एकातिर अन्तरिम आदेश, अर्कोतिर बैंकिङ्ग र सम्पत्ति शुद्धिकरणमा अनुसन्धान

एकातिर अन्तरिम आदेश, अर्कोतिर बैंकिङ्ग र सम्पत्ति शुद्धिकरणमा अनुसन्धान

दुर्गा प्रसाईं सञ्चालक रहेका अस्पतालको रोक्का बैंक खाता फुकुवा हुने भएको छ । सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशपछि उनको व्यक्तिगतसहित अस्पतालका रोक्का खाता फुकुवा भएको छ ।

चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनपछि उनको व्यक्तिगत र दुई वटै अस्पतालका बैंक खाता रोक्का भएको थियो । वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको खाता रोक्कापछि अस्पतालकी निर्देशक बुहारी डा.अञ्जली कार्कीले दायर गरेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उक्त आदेश दिएको हो । रिटमा नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोसहितलाई विपक्षी बनाएकी छन् ।

यता राज्य अपराधविरुद्धको कसूरमा प्रहरी हिरासतमा रहेका प्रसाईँविरुद्ध बैंकिङ्ग र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ र सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान गरेको जनाइएको छ ।

उनले एउटा प्रयोजनलाई लिएको कर्जा अर्को प्रयोजनमा प्रयोग गरेको, एउटा बैंकको कर्जा चुक्ता गर्न अर्को बैंकबाट कर्जा लिएको, कर्जाको दुरुपयोग गरेको, बैंकबाट लिएको कर्जा व्यवसायमा मात्र प्रयोग गर्नुपर्ने र व्यवसायको आम्दानीले कर्जा तिर्नुपर्नेमा आफूसम्बद्ध कम्पनीहरुलाई प्रदान गरेको, परियोजनाको लागतभन्दा बढी कर्जा उपभोग गरेको, कम्पनीको अन्तिम हिताधिकारी आफैं बनेको, बी एण्ड सी मेडिकल कलेज टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटललाई प्रवाह भएको कर्जाको भुक्तानी समय नाघ्दा पनि किस्ता तिरेका छैनन् ।

प्रहरीका अनुसार तत्कालीन एनसीसी बैंकबाट क्यान्सर अस्पतालको नाममा प्रवाह भएको १२ करोड ५० लाख रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडबाट होटल अटरियम प्रालिको नाममा लिएको पाँच करोड रुपैयाँ र गुडविल फाइनान्स लिमिटेडबाट युए मेडिको सप्लाइज तथा इक्युपमेण्ट प्रालिको नाममा प्रवाह भएको १० करोड रुपैयाँ अन्यत्र प्रयोग गरेको भेटिएको छ । 

गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनको ‘कमाण्डर’ प्रसाईं प्रहरी हिरासतमा छन् । भारतको आसामबाट पक्राउ परेका उनीमाथि पछिल्लोपटक १२ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू