परीक्षा स्थगित, विद्यार्थी पुरस्कृत

परीक्षा स्थगित, विद्यार्थी पुरस्कृत

इन्द्रबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले विगतका वर्षमा कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएका ताप्लेजुङका विभिन्न विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । जिल्लाका सामुदायिक विद्यालयमध्येबाट उत्कृष्ट नतिजा ल्याएका छात्रालाई १५ हजार रुपैयाँको गंगामाया प्रतिभा पुरस्कार र छात्रलाई १५ हजार रुपैयाँको इन्द्रबहादुर प्रतिभा पुरस्कार प्रदान गरिएको छ । 

त्यसैगरी, सामुदायिक तथा निजीबाट छात्रातर्फ प्रथम हुनेलाई १५ हजार रुपैयाँको रिया एक्सिलेन्सी अवार्डले सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । पुरस्कार पाएकामा सरस्वती माध्यमिक विद्यालय, हाङपाङकी छात्रा सविना श्रेष्ठ, भानुजन माध्यमिक विद्यालयका इङ्सापरा लिम्बु, सृष्टि पौडेल, इक्सा देवान, सञ्जित बराल, मीना लिम्बु, प्रतिक पुरी, पृथ्वी माध्यमिक विद्यालय, खाम्लुङका छात्र लाक्पा तेन्जिङ शेर्पा, कञ्चनजंगा बोर्डिङ्ग स्कुलकी बिनु भट्टराई र रक्षा आचार्य हुन् ।

गंगामाया र रिया अवार्ड दुवै पाउने छात्रालाई रियातर्फ १० हजार रुपैयाँ दिइएको छ । चार छात्राले दुवै पुरस्कार पाएका छन् । परीक्षा नियन्त्रण कार्यालयले छात्रको नाम पठाउनुपर्नेमा छात्राको नाम पठाएकाले तीन वर्षको इन्द्रबहादुर प्रतिभा पुरस्कार वितरण गर्न नसकिएको आयोजकको भनाइ छ । कार्यालयले नाम उपलब्ध गराएपछि सो पुरस्कार प्रदान गरिनेछ । 

बुवा इन्द्रबहादुर श्रेष्ठको स्मृति र आमा गंगामाया श्रेष्ठको संरक्षकत्वमा स्थापित प्रतिष्ठानले २०६३ सालदेखि उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै आएको छ । पहिले एसएलसीका विद्यार्थीलाई पुरस्कार दिने गरिएकोमा २०७६ सालदेखि कक्षा १२ का विद्यार्थीलाई दिने निर्णय गरिएको हो । तर, जिल्ला शिक्षा कार्यालयबाट नाम उपलब्ध हुन नसक्दा र कोरोना महामारीका कारण सो कार्यक्रम रोकिएको थियो ।  

प्रतिष्ठानका अध्यक्ष भरतकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा एमालेका सांसद योगेश भट्टराई, सांसद सुशिला श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

टिप्पणीहरू