सरकारको नीति तथा कार्यक्रम ‘कर्मकाण्डीय’ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रमलाई कर्मकाण्डीयको उपमा दिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै अध्यक्ष दाहालले औपचारिकताका लागि बनाइएको कर्मकाण्डीय भन्नुभएको छ ।
अघिल्लो वर्ष आफू नेतृत्वको सरकारले सबै पक्षको छलफलपछि नीति तथा कार्यक्रम बनाएको उदाहरण दिँदै भन्नुभयो, ‘मैले यही सम्मानित संसद्मा माननीय सांसदका मतहरूलाई समेत ध्यानमा राखेर नीति तथा कार्यक्रमको कर्मकाण्डीय परम्परा भत्काउन खोजेको थिएँ । बजेट प्रस्तुतिको तीन महिना अगावै नीति तथा कार्यक्रम सार्वजनिक गरी बजेटको नयाँ क्यालेन्डर जारी गरिएको थियो ।’ तर यस पटक ती सबै प्रक्रिया छाडेर मनमौजी तवरले कार्यक्रम बनाएको उहाँको आरोप छ ।
उहाँले वर्तमान सरकारसँग संख्याको दम्भ रहेकाले निरंकुशतावादी चिन्तन हावी रहेको बताउनुभयो । गलत तवरले बनाइएको नीति तथा कार्यक्रम सच्च्याउन उहाँले माग गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेर छलफलको नाममा नौटंकी नदेखाउन पनि सरकारलाई आग्रह गर्नुभयो । ‘नीति तथा कार्यक्रम प्रस्तुत हुनुअघि नै जनप्रतिनिधिसँग छलफल गरेर सुझाव समेट्नुपर्ने हो, तर अब गरिएको छलफलको के अर्थ ? सुझाव समेटिने पनि होइनन् । त्यसैले संसदलाई फगत कुरा राख्ने मात्र भन्दा पनि सुनुवाई हुने थलो बनाइयोस्’, उहाँले सभामुखको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा सत्तारुढ दलकै नेताहरुमा देखिएको मौनताले सरकारको अलोकतान्त्रिक चरित्र प्रमाणित भएको प्रचण्डको अनुभव छ । साथै, उहाँले नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवको आयोजनालाई ‘साइड’ लगाइएको पनि बताउनुभयो । ‘सरकारले त्यत्रो नीति तथा कार्यक्रम त प्रस्तुत गर्यो, तर राष्ट्रिय गौरवको आयोजना भन्ने एउटा शब्द पनि प्रयोग नगरिएको देख्दा अचम्म लाग्यो’, उहाँले थप्नुभयो ।
टिप्पणीहरू