एमाले सांसदविरुद्धको पक्राउ पुर्जी गायव, प्रहरी प्रमुख भन्छन्, ‘खै ! थाहा छैन’

नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थीलाई समात्न जारी भएको अदालतको पुर्जी भित्रभित्रै गायब पारिएको पाइएको छ । काठमाडौँमा केन्द्रीय कार्यालय रहेको गौतम बुद्ध हाइड्रोपावर प्रालिका सञ्चालकसमेत रहेका पन्थीविरुद्ध जिल्ला अदालत मोरङले जारी गरेको पक्राउ पुर्जी गायब भएको हो ।
विराटनगरमा मुख्य कार्यालय रहेको पल्लवी इलेक्ट्रो प्रालिले उपलब्ध गराएको विद्युतीय सामाग्रीको भुक्तानी विवादमा जिल्ला अदालतले गत वर्ष जेठ ३२ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर, एक वर्षसम्म पनि उनी पक्राउ परेका छैनन् ।
आज बिहान लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी बुद्ध जयन्ती विशेष समारोहमा पन्थी पनि सहभागी भएपछि प्रहरीले अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै आलोचना भैरहेको छ । अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि उनी किन पक्राउ परेनन् त ? यसबारे जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) प्रदीप बहादुर क्षेत्रीले समेत अनविज्ञता प्रकट गरे ।
सत्तारुढ दलका संसद्को विषयमा बोल्न नचाहेका उनी आफू ‘भर्खर सरुवा भएर आएको र यो पुरानो केस भएकोले केही थाहा नभएको’ भन्दै पन्छिए । ‘अहिले सामाजिक सञ्जालमा यो विषय देखेपछि बल्ल मैले पनि थाहा पाएँ, के कसो हो, म बुझ्दैछु’, उनले भने ।
बताइएअनुसार अदालतले गत वर्ष असार १२ गते जिल्ला प्रहरी कार्यालय काठमाडौँलाई पन्थीलाई पक्राउ गरेर उपस्थित गराइदिने व्यहोराको पत्रसमेत पठाएको थियो । पन्थी बुटवलमा बस्ने गरेको खुलेपछि भने काठमाडौँ प्रहरीले सोही वर्ष साउन ६ गते अदालतले जारी गरेको पुर्जीको प्रतिलिपिसहित समातेर उपस्थित गराइदिने व्यहोराका पत्र जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पठायो । तर, अहिलेसम्म उक्त पत्र रुपन्देही प्रहरीको कार्यालयमै पुगेको छैन ।
जिल्ला प्रहरी प्रमुख एसपी क्षेत्रीले तत्काल त्यस्तो कुनै पत्र नआएको बताएपछि जनआस्थाले तत्कालीन प्रहरी प्रमुख (एसपी) रञ्जित सिंह राठौरलाई पनि सम्पर्क गरेको छ । तर, उनले पनि पन्थीलाई पक्राउ गर्ने व्यहोराको पत्र नआएको दाबी गरे ।
‘अदालतले पक्राउ पुर्जी जारी गरेपछि पन्थीलाई पक्राउ गर्न काठमाडौँ प्रहरी परिसरले तपाईहरु (रुपन्देही)लाई पत्र पठाएको रहेछ, पत्र कहाँ गयो त ?’ भन्ने प्रश्नमा उनले भने, ‘त्यो मेरो जानकारीमा छैन । त्यतिबेलाको कमाण्ड मैले नै सम्हालेको थिएँ, तर म रहुञ्जेल त्यसप्रकारको कुनै पत्र आएन । कुनै प्राविधिक कारणले नआएको भए, त्यो बेग्लै कुरा हो । तर पत्र आएर पनि कार्यान्वयन नगरेको भन्ने चाहीँ होइन ।’
त्यसो त, काठमाडौँ प्रहरी परिसरले रुपन्देहीलाई पठाएको पन्थीलाई पक्राउ गर्ने व्यहोराको पत्र सार्वजनिक भइसकेको छ । चलानी नं ७८२ रहेको उक्त पत्रमा जिल्ला अदालत मोरङ र जिल्ला प्रहरी परिसर टेकुलाई बोधार्थ दिइएको छ । तर, काठमाडौँ प्रहरीले पठाएको पत्र रुपन्देही नपुग्नु र पन्थी खुलेयाम हिँड्नुले शंका पैदा गरेको छ ।
लुम्बिनीमा लामो समय काम गरेका प्रहरीका एकजना पूर्व अधिकृतले राजनीतिक दबाबको कारण पत्र गायब पारिएको हुनसक्ने अनुमान गरेका छन् । कपिलवस्तुको बाणगंगा नगरापलिका घर भएका पन्थी कुनै बेला हाल अर्थमन्त्रीसमेत रहेका पार्टी उपाध्यक्ष विष्णु पौडेल समूहमा थिए, तर अहिले महासचिव शंकर पोखरेलको समूहमा रहेको बताइन्छ ।
काठमाडौँ प्रहरीले पन्थीलाई पक्राउ गर्ने व्यहोराको पत्र रुपन्देही प्रहरीलाई पठाउँदा पार्टी अध्यक्ष ओली प्रधानमन्त्री भइसकेका थिए । यी सबै पृष्ठभूमिमा प्रहरीले नै उक्त पक्राउ पुर्जी गायब पारेको ती उच्च अधिकृतको विश्लेषण छ ।
‘विराटनगरबाट जारी भएको पक्राउ पुर्जी काठमाडौँ हुँदै रुपन्देही पुग्न दुई महिनाभन्दा बढी लागेको देखियो, यो बीचमा सरकार पनि परिवर्तन भयो’, उनले भने, ‘सत्तारुढ पार्टीको माननीयजस्तो मान्छेलाई छुने हिम्मत प्रहरीसँग छैन, यति भनिसकेपछि त्यो पत्र कहाँ गयो, खोजिरहनु पर्दैन । बरु गायब बनाउन कसले निर्देशन दियो, उसको खाेजी गर्दा हुन्छ ।’
टिप्पणीहरू