सरकारले राम्रो काम गरेकाले प्रचण्ड छट्पटाएको शंकरको दाबी

सरकारले राम्रो काम गरेकाले प्रचण्ड छट्पटाएको शंकरको दाबी फाइल फोटो

नेकपा एमालेका महासचिव शंकर पोखरेल फेरि एकचोटि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि खनिएका छन् । सरकार लक्षित प्रचण्डका सार्वजनिक टिप्पणीलाई सत्ता गुमाउनुको पीडा र छटपटीको अर्थ लगाउँदै आएका उनले आज पनि त्यहि कुरा दोहोर्याएका हुन् । 

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले हिजो पाँचथरको फिदिममा आयोजित आमसभालाई सम्बोधन गर्दै सरकारलाई ‘रुझेको बिरालो’को संज्ञा दिएका थिए । उनले भनेका थिए, ‘सरकारसँग दुई तिहाई बहुमत त छ, तर मनैदेखि चाहिँ आफैँ डराएर रुझेको बिरालो भएको छ ।’

विपक्षी दलका नेताको उक्त अभिव्यक्तिको सामाजिक सञ्जालमार्फत खण्डन गर्दै शंकरले ‘प्रचण्डजी तपाई के बोल्दै हुनुहुन्छ ?’ भन्दै जवाफ फर्काएका हुन् । अघिल्लो सरकारको पालामा भन्दा अहिले राजश्वमा उल्लेख्य वृद्धि भएको, विदेशी मुद्राको सञ्चिति बढेको, निर्माणी व्यवसायीको भुक्तानी भएको र निर्माण ठप्प रहेका ठूला आयोजनाको कामले तिब्रता पाएको उनको दाबीसमेत छ । 

यस्ता विभिन्न तथ्यहरुले प्रचण्डमा बैचनी बढेको उनले आरोप लगाए । 

यस्तो छ शंकरको दाबी 

तपाई प्रधानमन्त्री हुदाको भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको छ ।

विदेशी मुद्राको संचिति वढेको छ ।

सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ ।

निर्माण व्यावसायिलाई कामवापतको तपाईको नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ ।

निर्माण ठप्प रहेका ठुला आयोजनाहरुको काममा तिव्रता आएको छ । जस्तो पोखरा -मुग्लिन सडक, गैडाकोट- वुटवल सडक आदी ।

भुकम्प र वाढि पिडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ ।

वैंकको तरलता वृद्धि भएको छ । व्याजदर घटेको छ । लगानी वृद्धि हुन थालेको छ ।

कानून निर्माणको कामले तिव्रता पाएको छ ।

सहकारीमा भएको घोटालाको छानविन र कार्वाहीको प्रकृया अघि वढेको छ । साना वचत कर्ताको वचत फिर्ता गर्ने प्रकृया सुरुभएको छ ।

कानूनी सुधारको प्रकृयावाट लगानी योग्य वातावरण तयार भएको छ ।

क़ानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ ।

भूमि समस्याको समाधानको प्रकृया अघि वढेको छ ।

सरकारको स्थायित्वको आधार तयार भएको छ ।

उपरोक्त कारणले नै तपाईको पीडा र छटपटी वढेको देखिन्छ । होइन र ?

टिप्पणीहरू