गृहजिल्ला पुगेका मन्त्रीविरुद्ध नाराबाजी

गृहजिल्ला पुगेका मन्त्रीविरुद्ध नाराबाजी

कोशी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भुपेन्द्र राईविरुद्ध खोटाङमा नाराबाजी भएको छ । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य राईविरुद्ध पार्टीकै कार्यकर्ताले गालीगलौज गर्दै नाराबाजी गरेका हुन् ।  

मन्त्री राई आज दिउँसो कार्यकर्ता भेटघाटका लागि साकेला गाउँपालिका पुगेका थिए । कांग्रेसबाटै निर्वाचित पालिका अध्यक्ष रवि प्रकाश राईको संयोजनमा भेटघाट आयोजना गरियो । तर मन्त्री राई त्यहाँ पुगेलगत्तै कार्यकर्ताले नाराबाजी गरेका हुन् । 

चालु आर्थिक वर्षमा गाउँपालिकामा परेको कतिपय आयोजनाको बजेट मन्त्री राईले कटौती गरेको भन्दै कार्यकर्ताहरू विरोधमा उत्रिएको गाउँपालिकाकी उपाध्यक्ष बिर्सिका राईले जानकारी दिइन् । मन्त्री राईप्रति पार्टीकै स्थानीय कार्यकर्ताले उक्त आरोपमा आक्रोश पोख्दै आएका थिए । ‘अघिल्ला दिनहरुमा पनि उहाँको पार्टीकै कार्यकर्ताले बजेट काटेकामा असन्तुष्टी पोख्दै आएका थिए’, उनले जनआस्थासँग भनिन्, ‘आज मन्त्रीज्यू गाउँपालिकामै आएपछि कार्यकर्ताको आक्रोश पोखिएको हो ।’

टिप्पणीहरू