दुई सय किलो गाँजासहित भारतीय नम्बर ट्रक नियन्त्रणमा

दुई सय किलो गाँजासहित भारतीय नम्बर ट्रक नियन्त्रणमा

चितवनमा आज बिहान भारतीय नम्बर प्लेटको ट्रकमा ओसारपसार भइरहेको दुई सय किलो गाँजा बरामद भएको छ । रातको अन्दाजी २ बजे खैरहनी नगरपालिका–३ टुंगारास्थित भित्री सडकबाट प्रहरीले करिब २०० किलो गाँजासहित ट्रक र तीन जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको उक्त ट्रकमा लागुऔषध (गाँजा) ओसारपसार भइरहेको छ भन्ने सूचना प्रहरीले पाएको थियो । लगत्तै इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी बरिष्ठ नायब निरीक्षक मोतीराम शर्मा र प्रहरी चौकी चैनपुरबाट सहायक निरीक्षक द्वारिका खवाससहितको टोली चेकजाँचमा खटियो । 

सो क्रममा टुंगारामा भेटिएको उक्त ट्रकको क्याबिनमा फल्स बटमभित्र करिब २०० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले गाँजा र ट्रकसहित चालक भारत बिहार मोतीहारी जिल्ला मधुबन बस्ने ४० वर्षीय बिरेश यादव र त्यसमा सवार अरु दुईजना नेपाली चितवनकै राप्ती नगरपालिका– १२ का ४७ वर्षीय चन्द्रबहादुर तामाङ र वर्ष २५ को सुभाष तामाङलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

टिप्पणीहरू