जेईएम प्रमुख अजहरका १० आफन्त मारिएको दाबी

जेईएम प्रमुख अजहरका १० आफन्त मारिएको दाबी

पाकिस्तान प्रशासित कश्मीरमा भारतले गरेको सैन्य आक्रमणबाट आतंकवादी संगठन जैश–ए–मोहम्मद (जेईएम) का प्रमुख मसुद अजहरको परिवारका १० सदस्य मारिएका छन् । 

यसको जानकारी अजहर आफैँले दिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । जेईएमको विज्ञप्तिको हवाला दिँदै समाचारमा अजहरका दिदी, भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच छोराछोरी मारिएको जनाइएको छ ।

त्यस्तै, आक्रमणबाट उनका चार जना नजिकका साथीको पनि ज्यान गएको छ । समाचारमा भनिएअनुसार मसूद अजहरका तीन सहयोगी र सहयोगीमध्ये एककी आमा मारिएका हुन् । 

पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा अजहरका आफन्तहरूको ज्यान गएको जनाइएको छ । अजहर मुम्बई आक्रमणमा संग्लग्न व्यक्ति हुन् । 

फेब्रुअरी २०१९ मा (जेईएम) ले जम्मू-कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० सैनिक मारिएका थिए । सोही वर्ष उनलाई विश्वव्यापी आतङ्कवादीको रूपमा घोषणा गरिएको थियो ।

टिप्पणीहरू