आरोप–प्रत्यारोपमै बित्छ, अखिल नेताको दैनिकी
‘ओइ, तँजस्तो घरबार बिग्रेको मान्छे हो र म ? गोसाइँकुण्ड जाँदा फरक कोठा लिएर एउटै कोठामा बस्ने, त्यो कुरा साराले थाहा पाएपछि तिहारमा टीका लगाएको नाटक गर्ने ?’ यस्तरी घोचपेच चल्ने गरेको अनेरास्ववियुको वैशाख १२ गते पदाधिकारी बैठक बस्यो । प्रमुख अतिथि पार्टी महासचिव शंकर पोखरेल थिए ।
पदाधिकारीले उमेर हद लगाउने कि खुला भन्ने विषयमा मिश्रित धारणा राखे । चालिसेहरूको बहुमत भएको भन्दै ३२ वर्षभन्दा तलका पदाधिकारीले उमेर हदको वकालत गरे । उमेर हद लगाउने पक्षमा अध्यक्ष समिक बडाल, उपाध्यक्षहरू धर्म गिरी, गोविन्द गिरी, नारायण घर्ती र मर्यादा बिष्ट, सचिवहरू दीपक धामी, आरती भट्टराई, अञ्जना शिवाकोटी, प्रकाश पौडेल, विनिता काफ्ले आयोग अध्यक्ष सुनिल तिमल्सेना आदि देखिए भने अर्थमन्त्री विष्णु पौडेलका पिए संगम अर्यालले चाहिँ पार्टी निर्णय मान्ने बताएका छन् । सचिव सञ्जीव धितालको भने फरक धारणा रहेको छ । ३० लगाऊँ, नत्र खुला गरौँ भन्छन् उनी । सुजन कडरिया भने बीच बीचमा देखिएका छन् ।
उमेर हदको विपक्षमा महासचिव नरेश रोकायाको अडान दह्रो छ । उमेर हदको औपचारिक प्रस्ताव समिक बडालले राखेपछि उनी क्रुद्ध बनेका छन् । बैठक सकिएपछि रिसले चुर देखिए । उपाध्यक्ष धर्म गिरीको प्रस्तुतिबारे एक पदाधिकारी भन्छन्, ‘यसरी प्रस्तुत भएको आजसम्म देखेका थिएनौँ ।’ म अध्यक्षको उम्मेदवार हुँ भनेर गिरीले पहिलोपटक मुख खोलेका थिए ।
एकसरो रिपोर्टिङ सुनेपछि महासचिव पोखरेलले भने, ‘बहस चलेपछि उमेर हद लाग्ने कि नलाग्ने, लाग्दा के–के फाइदा ? नलाग्दा के घाटा ? तथ्य र तर्कसहित आउनुस्’, त्यसपछि बैठकमा सन्नाटा छायो । संगठनको काम गर्नु छैन, क्याफे र चिया पसलमा बसेर संगठन कसरी चल्छ ? उनको गुनासो थियो ।
वैशाख ११ गते एमालेले लोकतन्त्र दिवसको दिन पारेर काठमाडौँको भृकुटीमण्डपमा युथ सेलिब्रेसन कार्यक्रम राखेको थियो । सञ्चालक बिहानी पंगेनी थिइन् भने वक्ता सबै ४० मुनिका थिए । पार्टी अध्यक्ष र महासचिवबाहेक अरू नेतालाई अतिथिसमेत बनाइएको थिएन ।
प्रतिक्रिया दिँदा श्रीमतीको आक्रोश
अखिल अध्यक्ष समिक बडाल व्यक्ति मात्र होइन, पब्लिक फिगर र संस्था पनि हुन् । उनको फेसबुक पोस्टमा कुनै नकारात्मक प्रतिक्रिया आयो भने श्रीमती सम्झना अधिकारी जवाफ दिन थाल्छिन् । त्यति मात्र होइन, ब्लक या अनफ्रेन्डसमेत गरिहाल्छिन् । अखिलमा अहिले ब्लक खाने र साथीको लिस्टबाट हट्नेको संख्या धेरै छ ।
पार्टीका केही केन्द्रीय सदस्यले बागमती करिडोरमा चिया पिउँदा यो प्रसंग उप्किएपछि अखिलका एकजना पूर्वअध्यक्षले भनेका थिए, ‘समिकलाई पटक–पटक भनेको छु, भाइ श्रीमतीलाई सम्झाऊ, यसरी तिमीविरुद्ध आलोचना हुँदा श्रीमतीले लेख्नु राम्रो होइन, नेता भएपछि आलोचना त अलि–अलि भइहाल्छ नि !’
त्यही समयका एक नेता आक्रोशित हँुदै भन्छन्, ‘तिनै सम्झना पिकेमा पढ्दा अरुलाई कति आलोचना गर्थिन् भनेर ०६२÷६३ देखि ०७२ सम्म अखिलमा काम गरेकालाई सोध्दा थाहा हुन्छ ।’
टिप्पणीहरू