क्याफेमा खाजा खाइरहँदा धारिलो हतियार प्रहार

क्याफेमा खाजा खाइरहँदा धारिलो हतियार प्रहार सांकेतिक तस्विर

चितवनको खैरहनी नगरपालिकामा केही बेरअघि कुटपिटको घटना भएको छ । धारिलो हतियार प्रहारबाट तीन जना घाइते भएका छन् । 

दिउँसो साढे एक बजेतिर खैरहनी–८ स्थित आहार क्याफेमा खाजा खाइरहेका बेला राप्ती नगरपालिका–४ बस्ने २८ वर्षीय दिपेन्द्र सिंह गोले, राप्ती–२ का वर्ष २८ कै गणेश लामा र खैरहनी–९ का २७ वर्षीय अमृत आचार्यमाथि सांघातिक आक्रमण भएको बुझिन्छ । उक्त आक्रमणबाट दिपेन्द्रको बायाँ हातको नाडीमा गहिरो चोट पुगेको प्रहरीले जनाएको छ । 

गणेशको बायाँ हात र तिघ्रामा मध्यम चोट लागेको र अमृत सामान्य घाइते भएको बताइएको छ । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जनाइएको छ ।

गैंडाकोट घर भएको सरोज क्षेत्री लगायत ३-४ जना आई धारिलो हतियार प्रयोग गरी कुटपिट गरेर फरार भएको बताइन्छ । यो सूचना पाउनासाथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी निरीक्षक प्रदीप महतको कमाण्डमा टोली खटिएर कुटपिट गर्ने व्यक्तिहरुको खोजतलास भइरहेको चितवन प्रहरीले बताएको छ ।

यसैक्रममा अघि चार बजेतिर अनुसन्धानको लागि दुईजनालाई नियन्त्रणमा लिएको पनि प्रहरीले जानकारी गरायो । राप्ती–४ भवानीपुर बस्ने २९ वर्षीय मिलन रुम्बा र वर्ष २९ कै विशाल लामालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

टिप्पणीहरू