाथ मेक अप रूमभित्र थिए, कोठामा अचानक मधुबालाको प्रवेश भयो । सुटुक्क एउटा पत्र र गुलाफ प्रेमनाथलाई दिएर बाहिरिइन् । एकशब्द नबोली । प्रेमनाथ यो अप्रत्यासित ब्यवहारका लागि तयार थिएनन् । यसर्थ एकछिन टोलाएर बसे । एकछिनपछि बल्ल पत्र पढे । लेखिएको थियो– तपाईं मलाई प्रेम गर्नु हुन्छ भने यो गुलाफ स्वीकार्नुस्, प्रेम गर्नु हुन्न भने पत्र र फूल दुवै फर्काउनुस् । पत्र पढेर एकछिन त प्रेमनाथको होसहवास नै हरायो किनभने उनलाई राम्रोसित थाहा थियो कि मधुबालालाई नचाहने चलचित्र जगतमा कोही पनि थिएनन् । सबै उनको सौन्दर्य र मुस्कानमा पागल थिए । नायक शम्मीकपुर मधुबालालाई देखेपछि चलचित्रको सम्वाद नै बिर्सन्छु भनी हिँड्थे । सबैले राम्री मानेकी, सबैको मनमुटुमा बस्न सफल नायिकाले राखेको प्रेम प्रस्तावलाई नकार्ने हिम्मत उनमा आएन । उनले पत्र र फूल राखे । त्यसो त मधुबालाले उस्तै व्यहोराको पत्र र गुलाफको फूल एकै समय दिलिपकुमारलाई पनि पठाएको हल्ला थियो । तर, मधुबालाले दिलिपभन्दा बढी प्रेमनाथलाई मन पराएकोमा कुनै शंका छैन । उता, दिलिप भने मधुबालालाई गहिरो माया गर्थे । 

एकै समय दुइटा डुँगामा पाइला टेक्नुको कारण मधुबालालाई प्रेमनाथसितको प्रेम सफल हुन्छ भन्ने नलाग्नु हो किनभने उनीहरूबीच धर्म पर्खाल बनेर उभिएको थियो । मधुबाला मुस्लिम थिइन् भने प्रेमनाथ पन्जाबी । तैपनि मधुले दुबैजनासित भेट्ने, घुम्ने गर्दै गइन् । प्रेमनाथ त्यो बेलासम्म प्रेममा कच्चा नै थिए । यो नै उनको पहिलो प्रेम थियो । प्रेमनाथ मधुको प्रेममा यतिधेरै डुबे कि यसपछिका चलचित्र उनले मधुको सल्लाहमा मात्र लिन थाले । फेरि दिलिप र प्रेमनाथ मिल्ने साथी थिए । फुर्सद मिल्नेबित्तिकै रेष्टुराँमा गएर चियाको चुस्की लिने र चुरोट तान्ने गर्थे । यतिधेरै मिल्ने कि एकार्कालाई सबै कुरो नसुनाइ बस्नै नसक्ने । समयक्रममा प्रेमनाथ र मधुबालाले एकार्कालाई धर्म परिवर्तन गर्न दबाब दिन थाले तर दुबैजना सहमत भएनन् र अलि टाढिन पुगे । यसबीच, एकदिन कुरैकुरामा दिलिपले प्रेमलाई मधुबालासितको आफ्नो अफेयर सुनाउन थाले । अब भने पछि हट्ने सोच बनाए प्रेमनाथले । एकातिर मधुसितको सम्बन्धमा धर्म बाधा बन्न पुग्नु, अर्कोतर्फ मधुले मित्र दिलिपसितको सम्बन्धलाई पनि प्रगाढ बनाइरहेको थाहा पाउनु । बिस्तारै उनले मधुसितको भेट्घाटलाई पातलो बनाउँदै लगे । उनीहरूको प्रेम ६ महिना मात्र टिक्यो । 

मधुसितको प्रेम असफल भएपछि एक्लो महसुस गर्न थालेका उनले लगत्तै बिना रायसित बिहे गरे । मधु आफूलाई प्रेमनाथले यसरी चटक्कै छाडोस् भन्ने चाहन्नथिन् । जब बिना रायसित बिहे गरेको खबर पुग्यो, उनले धोका दिएको आरोप लगाइन् र प्रेमनाथको बैबाहिक जीवन पनि सुखद् नबनोस् भनेर गाली गरिन् । प्रेमनाथ र बिना रायको दाम्पत्य जीवन सुरुवातमा सुखद बनेन पनि । प्रेमनाथले रक्सीको सहयोग लिन थाले । प्रेम असफल भए पनि दुबैबीच भेटघाट भने बन्द भएको थिएन । यसको बाबजुद फिल्म ‘आराम’ र ‘साकी’ मा संगै काम गरे । प्रेमनाथले रक्सीको सहारा लिन थालेको थाहा पाएपछि मधुले भनिन्, ‘रक्सी पिउनु मेरो रगत पिउनुसरह हो ।’ प्रेमनाथले पनि आफ्नो पहिलो प्रेम बिर्सन सकेका थिएनन् । भित्री हृदयबाट मधुलाई चाहन्थे, त्यसैले करिब १४ वर्षसम्म रक्सी छोएनन् । पछि, मधुका पिता अताउल्लाह खाँ बिरामी परेर भेट्न अस्पताल पुग्दा प्रेमनाथले आर्थिक समस्या रहेको थाहा पाए । र, भारु १ लाखको चेक बिरामीको सिरानीमुनि राखिदिए । छोरो मोन्टीनाथले किन पैसा भनेर सोध्दा उनको जवाफ थियो– ‘मधुसित मेरो बिहे भएको भए उनी मेरा ससुरा हुन्थे ।’ प्रेमनाथसित सम्बन्ध टुटेपछि मधुले दिलिपकुमारसितको सम्बन्धलाई गहिरो तुल्याउँदै लगिन् । उनीहरूको यो सम्बन्ध ७ वर्ष चल्यो । अन्तिममा उनीहरू पनि छुट्टिए । दिलिप र मधुबालाको प्रेमकथा २०७५ असार २७ गतेको जनआस्थामा प्रकाशित भइसकेको छ ।

उता, एकपछि अर्को चारैवटा प्रेम असफल भएपछि मधु डिप्रेसनमा गइन् । दिलिप र मधुको अन्तिम चलचित्र ‘मुगल ए आजम’ हो । त्यसबेलासम्ममा उनीहरूको सम्बन्ध निकै चिसो भइसकेको थियो तर, सो चलचित्रमा आफ्नो व्यावसायिक धर्म निभाए र दर्शकलाई अलिकति पनि महसुस हुन दिएनन् कि नायक–नायिका भर्खर टुंगिएको प्रेमकथाका पात्रहरू हुन् । मधुको सानैदेखि स्वास्थ्यमा समस्या थियो । मुटुमा प्वाल परेको थियो । यसको बाबजुद उनी सबैसित हाँस्थिन्, हँसाउँथिन् । नाच्ने, पानीमा भिज्ने, दौडने सबै गर्थिन् । सुटिङ गर्दागर्दै कतिपटक त बेहोस भएर लडिन् पनि । लगातारको असफल प्रेम र विशेषतः दिलिपसितको प्रेमपछि दिलिपलाई बिहे गरेर देखाइदिने घमण्ड चढ्यो । 

यसबीच, चल्तीका नाम गाडीको छायाँकन शुरु भयो । हिरो थिए किशोरकुमार । किशोरकुमार हाँसोठट्टा गरेर सबैलाई हँसाइराख्ने स्वभावका थिए । रोग, असफल प्रेम र घरको जिम्मेबारीबाट थिचिएकी मधु किशोरको ठट्टामा हाँस्ने गर्थिन् । लाग्यो जीवनमा कसैले खुशी दिन सकेनन्, सबैले दुःख मात्र दिए तर किशोरका कारण हाँस्न पाइयो । किशोरमाथि प्रेमभाव जागेन तर जीवनको उत्तरार्धमा जीवनसाथीको अभाव महसुस गर्न थालिसकेकी थिइन्, धोका दिने दिलिपलाई देखाउनु पनि थियो, त्यसैले अनायास किशोरसित बिहेको निधो गरिन् । र, सन् १९६० मा कोर्ट म्यारिज गरिन् । मधु किशोरकी दोश्री पत्नी थिइन् । जीवनको उत्तरार्धमा मधु लोग्नेको साथ चाहन्थिन् । किशोरले बिरामी पत्नीको उपचारको सम्पूर्ण खर्च त उठाए तर समय भने दिएनन् । बिस्तारै बिरामी पत्नीसित भेटघाट पनि पातलो बनाउँदै लगे । यसबाट मधुको हृदयमा गहिरो चोट लाग्यो । र, ३६ वर्षको कलिलो उमेरमै देह त्यागिन्– सन् १९६९ को फेब्रुवरी २३ मा । 
 

टिप्पणीहरू