बैंककबाट देउवा नफर्कँदै ओलीद्वारा शंकासहितको फोनवार्ता

यो साता राष्ट्रिय राजनीतिमा सर्वाधिक चासो र चर्चाको विषय बन्यो- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको थाइल्याण्ड भ्रमण । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्र असन्तुष्टि चर्किएको र दक्षिणको छिमेकी सत्ता समीकरण भत्काउने भित्री खेलमा रहेको भनिएका बेला देउवाको बैंकक यात्रा आफैँमा अर्थपूर्ण थियो । पाँच दिने भ्रमण सकेर आज अपराह्न स्वदेश फर्किएका उनले सरकारबारे दिएको प्रतिक्रियाले पनि गठबन्धनमा आशंका कायम रहेको प्रष्ट हुन्छ ।
देउवा आइतबार पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा,छोरा बुहारी जयवीर-शिवानी र पिए भानु देउवालाई लिएर थाइल्याण्डको राजधानी बैंकक उडेका थिए । स्वास्थ्य उपचारका लागि भनिए पनि भ्रमणका दौरान देउवा दम्पत्तिले त्यहाँ उच्च राजनीतिक भेटवार्ता गरेको अनुमान गरिएको छ । केही वर्षयता भारतले दक्षिण एसियाली मुलुकको सत्ता-राजनीतिका महत्वपूर्ण र गोप्य भेटवार्ताको थलो बैंककलाई बनाएको छ । तर,आज एअरपोर्ट उत्रेलगत्तै श्रीमान-श्रीमती दुबैले यौटै स्वरमा सरकार नढल्ने दावी गरे ।
कांग्रेस-एमाले सहकार्य संकटमा परेको र ओली नेतृत्वको सरकार ढल्न लागेकोबारे सञ्चारकर्मीको जिज्ञाशामा देउवाले गठबन्धनमा कुनै विवाद नरहेको बताए । आरजुले पनि सरकार नढल्ने जिकिर गर्दै पत्रकारका प्रश्नको जवाफमा भनिन्, ‘यसमा कुनै सत्यता छैन,अलिअलि इन्टरटेन्मेन्टका लागि पनि यस्ता न्युजहरु आउने गर्छ ।’
'हिजो प्रधानमन्त्री र उहाँ(देउवा) बीच फोनमा कुरा भएको थियो । प्रधानमन्त्रीज्यूले सरकार परिवर्तनको हल्लाबारे के हो भनेर सोध्नुभयो,' फोनवार्ता सुनाउँदै उनले भनिन्, 'उहाँले के हो के हो भन्नुभयो ।'
सरकारको बचाउमा आरजुले देउवा बैंककमै हुँदा हिजो प्रधानमन्त्री ओलीसँग फोनवार्ता भएको पनि खुलाइन् । 'हिजो प्रधानमन्त्री र उहाँ(देउवा)बीच फोनमा कुरा भएको थियो । प्रधानमन्त्रीज्यूले सरकार परिवर्तनको हल्लाबारे के हो भनेर सोध्नु भएको थियो,' फोनवार्ता सुनाउँदै उनले भनिन्, 'उहाँले के हो के हो भन्नुभयो ।'
उनले गठबन्धन तलमाथि नहुने र सरकार नढल्ने यस्तो दावी गरिरहँदा आज स्वदेश फर्किन लागेका देउवासँग प्रधानमन्त्री ओलीले फोनमै कुरा गरेको स्थितिले शंका बढेको अनुमान सहजै गर्न सकिन्छ । त्यसो त,शीर्ष नेताले बोलेका कुरामा विश्वास गर्ने कि नगर्ने ? भन्ने प्रश्न पनि छ । घात,प्रतिघात र धोकाको पर्यायजस्तै बनिसकेको सत्ता-राजनीतिमा प्रमुख पार्टीका शीर्ष नेताले एकार्कालाई धोका दिएको र खाएको लामो शृंखला नै छ ।
गत वर्ष असार १७ गते मध्यराति देउवासँग गरेको सात बुँदे सहमतिको कागज खल्तीमा राखेर भोलिपल्ट एकाबिहानै तत्कालीन प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका ओलीले कांग्रेससँग सहमति नै नभएको बताएका थिए । 'स्वर्ग नर्क'को बाचा गरिएको त्यतिबेलै हो । यसकारण प्रमुख पार्टीका शीर्ष नेताप्रति यतिधेरै अविश्वास छ कि उनीहरुले बोलेको भन्दा ठ्याक्कै उल्टो बुझ्नुपर्ने ! कतै देउवाले 'सरकार ढल्दैन' भनेको 'छिट्टै ढल्दैछ' भनेको पो हो कि !
देउवाको आजको अभिव्यक्ति 'ठूलो आँधी आउनुअघिको सन्नाटा' त होइन ? एमालेका एकथरी नेता आशंका गर्छन् । 'उनी (देउवा) बेक्कारमा बैंकक गए । जानुपर्ने कारण नै थिएन', अनौपचारिक संवादमा १० भाइ समूहका एक नेता भन्छन् । किन गएका हुन् र को-को सँग भेटे भन्ने कुरा क्रमश: खुल्दै जाने र दुई-चार दिनमा सरकारको स्थिति पनि क्लियर हुने उनको विश्वास छ ।
देउवाले बैंककमा भारतीय नेतासँग भेटेको अनुमान गरिएको छ । उनी बैंकक उड्नु दुई दिनअघि काठमाडौँस्थित भारतीय खुफिया एजेन्सी 'रअ'का प्रमुख अन्शुल शर्मा १० घण्टाका लागि दिल्ली गएका थिए । जानकार स्रोतका अनुसार रअ प्रमुखको दिल्ली दौड देउवाले भेट्ने मान्छे तय गर्न केन्द्रित थियो । यसबाट सशंकित बालुवाटारले देउवाले कसलाई भेटे भन्ने सूचना पाए नपाएको प्रष्ट छैन ।
देउवाले सरकारबारे कुटिल जवाफ दिए पनि दुई पार्टीबीच अविश्वास कुन तहमा पुगेको छ भन्ने बुझ्न नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भैरहेको ढिलाई हेरे पुग्छ । गभर्नर आफूले पाउनुपर्ने अडानमा रहेको कांग्रेसले उस्तै परे गठबन्धन तोड्ने तहमा प्रतिष्ठाको विषय बनाएको देखिन्छ । तर, राष्ट्र बैंककै तेस्रो वरियताका कर्मचारी गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति गरेर बैंकक उडेका देउवा फर्किंदासम्म नियुक्त भएका छैनन् । उल्टै एकातिर कार्यकारी निर्देशक पदबाट उनले दिएको राजीनामा स्वीकृत भएको छैन भने अर्कोतिर अदालतमा मुद्दा परेको छ ।
गभर्नर नियुक्तिलाई बालुवाटारले नै गिजोलेको काँग्रेसको बुझाइ छ । प्रधानमन्त्री ओलीको उम्मेदवार भनिएकी कामु गभर्नर निलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् । हालै एउटा व्यापारीको टोलीलाई निलमले 'म भन्दा तलको वरियताको मान्छे गभर्नरको दौडमा छ म कसरी राजीनामा स्वीकृत गर्छु,गर्दै गर्दिन' भनेकी थिइन् । अर्कोतिर अदालतले पनि मुद्दा कहिले 'हेर्न नभ्याइने' त कहिले 'हेर्न नमिल्ने' मा पारेर त्यसै अल्झाइदिएको छ ।
'हिजोको उनको उफ्राईले ओलीले अहिले नै मेयरको टिकट 'बैनाबट्टा' गर्दिएजस्तो बुझिन्छ',एमालेका एक नेता भन्छन् ।
बालुवाटारकै योजनामा यो सबै भएको दावी गर्ने कांग्रेसको संस्थापन इतर खेमाका एक नेता भन्छन्,'अदालतले गर्दा त हो नि भन्ने पारेर आफ्नो मान्छे लैजाने रणनीति देखिन्छ ।' यसबाहेक प्रम ओलीले थप खेलोफड्को गर्न लागेको सूचना आफूहरुले पाएको ती नेताको दावी छ ।
महामन्त्री गगन थापाको हिजोको अभिव्यक्तिले पनि त्यस्तो संकेत गर्छ । कांग्रेसले आधारभूत कुरामा सम्झौता गरेर सरकारमा बस्न नहुने उनको मत छ । 'आधारभूत कुरामा हामी सम्झौता गर्दैनौँ भनेर हामीले भन्न सक्नुपर्छ',काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भनेका थिए, 'पर्यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौँ ।’
मुलुक र लोकतन्त्रमा देखिएका समस्याहरुको समाधान नेपाली काँग्रेसले दिनुपर्ने बताएका उनले लोकतन्त्रको रक्षा र जनताको अधिकार प्राप्तिका लागि कसैसँग कुनै पनि सम्झौता नगरिने प्रष्ट पारेका थिए । गगन नै हुन्,जो शुरुमा कांग्रेस-एमाले गठबन्धनप्रति उत्साहित थिए । सरकारलाई सफल बनाउन कार्यदलमा पनि सक्रिय भए । तर, पछिल्लो समय सरकारसँग सन्तुष्ट नरहेको उनका सार्वजनिक अभिव्यक्तिबाट प्रष्ट हुन्छ ।
त्यसो त,गगनमात्र होइन प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर एमालेभित्रै पनि असन्तुष्टि चर्कंदो छ । सुशासन र डेलिभरीको सवालमा सरकारले सिन्को भाँच्न नसक्दा पार्टीको लोकप्रियता ओरालो लागेको भन्दै त्यहाँभित्र निकै ठूलो चिन्ता र उकुसमुकुसको अवस्था देखिन्छ । पार्टीका बैठक,भेला र सार्वजनिक कार्यक्रममा त्यसको प्रभाव क्रमश: देखिन थालेको नेताहरु बताउँछन् । बुटवल,दमक र पोखराको जागरण सभा हुँदै भृकुटीमण्डपसम्म आइपुग्दा सत्ताको नेतृत्व गरेको दलले कार्यकर्ताको अपेक्षित साथ् पाएन ।
हिजो लोकतन्त्र दिवसको अवसरमा 'जनताले जितेको दिन' भन्दै भृकुटीमण्डपमा आयोजना गरेको 'युथ सेलिब्रेसन' मा एक लाख मान्छे ल्याउने भनेकोमा एक चौथाई पनि जम्मा भएनन् । प्रत्येक कार्यकर्तालाई भेला हुन उर्दी गर्दासमेत ३० हजार कटाउन हम्मेहम्मे पर्यो । प्रधानमन्त्री अध्यक्ष रहेको दलले गरेको शक्ति प्रदर्शनमा २५ हजार जति मान्छे जम्मा भएको मोटामोटी हिसाब सुरक्षा निकायले निकालेको छ । त्यसमा राजनीतिक कार्यकर्ता १५ हजार हाराहारीमा भएको अनुमान गरिन्छ । किनभने भृकुटीमण्डपमा भेला भएका अधिकांशले आफूहरुलाई एमालेको कार्यक्रमबारे चासो नभएको प्रस्ट्याउँदै कन्सर्ट हेर्न आएको बताएका थिए । कतिपय त कुन पार्टीको कार्यक्रम हो भन्नेमा समेत अनभिज्ञ रहेको पाइयो । कोही आफूलाई सगौरव कांग्रेसको कार्यकर्ता भनेर चिनाउँदै थिए त कोही सूर्य चिन्ह अंकित झण्डालाई माओवादीको भन्दै थिए ।
यस्तो गन्जागोलका बीच सरकार,राजनीतिक दल, नेतृत्व र समग्र प्रणालीप्रति नै नागरिकमा वितृष्णा बढ्दो छ । तर, सामाजिक सञ्जालमा नेताहरुलाई गाली गरेर मन शान्त पार्ने गैरराजनीतिक त्यो जमात सडकमा भने निस्किएको छैन । यिनीहरुलाई नेतृत्व गरेर सडकमा उतार्ने राजनीतिक शक्ति नभएकै कारण अहिलेसम्म श्रीलंका र बंगलादेशमा जस्तो विध्वंस हुन नपाएको हो ।
यस्तो स्थितिमा आफूलाई नयाँ र वैकल्पिक शक्ति ठान्ने राष्ट्रिय स्वतन्त्र पार्टीलगायत स्वतन्त्रहरुले पनि नागरिकलाई आश्वस्त पार्न सकेका छैनन् । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह,धरानका हर्क साम्पाङहरुले फेसबुकमा स्टाटस लेखेर पुराना दल र नेतालाई गाली गर्नेबाहेक राजनीतिक हिसाबले पृथक देखाउन सकेका छैनन् ।
दलबाट निर्वाचित भए पनि युवाहरुको आशा र भरोशाको केन्द्र ठानिएकी काठमाडौँ महानगर उपमेयर सुनिता डंगोलले पनि निराश पारेकी छन् । हिजो भृकुटीमण्डपको कार्यक्रममा उनले एमालेको मात्र होइन ओलीको समेत चर्को प्रशंसा गरेकी थिइन् । गत स्थानीय चुनावमा सूर्य चिन्हबाट उपमेयर जितेपछि पहिलोचोटि उनी यसरी प्रस्तुत भएकी हुन् ।
ओली राष्ट्रवादी र काम गर्ने मान्छे भएकै कारण चौतर्फी आक्रमण भएको जिकिर गरेकी सुनिताले आफ्नै मेयरमाथि भने कटाक्ष गरेकी थिइन् । बालेनको नाम नलिई उनले सामाजिक सञ्जालमा भाँडभैलो मच्चाएर युवा शक्तिको दुरुपयोग गरेको आरोप लगाइन् । जबकि यसअघि बालेनसँग उनको सहकार्य राम्रै देखिएको थियो । एउटा कार्यक्रममा अष्ट्रेलिया पनि संगै गएका थिए । हर्क साम्पाङ लगायतलाई समेत मिसाएर उनीहरुले पार्टी खोल्न सक्ने भन्नेसम्मको अनुमान एमालेहरुले नै गरेका थिए ।
तर,सुनिताको हिजोको भाषणले ०८४ को चुनावमा उनी एमालेबाटै मेयर लड्ने तयारीमा रहेको संकेत दिएको छ । ओलीले ८४ को टिकट अहिले नै पक्का गरेजस्तो बुझिन्छ । 'हिजोको उनको उफ्राईले ओलीले अहिले नै मेयरको टिकट 'बैनाबट्टा' गर्दिएजस्तो बुझिन्छ',एमालेका एक नेता भन्छन् ।
यो सबै परिस्थितिले चेपुवामा पर्दै गएका प्रम ओलीले सत्ता जोगाउन कांग्रेस र शक्ति केन्द्रसँग सम्झौता गर्दै जालान् या आफ्नो स्वभावअनुसार अघि बढ्लान् ? क्रमश: खुल्दै जानेछ । तर, एउटा आशंकामिश्रित प्रश्न छ- अघिल्लो महिना बैंककमा भएको नरेन्द्र मोदीसँगको एकल भेटवार्तामा अरुण र पश्चिम सेती भारतलाई सुम्पिने वचन दिएको त होइन ? जबकि 'कम्फर्टेबल' भनिएका अघिल्लो सरकारका प्रधानमन्त्री प्रचण्डले समेत अरुण भारतलाई दिएका थिएनन् ।
स्रोतहरुका अनुसार भारतसँग सम्बन्ध सुधारको प्रयासमा रहेका ओली सम्झौता गरेर भए पनि दिल्ली जाने रणनीतिमा छन् । तर,काश्मिर घटनापछि भारत र पाकिस्तानबीच तनावपूर्ण अवस्था सृजना भएकाले ९ महिनादेखि भ्रमणको पर्खाइमा रहेका उनको दिल्ली यात्रा अझै पछि सर्ने सम्भावना छ ।
टिप्पणीहरू