सानोतिनो छैन खेल

सानोतिनो छैन खेल

दुर्गा प्रसाईंले चैत १५ गते मच्चाएको विध्वंशका कारण बदनाम हुन पुगेको राजावादी आन्दोलन र त्यसलाई सुचारु राख्ने राप्रपाको योजनाबीच गत शुक्रबार पूर्वराजा ज्ञानेन्द्रले उच्च तहका पूर्व पञ्चहरूलाई लञ्चको लागि निर्मल निवासमा बोलाए । राजासँगै बसेर दिवाभोज ग्रहण गर्न पुगेकाहरूले सुरुवाती १५ मीनेट निकै बढी खप्की खानुपर्‍यो। 

राजेन्द्र लिङदेन, बुद्धिमान तामाङ, पशुपतिसमशेर जबरा, प्रकाशचन्द्र लोहनी, ध्रुवबहादुर प्रधान, र ज्ञानेन्द्र शाहीलगायत त्यस दिन निम्त्याइएका थिए । समाचार स्रोत भन्छ, ‘शुरुमै ज्ञानेन्द्रले भने– तपाईँहरू सबै मिलेर अगाडि बढ्नुपर्नेमा किन चिराचिरा बनेर हिँडेको ? ठूलो छाती किन नदेखाएको, मुद्दालाई ठीक ढङ्गले बोक्न नसक्ने भए बरु छाडिदिनुस् । राजनीति जानेको, गरेको, बुझेको, मान्छेले त्यति कुरामा त ध्यान दिनुपर्‍यो नि !’ 

दुई दिनपछि आइतबारका लागि राजेन्द्र लिङदेनले प्रायः सबै ठूला नेता पक्राउ पर्ने गरी आन्दोलनको योजना तयार गरेका थिए । जसअनुसार डा. प्रकाशचन्द्र लोहनी सिंहदरबारमा बसेर निषेधाज्ञा उल्लंघन गर्ने, विक्रम पाण्डेलाई बानेश्वर चोकमा त्यसै गर्न लगाउने तय भयो । तर, जसै सबै ठूला नेतालाई जेलभित्र पुर्‍याएर आन्दोलन तुहाउने योजना बनाएको भन्ने सूचना बाहिर आयो तब मात्र नेतृत्व सिंहदरबार परिसरमा राजतन्त्र जिन्दाबादको नारा लगाउन पुगेको हो । स्रोतको दाबी छ, ‘आफूसमेत सिंहदरबारभित्र हुने निषेधाज्ञा उल्लङ्घनमा सहभागी हुनुपर्ने भएपछि गृहमन्त्रीसँग समन्वय गरेर केही घण्टाको लागि पक्राउ पर्ने अनि छुट्ने योजना बन्यो । त्यसैअनुरूप काम भयो र आइतबार साँझ छुटे पनि !’ 

यसरी आफैँले उठाएको आन्दोलन तुहाउन राप्रपाका नेताहरू किन लागिपरे त ? जवाफ दिँदै समाचार स्रोत भन्छ, ‘भारतले अहिलेलाई सो नारा स्थगन गर्न भनेको छ । बरु जसरी हुन्छ ओली सरकार ढालेर शेरबहादुर देउवाको नेतृत्वमा बन्ने नयाँ समीकरणमा सहभागी हुन सुझाव आएको छ ।’ त्यसो त आफू सरकारमा नजाने तर यदि कांग्रेसको नेतृत्वमा सरकार बन्छ भने त्यसलाई बाहिरै बसेर समर्थन गर्ने भाषा लामो समयदेखि माओवादी अध्यक्ष प्रचण्डले बोल्दै आइरहेका छन् । सरकारको लखेटाइबाट निकै थाकिसकेको रास्वपा, राप्रपा र माओवादीसमेतको सहभागितामा देउवालाई प्रधानमन्त्री बनाउन भारत लागि परेको यसअघि नै चर्चा व्यापक छ । दावीका साथ स्रोत भन्छ, ‘राजेन्द्र लिङदेन सरकारमा जान तयार छन् ।’ 

टिप्पणीहरू