एमालेकी नेतृ अचार व्यापारी

‘जनताले जितेको दिन’ अर्थात लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेले आयोजना गरेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम राजधानीको भृकुटीमण्डपमा जारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा ठूलो संख्यामा युवाहरुको उपस्थिति रहेको छ । महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पूर्वसांसद कोमल वलीलगायत शीर्ष नेताहरु कार्यक्रममा सहभागी भएका छन् ।
सोही कार्यक्रममा कुनै समय पार्टीकी प्रभावशाली नेतृ अचार बेच्दै गरेको भेटिएकी छिन् । पछिल्लो समय राजनीतिबाट दूरी कायम गरेकी नेतृ शान्ता चौधरी वर्तमान समयमा अचार व्यापारी हुन् । एमालेको सचेतकदेखि पूर्वसांसदसमेत रहेकी चौधरीले कार्यक्रममा स्टल लगाएर आफैंले बनाएको अचार बेचिरहेकी छिन् ।
कमलरी दासता अभियानको अभियन्तादेखि सांसदसम्मको यात्रा तय गरेकी उनले २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीसँग पराजित भएपछि आम्दानीका लागि अचार बनाउन थालेकी हुन् । उनले ‘शान्ताको अचार उद्योग’ नामक उद्योग दर्ता गरेर मांसाहारी तथा शाकाहारी दुवै प्रकारको अचार उत्पादन गर्दै आएकी छिन् ।
टिप्पणीहरू