गभर्नर नियुक्तिको ‘टाइमलाइन’ भोलि, बूढानीलकण्ठमा ‘वार कि पार’ पर्सि

गभर्नर नियुक्तिको ‘टाइमलाइन’ भोलि, बूढानीलकण्ठमा ‘वार कि पार’ पर्सि

नेपाली काँग्रेसले पदाधिकारी बैठक डाकेको छ । पर्सि बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा डाकिएको बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ । 

काँग्रेस शीर्ष नेताहरुबीच पेचिलो बन्दै गएको गभर्नर नियुक्तिको विषय बैठकमा मुख्य रुपले उठ्ने सम्भावना छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभापति देउवासँगको पछिल्लो भेटमा भोलि बस्ने क्याबिनेट बैठकबाट राष्ट्र बैंकको गभर्नर नियुक्त गरिने बताउनुभएको थियो । भोलि बेलुकी उक्त आश्वासन कार्यान्वयन नभए काँग्रेस नेताहरु पर्सि बूढानीलकण्ठमा उग्र रुपमा प्रस्तुत हुने स्रोतको दाबी छ । 

कायम मुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले कार्यकारी निर्देशक गुणाकर भट्टको २१ दिन अघिको राजीनामा स्वीकृत नगरेपछि काँग्रेसले अनेक आशंका गरेको हो । सुदूर पश्चिमका भट्टलाई गभर्नरमा अघि सारेपछि प्रधानमन्त्रीले वचन दिनुभएको स्वयम् देउवाले हिजो सार्वजनिक कार्यक्रममा जानकारी दिनुभएको थियो ।

चार वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै तिम्सिनालाई वरिष्ठ कार्यकारीलाई पन्छाएर डेपुटी नियुक्त गरेको थियो । अहिले सत्तारुढ दलहरुबीच गभर्नर नियुक्तिमा सहमति भइसक्दा उनले हलो अड्काएको विषयलाई काँग्रेसले फरक कोणबाट पनि विश्लेषण गरेको बताइन्छ । 

‘वार कि पार’ भनेको के हो ? भनेर सोधिएको प्रश्नमा एक जना काँग्रेस पदाधिकारी भन्छन्, ‘भोलिको क्याबिनेटमा सहमति कार्यान्वयन भएन भने, शंका प्रधानमन्त्रीतिर पनि गरिन्छ । डेपुटीले सरकारलाई देर्दिनन् भने उनले कसलाई टेर्छिन् ? त्यसैले उनलाई निलम्बन गरेर भएपनि भट्टको राजीनामा स्वीकृत र लगत्तै गभर्नरमा नियुक्त गर्न प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो माग हुन्छ ।’

टिप्पणीहरू