कर्मचारीका नाममा ललितपुरमा किचकिच
केन्द्रीय गठबन्धनमा रहेका कांग्रेस र एमाले स्थानीय सरकारमा भने कतै केन्द्रकै लाइनअनुसार मिलेर निकास खोजिरहेका छन् त कतै ठाउँ कुठाउँ भिडिरहेका छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट जितेर राजा शैलीको शासन गरिरहेका बालेन साहलाई कांग्रेस र एमालेनिकट जनप्रतिनिधि र कर्मचारी मिलेर लाइनमा ल्याए । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर गराउने सन्दर्भमै गठबन्धनको स्थानीय औचित्य प्रमाणित गरेर देखाए तर लुसुलुसु काम गरिरहेको ललितपुर महानगरपालिकामा भने केन्द्रीय गठबन्धनका मुख्य साझेदारकै बीचको खटपट सतहमा आयो ।
गत बुधबार सम्पन्न छैटौँ नगरसभामा मेयर चिरीबाबु महर्जनले बहुमतको आडमा एकलौटी गरेको भन्दै उपप्रमुख मञ्जली शाक्य बज्राचार्य उपस्थित भइनन् भने एमालेका जनप्रतिनिधिले बहिष्कार गरे । सभा भइरहेकै स्थानमा निर्वाचित जनप्रतिनिधिको तर्फबाट गोपाल डंगोलले ध्यानाकर्षण पत्र पढेर नगर प्रमुखलाई बुझाए भने कार्यक्रमस्थलबाहिर उद्धव बस्नेतले कांग्रेसले अपमानजनक व्यवहार गरेको भन्दै नगरसभा बहिष्कारको खबर सुनाए ।
यसअघि प्रमुख र उपप्रमुखबीच खासै मनमुटाव देखिएको थिएन । एकाएक संगठन तथा व्यवस्थापनसम्बन्धी प्रस्ताव (ओएण्डएम) को विषयलाई लिएर सभा बहिष्कार गरिएको सुन्दा नगरसभा सदस्यहरू तीनछक भए । आवश्यक थप कर्मचारीको प्रस्ताव सुशासन समितिले मस्यौदा गरेर कार्यपालिका बैठकबाट समेत पास गरी सभामा पेश गरिएको थियो । विषयगत समितिका बैठकमा उपस्थित भएर उपप्रमुख शाक्यले दिएका सुझावसमेत समेटी कार्यपालिकाबाट पास भएको प्रस्तावका विपक्षमा शाक्य र एमाले जनप्रतिनिधि उभिनुलाई कांग्रेसनिकट जनप्रतिनिधिले नाटकको संज्ञा दिएका थिए । रकमान्तर गर्ने बजेट र ठूला कार्यक्रममा उपस्थिति खोज्न बार्गेनिङ टुल बनाएको भन्दै कांग्रेसनिकट नगर सभा सदस्यले आलोचना गरेपछि केही बेर तनाव भएको थियो ।
नगरसभाले पास भएको निर्णय गरे पनि माइन्युट गर्ने बेला मिलाएर लेख्ने सहमति भएको बुझिएको छ । मेयर महर्जनले एमाले निकट वडाध्यक्षहरूलाई मागअनुसारको बजेट प्रबन्धमा सहजीकरण गर्ने गरेकाले उनीविरुद्ध बोल्न ती तयार हुन्थेनन् । यो नगरसभा बहिष्कारको सूचना वाचन गर्न र पत्रकारसँग बोल्नसमेत वडाध्यक्षहरू सहमत नभएपछि वडा नं १८ का सदस्य डंगोल र वडा नं २४ का सदस्य बस्नेतलाई लगाइएको बुझिएको छ ।
टिप्पणीहरू