पानीको फोहोरा र ढुंगामुढाको शिकार पत्रकार

पानीको फोहोरा र ढुंगामुढाको शिकार पत्रकार

शिक्षक आन्दोलन भएको आज २६ औँ दिन । हिजोसम्म सडकमा अनेक कला देखाएर शान्तिपूर्ण प्रदर्शन गरेका शिक्षकहरु आज एकाएक आक्रोशित हुँदा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो । निषेधित क्षेत्र तोड्न खोजेका शिक्षक र प्रहरीबीच झडप हुँदा दर्जनौं घाइते भए ।  

झडपमा शिक्षक र विद्यालय कर्मचारी मात्र होइन, एकजना पत्रकारसमेत गम्भीर घाइते भएका छन् । आन्दोलनको रिपोर्टिङ गर्न पुगेकी प्राइम टेलिभिजकी पत्रकार सबिना कार्कीको आँखामा गहिरो चोट लागेकाले तिलगंगा आँखा अस्पतालमा उनको उपचार  भइरहेको छ ।

“पानीको फोहोरा एक्कासी आयो । म छेउतिरै भएकाले अनुहारमा लाग्यो । म ढलेँ । एक जना शिक्षिका आएर प्रहरीलाई खबर गरिदिनुभयो”, उनले भनिन्, “त्यसपछि अस्पताल लैजानुभयो । दाहिने आँखाले देख्दै देख्दैन । देब्रे आँखाले हेर्न मिल्छ । दाहिने आँखा खोल्नै मिल्दैन ।” 

रिपोर्टिङ गर्दागर्दै घाइते भएकी कार्कीका अनुसार शिक्षकहरुले हिजै निषेधित क्षेत्र तोड्ने भनेकाले आज झडपको अवस्था निम्तिएको हो । प्रहरीले भीडलाई नियन्त्रणमा लिन पानीको फोहोरा प्रहार गरेपछि प्रदर्शनकारीले ढुङ्गा हानेको उनले बताइन् ।

कार्कीले पानीको फोहोराले एक्कासी अनुहारमा लागेको बताइन् । बायाँ आँखाले केही हदसम्म हेर्न मिले पनि दायाँ आँखा खोल्नै नमिल्ने अवस्थामा रहेको उनको भनाई छ ।  

उपचारमा संलग्न चिकित्सक डा. सिभान्त श्रेष्ठकाअनुसार आँखाभित्र रगत जमेको छ । जसका कारण भिजन एकदमै कम भएको हो । चोटको कारण आँखाको प्रेसर पनि बढेको उनले जानकारी दिएका छन् । 

घाइते पत्रकार कार्कीलाई भेट्न नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहालको टोली अस्पताल पुगेको थियो । प्रहरीले गरेको प्रहार निन्दनीय र खेदजनक रहेको महासंघको ठहर छ ।

टिप्पणीहरू